ओखलढुंगा, असोज १ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले हर्कपुर होल्डिङ सेन्टरमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कार्यालयले कोरोनाको संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि प्रदेश १ सरकारको सहयोगमा निर्माण भएको होल्डिङ सेन्टरको खर्च सार्वजनिक गरेको हो ।
भारत तथा तेस्रो मुलुकबाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङ आउने व्यक्तिहरुलाई सम्बन्धित जिल्ला तथा स्थानीय तहबाट लिन नआउन्जेलसम्मका लागि बसोबास गर्नेगरी मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुर माविमा होल्डिङ सेन्टर स्थापना गरिएको थियो । साउन ८ गतेबाट सञ्चालनमा आएको होल्डिङ सेन्टरका लागि हालसमम १० लाख ६५ हजार १ सय ३६ रुपैयाँ खर्च भएको प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले कोठा रंगरोगन, झ्यालढोका मर्मत, वाइरिङ र विद्युतीय सामग्री जडानका लागि ६९ हजार ९ सय ९८ रुपैयाँ, ५२ थान खाट खरिदका लागि २ लाख ५९ हजार ९ सय ६८ रुपैयाँ, विस्तारा सेटका लागि २ लाख १० हजार १ सय ८० रुपैयाँ, व्यक्तिगत सरसफाई/दैनिक सरसफाई/जनस्वास्थ्य सुरक्षा सामग्री तथा अत्यावश्यक सामानका लागि ३ लाख ४९ हजार ७५ रुपैयाँ (१ सय ११ जनालाई उपलब्ध गराउन मौज्दात रहेको), १ थान जेनेरेटर र १ थान स्टील दराजका लागि ५४ हजार १ सय २७ रूपैयाँ, विभिन्न सन्देशमूलक बोर्ड तथा फलेक्ट प्रिन्टका लागि ५ हजार, विद्युतका लागि ७ हजार ७ सय, इन्टरनेटका लागि १३ हजार २ सय ८८ रुपैयाँ, सञ्चारका लागि १० हजार रुपैयाँ, इन्धनका लागि ५ हजार रुपैयाँ, डिसइन्फेक्सन व्यक्ति पारिश्रमिकका लागि १८ हजार रुपैयाँ र विवरण दर्ता सुपरभाइजर र सरसफाइ व्यक्ति पारिश्रमिकका लागि ६४ हजार रुपैयाँ खर्च गरेको छ ।
कार्यालयका अनुसार हालसम्म तीन जिल्लाका २ सय १ जनाले सेवा लिइसकेका छन् । यस्तै ८९ जना व्यक्तिहरु सो सेन्टरमा क्वारेन्टिनको रुपमा बसेको समेत कार्यालयले जनाएको छ ।