ओखलढुंगाको रूम्जाटार धर्म, सांस्कृति, पर्यटन एवं उद्यमका हिसाबले महत्व बोकेको ठाउँ हो । गुरूङ समुदायको मुख्य बसोबास र अन्य मिश्रित समुदाय रहेको रूम्जाटार नेपालकै महिला उद्यमीहरूको हब हो । घरेलु तथा साना उद्योगको क्षेत्रमा ओखलढुंगाको प्रमुख पहिचान नै रूम्जाटारको राडीपाखी हो । अझ भन्ने हो भने रूम्जाटारको राडीपाखी देशकै पहिचान हो ।
रूम्जाटारमा साढे २ सय वर्ष अघिदेखि राडीपाखी उद्यम गरि“दै आएको छ । परापूर्व कालदेखि नै नै रूम्जाटारमा राडीपाखीका प्रशस्तै उद्योगहरू सञ्चालित थिए । ती उद्योगहरू अहिलेसम्मै निरन्तर छन् र उत्तिकै गुणस्तरयुक्त छन् । रूम्जाटारमा ३–४ दर्जनको हाराहारीमा रहेका उद्यमी महिलाहरूले राडीपाखी घरेलु उद्योग सञ्चालन गरिरहेको अवस्था पाइन्छ । यो उद्यमले उद्यमी महिलाहरूको जीविकोपार्जनमा समेत राम्रै टेवा पु¥याइरहेको छ ।
रूम्जाटारका महिला उद्यमीहरूद्वारा सञ्चालित राडीपाखी देशकै पुरानो घरेलु उद्यम हुनसक्छ । अझ खोज्दै जाने हो भने राडीपाखी उद्यमको इतिहास धेरैवर्ष पुरानो हुनसक्छ । रूम्जाटारको राडीपाखीको विषयमा पर्याप्त खोज अनुसन्धान भने भएको छैन । तरपनि रोचक कुरा त के हो भने हालको विकसित समयमा समेत चुलाचौकाबाट महिलाहरूलाई मुक्त गराउनुपर्छ भन्ने आवाज गुञ्जिरहेको सुनिन्छ । तर, त्यस समयमा कसले राडीपाखी उद्यममा रूम्जाटारका महिलाहरूलाई संलग्न गरायो होला ?
जेहोस् राडीपाखीको महत्व वर्तमान समयमा मात्रै होइन राणाकालीन, शाहीकालीन समयमा पनि उत्तिकै थियो भन्ने कुरा बुढापाकाहरूको भनाईबाट पुष्टि हुन्छ । तत्कालीन समयका शासकहरूबाट राडीपाखीको अत्यधिक माग हुन्थ्यो । उक्त समयमा रूम्जाटारबाट कोशेलीका रूपमा राडीपाखी लैजाने गरिन्थ्यो । अहिले रूम्जाटारका राडीपाखी कोशेलीको रूपमा बिक्री वितरण हुने गरेको छ । राडीपाखीका लागि देश तथा विदेशबाट समेत माग आउने गरेको छ । यसको एउटै कारण हो, गुणस्तर । १ हजार ५ सयदेखि १० हजार रूपैयाँसम्म पर्ने राडीपाखीका उत्पादन एकपटक खरीद गरेपछि जीवनभर टिकाउ हुने भएकै कारण यसप्रतिको ग्राहक आकर्षण दिनहुँ बढ्दो छ ।
राडीपाखी भन्नेबित्तिकै राडीसम्बन्धी सबैखाले उत्पादनलाई जनाउँदछ । प्रकारका हिसाबले रूम्जाटारमा राडीपाखीमा आधादर्जनभन्दा बढी उत्पादन हुन्छन् । कुसन, डबल राडी, सिंगल राडी, चारपाटे राडी, पाँचपाटे राडी, अबडा, घुमराडी यी सबै उत्पादन रूम्जाटारका राडीपाखी घरेलु उद्योगबाट उत्पादन हुँदै आएका छन् । यी उत्पादनहरूलाई राडीपाखीको कच्चा पदार्थ ऊनको प्रकार र मात्रा हेरेर मूल्य तोकिने गरेको छ ।
रूम्जाटारको राडीपाखी देशकै उत्कृष्ट उत्पादन हो भन्दा फरक पर्दैन । स्थानीय सामग्री तथा औजारहरूको प्रयोग गरेर हातैले राडीपाखी बुन्ने गरिन्छ । राडीपाखी बुन्नका लागि पाल, डोको, धोक्रो, झग, पानी राख्ने ट्यांकी, कोरेसो, चर्खा, काठका कीला, फुचेल, ठूलो सियो, ठोरी, बाँस, माल्का, खुकुरी, कर्द, प्लाष्टिक, ऊन, टेप, प्लाष्टिकलगायतका औजार तथा सामग्रीहरू चाहिन्छ । राडी बुन्नका लागि चाहिने कच्चा पदार्थ ऊनलाई गर्भे÷छार्बे, कात्तिके र चैते गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ । यसमध्ये गर्भे ऊन सबैभन्दा राम्रो ऊन हो । भेडालाई पहिलोपटक मुडिएको ऊन अरू ऊनभन्दा तुलनात्मक रूपले महँगो पनि मानिन्छ । यसपछि कात्तिके ऊन राम्रो मानिन्छ । कात्तिक महिनामा भेडा मुड्दा निस्कने ऊन कात्तिके ऊन हो ।
राडीपाखी बुन्नका लागि विभिन्न ९ चरण पार गर्नुपर्छ । एउटा उत्पादन तयार गर्नका लागि सामान्यतया ३ दिनसम्म लाग्न सक्छ । राडीपाखी बुन्नका लागि ऊनको बर्गीकरण गर्ने, ऊन धुने तथा सुकाउने, कोरेसोमा कोर्ने, ऊनलाई चर्खामा राखेर धागो कात्ने, ऊनको धागोको डल्ला बनाउने, तान लगाउने, तान बुन्ने, छेउकिनारा सिउने र माड्ने चरण पूरा गरेपछि एउटा राडीपाखी तयार गर्न सकिन्छ । यी सबै चरणहरू हाल रूम्जाटारका महिलाहरूले आधुनिक मेशिनको सहायताविनै गर्दै आइरहेका छन् ।
कम मूल्यमै ७०–८० वर्षसम्म टिकाउ हुने स्वदेशी उत्पादन विरलै पाइन्छ । रूम्जाटारको राडीपाखी त्यही उत्पादन हो, जुन सही ढंगले प्रयोग ग¥यो भने एक शताब्दीसम्म टिकाउ हुन्छ । लामो समयसम्म टिकाउ हुनु नै राडीपाखीको प्रमुख विशेषता हो ।
राडीपाखी देशका विभिन्न ठाउँमा बुन्ने गरिन्छ । तरपनि रूम्जाटारको राडीपाखीलाई प्राथमिकताका साथ हेरिन्छ । प्राकृतिक पद्धतिहरू अपनाई बुनिने यहाँको राडीपाखी स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक छ । यहाँ उत्पादित राडीपाखीमा कुनै अप्राकृति रङहरूको प्रयोग गरिँदैन । पछिल्लो समयमा ऊनको स्रोत भेडापालन व्यवसाय खुम्चिँदै गएपछि भने यो उद्यम प्रभावित हुने अवस्थामा छ । अहिले रूम्जाटारमा २ वटा मात्रै भेडीगोठ रहेका छन् । जसले उद्यमीहरूको मागअनुसारको ऊन धान्न सक्दैन ।
राडीपाखी उद्यम प्रभावित बनाउने प्रमुख कारणहरूमा ऊनको स्रोत भेडीगोठ घट्दै जानु, भेडापालक किसानले पर्याप्त चरिचरणका लागि सामुदायिक वन नपाउनु, पछिल्लो पिँढीले भेडापालन व्यवसायलाई निरन्तरतामा चासो नदिनु, भेडा चराउनका लागि सोलुखुम्बु र उदयपुरका विकट जंगलमा लैजानुपर्ने बाध्यता हुनुलगायत छन् । यी समस्याहरू समयमै सही ढंगले व्यवस्थापन गर्नका लागि सरोकारवालाहरू समयमै जुट्न जरूरी भइसकेको छ । संकटमा रहेको राडीपाखी जोगाउने जिम्मा हामै्र काँधमा आइपरेको छ ।