ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित विलन्दुमा रहेका ऐतिहासिक महत्व बोकेका एक दर्जनभन्दा बढी सुरूङ पुरिन थालेका छन् । पूर्खाहरूले लडाइँ लड्न र तामा निकाल्नका लागि प्रयोग गरेका सुरूङ संरक्षणविहीन हुँदा पुरिने क्रम बढेको हो ।
तत्कालीन बाइसे–चौबीसे राज्य हुँदा विलन्दु गाउँको गढीडाँडामा भीम नामक राजाले राज्य चलाएको स्थानीय बुढापाकाहरू बताउँछन् । सोही ठाउँ नजिकै देवीटारमा रहेका प्रताप नामक राजासँग लडाईं लड्नका लागि भीम राजाले निर्माण गरेको भनिएका सुरूङहरू अहिले अलपत्र अवस्थामा छन् ।
गढीडाँडामा रहेको सुरूङलाई भीमलदुलोका रूपमा स्थानीयले चिन्छन् । अहिले सो सुरूङको अधिकांश भाग पुरिइसकेको छ । गढीडाँडाबाट ३ सय मिटर तल रहेको खोलाबाट सत्रुबाट जोगिँदै पानी ल्याउनका लागि उक्त सुरूङमार्ग प्रयोग गरिएको कुरा बाउबाजेले सुनाएको स्थानीय बृद्ध केदारनाथ घिमिरले बताए ।
लडाईंमा संकट आइपर्दा गढीडाँडाबाट २ किमि माथि विलन्दु गाउँको कुभिण्डे पाखामा लुक्नका लागि बनाइएको एउटा सुरूङ भने सुरक्षित छ । ५–६ जना अट्ने २० मिटर भित्रसम्म रहेको उक्त सुरूङ संरक्षणको पर्खाईमा छ ।
गढीडाँडामा रहेका युद्धका लागि तयार गरिएका अन्य संरचनाहरू समेत पुरिएका छन् । तत्कालीन समयमा निर्माण भएका भवनहरूको भग्नावशेष अझै देख्न पाइन्छ ।
यस्तै विलन्दुकै खानीगाउँमा रहेका तामाखानीका ३ वटा ठूला र अनगिन्ती साना सुरूङहरू समेत पुरिन थालेका छन् । साढे २ सय वर्ष अगाडि तामा निकाल्न प्रयोग गरिएका उक्त सुरूङहरूलाई संरक्षणमा कसैले चासो दिएका छैनन् ।
खानीगाउँमा रहेका ठूला सुरूङहरू ३ किमि भन्दा बढी लामो रहेको स्थानीयहरू बताउँछन् । सो गाउँको खानीखोला छेवैकै सुरूङमा भने एक सय मिटर भित्रसम्म पस्न सकिन्छ । पहरो खोपेर निहुरेर ओहोरदोहोर गर्न मिल्ने गरेर बनाइएको उक्त सुरूङको भित्रि भाग पुरिइसकेको छ ।
सुरूङको एक सय मिटर भित्र छिरेपछि ठूलो पहिरो भेटिने स्थानीय शिक्षक बलराम फुयालले बताए । “७ वर्षअगाडिसम्म सुरूङमा शैक्षिक भ्रमण गराउँदा धेरै भित्रसम्म जान सकिन्थ्यो,” फुयालले भने, “अहिले सुरूङ ब्लक भएको देखियो ।”
तामाखानीको संभाव्यता अध्ययन भएन
अहिलेभन्दा ७ पुस्ता अगाडि अक्कलसिंह कार्कीले तत्कालीन शासकबाट धर्माधिकार लिएर यहाँको तामाखानी उत्खनन् गरेका थिए । अक्कलसिंहका बंश स्थानीय मीनकुमार कार्कीले बताए अनुसार सुनकोसी र लिखुकोसीको भागले छेकिएको ओखलढुंगातर्फको भू–भागमा तत्कालीन समयमा तामा उत्खनन् गरिन्थ्यो । त्यसमध्येकै सबैभन्दा राम्रो तामा खानीगाउँमा पाइने गरेको स्थानीयहरूको दावी छ ।
तरपनि तामाखानीको उत्खनन्का लागि संभाव्यता अध्ययन भएको छैन । स्थानीयहरूले राज्यले संभाव्यता अध्ययन गरेर तामाखानी निकाल्नुपर्ने माग गर्दै आएका छन् ।
पर्यटकीय संभावना
विलन्दुका सुरूङहरूले पर्यटकीय संभावना बोकेका छन् । तर यहाँका सुरूङहरूलाई त्यसअनुरूपको पूर्वाधार विकास गरिएको छैन । ३ किमिभन्दा लामा तामाखानीका सुरूङहरू खानीगाउँबाट तीनतले डाँडासम्म फैलिएको स्थानीयहरूको भनाई छ ।
पुरिएका सुरूङहरूलाई खुलाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने हो भने जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हुनसक्छ । “सुरूङको थप अध्ययन गर्ने हो भने खानीगाउँको सुरूङको मुख तीनतले डाँडामा भेट्न सकिन्छ,” मीनकुमारले भने, “तामा ननिकालिए पनि अब सुरूङको अध्ययन र त्यही अनुसारको पूर्वाधार विकास गरेर सुरूङभित्र पर्यटकीय पदमार्ग बनाउनु आवश्यक छ ।”