ओखलढुंगा, असोज १३ । ओखलढुंगामा निर्माणाधीन वीपी स्मृति भवन निर्माणका लागि एक परिवारले एक लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । नेपाली कांग्रेस, ओखलढुंगाले निर्माण गरिरहेको सो भवनको लागि सिद्धिचरण नगरपालिका ११ को उक्त परिवारले प्रजातन्त्र सेनानी स्वर्गीय सूर्यबहादुर श्रेष्ठको नाममा रकम प्रदान गरेका हुन् ।
सूर्यबहादुर श्रेष्ठ राणाशासन बिरुद्धको २००७ सालको सशस्त्र क्रान्तिमा कहलिएका मुक्तिसेनाका लडाकु कमान्डर थिए । दोश्रो विश्व युद्धताका ब्रिटिश इन्डियन आर्मीमा कार्यरत श्रेष्ठ विश्वयुद्ध पछि नेपाल फर्किएर मुक्तिसेनामा आबद्ध भएका थिए । उनका छोरा होम बहादुर श्रेष्ठका अनुसार सूर्यबहादुर श्रेष्ठ इन्डियाबाट फर्किएपछि सामान्य पारिवारिक जीवन बिताइरहेका थिए ।
यस्तैमा तिहारमा चाड मनाइरहेका स्थानीय नेवार समुदायमाथि तत्कालिन राणा बडाहाकिम लालध्वज राणाले आफै रात्री गस्तीमा निस्किएको बेला जस जसलाई भेटे, उसैलाई समात्दै पिट्न थालेपछि श्रेष्ठले बडाहाकिमलाइ नै लात्तीले हानेर लड़ाएपछी उनको ब्यापक खोजी भएको थियो । उनी भागेर इन्डिया पुगेको र पछि फर्किएर मुक्तिसेनामा संलग्न भएर ओखलढुंगा कब्जा गर्ने राणा बिरोधि लडाईमा नेतृत्वदायी भूमिकामा रहेका थिए ।
२००७ सालको मंसिरमा ओखलढुंगा कब्जा गरेपछि त्यसको सुरक्षा गर्दै प्रशासन चलाई रहेकै बखत काठमाडौँबाट थप मद्धतमा गएको राणा फौजले पुष ३ गते ओखलढुंगा कब्जा गरी उनलाई बन्दि बनाएर सम्पूर्ण सम्पति जफत गरी सर्वस्व हरण सहित मार्ने निर्णय गर्दै ३/३ राइफलको कुन्दाले हिर्काएर बेहोश भएपछि 'अब त मर्यो होला' भनि बाँसको झ्याङमा फालेका थिए ।
पछि राति हिँड्ने हुलाकीले मुर्छित अबस्थामा 'ह ह ह' आवाज आएको देखि को रहेछ ? भनेर हेर्दा उनलाई फेला पारेर उनको घरमा खबर गरी प्रशासनको आँखा छली लुकाई घरेलु उपचार गरि बचाइएको थियो । त्यस घटनाको ३८ बर्षपछी उनको बि स २०४५ सालमा निधन भयो ।
उनकै सन्तानहरुले उनको सम्मानमा वीपी स्मृति भवन निर्माणार्थ सहयोग गरेको कान्छा नाती केन्द्र श्रेष्ठले बताए । त्यसै गरी आफ्ना बाजेले आस्था राखेर रगत बगाएको पार्टी नेपाली कांग्रेसले ७ सालको क्रान्तिमा जुन नेता बीपी कोइरालाको आब्हानमा लडेका थिए, उनकै नाममा निर्माण हुँदै गरेको भवनमा आफ्ना बाजेको समेत गौरवपूर्ण इतिहासलाई चीरस्थायी बनाउन उनकै सम्मानमा हामीहरुले सानो भएपनि सहयोग पुगोस भनेर सहयोग गरिएको अर्का नाती शिवजी श्रेष्ठले बताए ।
सो सहयोग रकममा उनका छोरा बुहारी होमबहादुर श्रेष्ठ र प्रेमकुमारी श्रेष्ठले आफुले पाएको बृद्धभत्ता रकममा नाती-बुहारीहरु तथा नातिनी-ज्वाईहरुको योगदान रहेको नातिनी बिनिता श्रेष्ठ ए सी ले बताइन् । यो परिवारले आफ्नो बाजे-बजै र बुवा-आमाको नाममा ओखलढुंगा जिल्लामा कोरोना प्रकोपमा लकडाउन भएका बखत राहत बाड्ने देखि इ-लाइब्रेरी स्थापना, गुम्बा, मन्दिर स्थापनामा सहयोग लगायतका बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।