ओखलढुंगा, १५ कात्तिक । संघ र प्रदेश सरकार मातहतका कार्यालयबाट ठेक्का लागेका जिल्लाका २४ आयोजनाहरू अलपत्र रहेका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले रुग्ण प्रकृतिका विकास आयोजनाहरुको पहिचान गरेको छ ।
प्रशासन कार्यालले 'रुग्ण प्रकृतिका विकास आयोजनाहरुको अवस्था, ओखलढुंगा २०७७' सार्वजनिक गर्दै अलपत्र आयोजनाहरुको पहिचान गरेको हो । जसमा जिल्लामा सञ्चालित विकास आयोजनामध्ये २४ आयोजनाहरु लामो समयदेखि निर्माण सम्पन्न नभई रुग्ण प्रकृतिका आयोजनाका रुपमा रहेको उल्लेख गरिएको छ । कार्यालयले पहिचान गरेका रुग्ण प्रकृतिका आयोजनाहरु विशेषगरि सडक, पुल र भवन रहेका छन् ।
आवश्यकता र औचित्यविपरित पटक पटक निर्माण कार्यको सम्झौता अवधि थप गर्दै जाने लचिलो व्यवस्थाको दुरुपयोग गर्दै केही निर्माण व्यवसायीहरुले निर्माण कार्यमा ढिलासुस्ती, लापरवाही र अप्राकृतिक एवम् अनुचित वहानाबाजी गर्दै आएका कारण आयोजनाहरु अलपत्र पार्ने र यसका कारण आम नागरिकहरुको दैनिक जनजीवन कष्टकर बन्दै गएको प्रशासन कार्यालयले जनाएको छ ।
गृहमन्त्रालयको असोज १३ गतेको निर्देशन अनुसार विकास निर्माणमा लापरवाही गर्ने तथा समयमा निर्माण सम्पन्न नगर्नेलाई कारबाही गर्ने निर्देशानुसार प्रशासन कार्यालयले काम थालेको छ । कार्यालयले रुग्ण प्रकृतिका विकास आयोजना सञ्चालन गराउनका लागि विभिन्न अन्तर्क्रिया कार्यक्रम, विकास आयोजना सञ्चालन गर्ने कार्यालयलाई निर्देशन/अनुरोध, विकास आयोजना सञ्चालन गर्ने कार्यालयहरुसँग बैठक तथा छलफल, हटलाइन सेवामार्फत गुनासो संकलनलगायतका काम गर्दै आएको छ ।
रुग्ण विकास आयोजनाहरुको विवरण (स्रोत : जिल्ला प्रशासन कार्यालय ओखलढुंगा)