ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको केन्द्र सुन्दरपुरमा विकासले गति लिन थालेको छ । संघीयता कार्यान्वयन हुनु पूर्व विकासका दृष्टिकोणले अति पिछडिएको यो क्षेत्रमा गाउँपालिका केन्द्र स्थापना भएपछि अहिले सडक, खानेपानी, विद्युत, स्वास्थ्यलगायतका पूर्वाधार निर्माण भएका छन् ।
साविकको कालिका गाविसको ताप्केडाँडा भनेर चिनिने चम्पादेवी गाउँपालिकाको केन्द्रलाई अहिले सुन्दरपुर नामाकरण गरिएको छ । संघीयता कार्यान्वयमा आएर गाउँपालिकाको केन्द्र स्थापना हुँदा यो ठाउँमा विकासका पूर्वाधार नै थिएनन् । भौगोलिक रुपमा समेत यो ठाउँ अति नै विकट रहेको थियो । जताततै डरलाग्दा भीरैभीर भएको यो ठाउँमा विकासका पूर्वाधार निर्माण गर्नु आफैँमा चुनौती थियो ।
तर अहिले यो ठाउँको रुप फेरिएको छ । गाउँपालिकाले यो ठाउँमा अस्थायी भवन निर्माण गरेर प्रशासनिक सेवा दिइरहेको छ । गाउँपालिका केन्द्रसँग सबै वडा जोड्ने सडक निर्माणको काम पनि भएको छ । वर्षौदेखिको खानेपानी समस्या पनि समाधान भएको छ । अस्थायी रुपमा विद्युत् पनि सञ्चालनमा छ । 'हामी निर्वाचित भएर आएपछि विकट सुन्दरपुरलाई सुगम बनाउन सफल भएका छौं,' चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले भने, 'सुन्दरपुरलाई सुगम बनाउँदै समग्र गाउँपालिकाको तीव्र विकासको काम अगाडि बढाइरहेका छौं ।'
गाउँपालिका केन्द्र स्थापना भएर विकासका पूर्वाधार निर्माण भएपछि सुन्दरपुर गाउँका स्थानीय खुसी छन् । आफ्नो गाउँ यसरी विकास हुन्छ भनेर पहिले सोच्दै नसोचेको स्थानीय कृष्णा तामाङले बताइन् ।
चम्पादेवी गाउँपालिकाले गौरवको आयोजनाका रुपमा खानेपानी, विद्युत् र सडकलाई छनोट गरेको छ । जसमध्ये सदियौ वर्षदेखि तिर्खाले व्याकुल बन्दै आएका गाउँ वस्तीमा खानेपानी पु¥याउन चालु आर्थिक वर्षलाई खानेपानी वर्षको रुपमा लिएको छ । गाउँपालिकाले २०७८ सालमा सबै वडामा केन्द्रीय विद्युत् प्रशारण लाइन जोड्ने योजना अगाडि सारेको छ । सडक निर्माण तथा विस्तारको काम पनि निरन्तरण जारी राखेको छ । चम्पादेवीले सबै वडाहरुलाई सहज रुपमा गाउँपालिका केन्द्रसँग जोड्न थप सडक निर्माणको योजना समेत अगाडि सारेको छ ।