-नवराज कार्की/राजकुमार कार्की
ओखलढुंगाकै प्रमुख एवं देशको महत्वपूर्ण धार्मिकस्थल हो चम्पादेवी । यो मन्दिर चम्पादेवी गाउँपालिकाको वडा नं. ९ मा अवस्थित छ । धार्मिक हिसाबले प्रसिद्ध यो मन्दिरको नामबाटै स्थानीय तह चम्पादेवी गाउँपालिकाको नामाकरण भएको हो । चिताएको पुग्ने र जति तीर्थालु बढ्यो उति नै मात्रामा चम्पादेवी थानमा रहेको झरनामा पानी बढ्ने धार्मिक विश्वास छ । चम्पादेवी मन्दिरमा विशेषगरी मंसिरको हरिबोधनी एकादशीका दिन मुख्य मेला लाग्ने गर्दछ । तर यस मन्दिरमा बाह्रै महिना दर्शन गर्न देशका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
यस मन्दिरमा दर्शन गर्दा बालबच्चा नहुने दम्पतिहरुले रित्तो कोक्रो ल्याएर देवीसमक्ष सन्तान माग्ने प्रचलन रही आएको छ । यसरी सन्तान माग्दा सन्तान प्राप्त हुने धार्मिक जनविश्वास छ । पशु चौपाया बृद्धि गराउनका लागि दर्शनार्थीहरुले दाम्लो लिएर मन्दिर पुग्ने र दर्शन गरेर फर्कँदा मन्दिरदेखि नै गाईवस्तु डाँक्दै दाम्लो घिर्सार्दै फर्कने गरेको पाइन्छ । धन सम्पति नहुनेहरुले धन होस् भनी चम्पादेवीसँग वर माग्ने गरेका छन् । छाला सम्बन्धी रोग नलाग्ने र लागेको रोग निको हुने विश्वासमा दर्शनार्थीहरुले यस मन्दिरको झरनामा नुहाउने गरेका छन् ।
चम्पादेवी मन्दिर झाँक्री विद्या सिक्ने प्रमुख थलोको रुपमा चिनिन्छ । हरिबोधनी एकादशीका दिन यस मन्दिरमा दर्जनौं धामी झाँक्रीहरु ढोल, ढ्यांग्रो बजाउँदै दर्शन गर्न र विद्या हाँसिल गर्न आउने गरेका छन् । चम्पादेवी आफैं उत्पति भएकी देवी हुनाले यहाँ दर्शन गर्दा तान्त्रिक विद्यामा थप शक्ति आउने धामी झाँक्रीहरुको विश्वास छ ।
चम्पादेवी मन्दिर हिन्दू धर्मालम्बीहरुको धार्मिकस्थल भएपनि बौद्धमार्गीहरुले पनि दर्शन गरेका पाइन्छ । यस मन्दिरमा कुनै पनि वली चढाइँदैन । फूल, अक्षता, दही, दूध, त्रिशुल, घण्टा, सुन, चाँदीका गहना, भेटी, डोरोलगायतका वस्तुहरु यस मन्दिरमा चढाइँदै आएको छ ।
चम्पादेवी आफैं उत्पति भएकी देवी हुन् । यो मन्दिर उत्पतिको आफ्नै किंवदन्ती रहेको छ । परापूर्वकालमा एक गोठालो परिवारले जीविकोपार्जनका लागि आफ्ना गाईवस्तु चरणका लागि हालको चम्पादेवी मन्दिर रहेको क्षेत्रमा खर्क राखेका थिए । उनको परिवारमा चम्पा नाम गरेकी छोरी थिइन् । एकदिन गाईवस्तु चराउने क्रममा एक्कासि चम्पा हराइन् । लामो समय खोजी गर्दा पनि छोरी नभेटिएपछि गोठालो निराश हुँदै गाईवस्तु लिएर खर्क छाडी घर फर्किए ।
अर्को वर्ष पनि सोही ठाउँमा खर्क लैजाँदा एकदिन अचानक सबै गाईवस्तु गायब भए । उसले धेरै खोजी गर्दा पनि नभेटेपछि खर्क रहेको गोठमै गएर गोठालो सुते । राति सपनामा एकजना आफ्नी छोरी चम्पाजस्तै लाग्ने एक बालिका आएर आफू देवी भएको र हालको चम्पादेवी भएको स्थानमा मुर्ति भेटिने कुरा बताइन् । हरिबोधनी एकादशीका दिन सो ठाउँमा गएर खन्दा मुर्ति भेटिने र उक्त मुर्तिलाई सफा गरी छेउमै रहेको झरनाको पानीले धोइ पखाली गर्न उनले आग्रह गरिन् । भेटिएको मुर्तिलाई गाईको दूध, धूप, फूल अक्षता, पाती, दही चढाएर स्तुति गर्दा हराएका सबै गाईवस्तुहरु भेटिने कुरा उनले बताइन् ।
सोही अनुसार गोठालोले हरिबोधनी एकादशीका दिन पारेर सपनामा बालिकाले बताएअनुसार नै मुर्ति खोजी गर्दा मुर्ति भेटियो । मुर्ति भेटिएपछि सोही अनुसार पूजापाठ गर्दा आफ्ना हराएका गाईवस्तुहरु सोही ठाउँमै चरिरहेको अवस्थामा फेला परे । गाईवस्तुहरु फेला परेपछि खुसी हुँदै गाईवस्तु लिएर गोठालो फर्किए । उनले सपनामा बालिकाले भनेको कुरा विपनामा मिलेपछि आफ्ना आफन्त, छिमेकीलाई सुनाए । गोठालोका कुरा सुनेपछि भेटिएको मुर्तिमा दैवी शक्ति रहेको विश्वास गरेर गाउँलेहरुले पूजापाठ गर्न थाले ।
यसरी पूजापाठ गर्दा मनोकांक्षा पूरा हुने विश्वासले हरिबोधनी एकादशीका दिन पूजापाठ गर्ने र चम्पादेवी मन्दिरमा मेला लाग्ने चलन रही आएको हो । यो मन्दिरमा हरिबोधनी एकादशी आउनु केहीदिन अघिदेखि र हरिबोधनीको पछिसम्मै हजारौंको संख्यामा पूजापाठ गर्ने र मेला लाग्ने गर्दछ ।
चम्पादेवी मन्दिर धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मन्दिर हो । यस मन्दिरमा पुग्नका लागि ओखलढुंगा सदरमुकामबाट कटुञ्जेको कोषभञ्ज्याङ हुँदै जान सकिन्छ । अहिले कोषहाटबाट मन्दिरसम्मै सडक पुगेकाले सवारीमार्फत दर्शन गर्न जान सकिने स्थानीय बताउँछन् ।
यस्तै मद्यपहाडी लोकमार्गअन्तर्गत नबलपुर घाटबाट चम्पादेवी गाउँपालिकाको पलापु, ताप्केडाँडा (गाउँपालिका केन्द्र), फेदीगुठ (जहाँ कालिका मालिका देवीको नामले चिनिने एकै ठाउँमा रहेका १० भन्दा बढी देवीहरुको दर्शन गर्न सकिन्छ ।) हुँदै मन्दिर पुग्न सकिन्छ । यो रुटबाट यात्रा गर्दा रमणीय प्रकृतिक दृष्यहरु अवलोकन गर्दै जान सकिन्छ । यस्तै मद्यपहाडी लोकमार्ग अन्तर्गत नै थोल्मेघाटबाट सुनकोसी गाउँपालिकाको बलखु, सिस्नेरी र चम्पादेवी गाउँपालिकाको फलाटेभञ्ज्याङ हुँदै जान सकिन्छ । रामेछाप जिल्लाको मन्थली, साँघुटार हुँदै ओखलढुंगाको रानीवन, घोराखोरी, बिलन्दुहुँदै पनि मन्दिर पुग्न सकिन्छ ।
चम्पादेवी मन्दिरबाट सूर्योदय र सूर्यास्तसँगै सर्वोच्च शिखर सगरमाथालगायतका हिमश्रृंखला अवलोकन गर्न पाइन्छ ।
(चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी, चम्पादेवी वडा नं ८ का वडाध्यक्ष अजय लुइटेल र वडा नं ९ का वडाध्यक्ष झम्कहरि बडालको सहयोगमा तयार गरिएको लेख)