ओखलढुंगा, २४ मंसिर । खिजिदेम्बा गाउँपालिका आफैँले संघीय समपुरक बजेटअन्तर्गत लिखु-भुसिंगा सडक कालोपत्रे गर्ने भएको छ । संघ र प्रदेश जोड्ने उक्त महत्त्वपूर्ण सडकलाई कालोपत्रे गरिने भएको हो ।
५५ किलोमिटर लामो लिखु-भुसिंगा सडकलाई चरणबद्ध रुपमा खण्ड-खण्ड गर्दै बहुवर्षीय योजनाका रुपमा काम गर्ने योजनाका साथ कालोपत्रेको ठेक्का खुलाइएको खिजिदेम्बा गाउँपालिकाले जनाएको छ । सो सडकको रगनी, खिजिचण्डेश्वरी, खिजिफलाटे क्षेत्रमा कालोपत्रे गर्नका लागि २३ मंसिरमा टेन्डर आह्वान भइसकेको छ ।
खिजिदेम्बा गाउँपालिकाले आफ्नो सीमित बजेटको बाबजुद पनि संघीय समपुरक बजेटबाट योजना छनोट गरी कालोपत्रे गर्न लागिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए । 'दुर्गम गाउँमा कम्तीमा एउटा मूल सडक पक्की गराउने सरकारकी नीति कार्यान्वयन गरी हाम्रो जस्तै अति दुर्गम स्थानीय तहका लागि सम्बोधन गरिदिए अति उत्तम हुने थियो,' अध्यक्ष रोकाले भने । हाल उक्त सडकलाई बजेटको व्यवस्था गरिदिन अझै पनि विभिन्न कोणबाट संघीय सरकारसँग पहल गरिरहेको अध्यक्ष रोकाले बताए । रोकाले आउँदा दिनमा संघीय सरकारले पनि यस सडकलाई आवश्यक वजेट विनियोजन गर्ने आशा व्यक्त गरेको बताए ।
खिजिदेम्बा गाउँपालिकाले यसअघि लिखु-भुसिंगा सडकको स्तरोन्नति गरेपछि सार्वजनिक यातायात सञ्चालनमा आएका थिए । हाल सो सडकमा अरनिको र संयुक्त यातायातका बसहरु दैनिक रुपमा सञ्चालनमा रहेका छन् । हाल काठमाडौँबाट खिजिफलाटे, रगनी र खिजीकाति गरी ३ ठाउँमा सुपर बस सञ्चालनमा छन् । थप सेवा विस्तारका लागि काठमाडौँदेखि रावादोलु-भुसिंगासम्म सार्वजनिक बस सञ्चालनको तयारी भइरहेको छ । जसका लागि खिजिचण्डेश्वरी-खिजिकाति सडक र खिजिफलाटे-रावादोलु-भुसिंगा सडक खण्डमा सुधारको काम गर्न गाउँपालिकाले टेन्डर आह्वान समेत गरिसकेको छ ।
सदरमुकाम जोड्ने विकल्प सडक
ठूलो भूगोल र पातलो बस्ती भएको गाउँपालिका रहेकाले सदरमुकामको सहज पहुँचको कुरालाई मध्यनजर गर्दै खिजिदेम्बा गाउँपालिकाले सदरमुकाम जोड्ने विकल्प सडकमा जोड दिइरहेको छ । पहिले सदरमुकामसँग सडक नजोडिँदा खिजिदेम्बाबाट रामेछापको ढाँडे, सिरीषे, मन्थली, सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी हुँदै ओखलढुंगा सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । अहिले खिजिदेम्बाका ४ ठाउँबाट सदरमुकाम सडक जोडिसकेको छ । जसमा भुसिंगा-पात्ले-धाप-ओखलढुंगा, खिजिफलाटे-पात्ले-धाप-ओखलढुंगा, खिजिफलाटे-नयाँवन-श्रीचौर-रामपुर-ओखलढुंगा, खिजिफलाट-हाते-बन्से-श्रीचौर-ओखलढुंगा सडक रहेका छन् ।
गाउँपालिकाले थप एउटा दुब्ले-फलाटे-श्रीचौर-रामपुर-ओखलढुंगा सडकमा पनि जोड दिइरहेको छ ।