ओखलढुंगा । प्रतिष्ठित नेपाली ब्राण्ड 'राईको' ले ओखलढुंगा बजारमा जाडोमा लगाउने न्यानो कपडाहरुको वृहत सेल मेला राखेको छ । मकालु ई ट्रेडर्सले प्रबर्द्धन गरिरहेको सो मेला आजदेखि सुरु भएको छ ।
पुस महिनाभर चल्ने मेला सदरमुकामस्थित सिद्धिचरण नगरपालिका ११ रामबजारमा राखिएको सञ्चालक विनोद राईले बताए । मेलामा २ सयदेखि २५ हजारसम्मका जाडोमा लगाउने सबै साइजका डाउन ज्याकेट, ट्राउजर, थर्मकोट, टोपी, जुत्ता, पञ्जा, मोजा, स्कूल अफिस तथा ट्रेकिङ झोला, टेन्ट, मेडिकल सामग्री, मास्कलगायतका सामानहरु रहेका छन् । 'राईको' ब्राण्डबाट विशेषगरि सगरमाथा आरोहणका लागि लगाइने डाउन ज्याकेटलगायतका सामग्री उत्पादन भइरहेको छ ।
'ओखलढुंगाको सेल मेलामा सर्वसुलभ मूल्यमा गुणस्तरीय सामग्री बिक्रीका लागि राखेका छौँ,' सञ्चालक राईले भने, 'यस्तो मेला हामीले ग्राहकहरुको अनुरोधमा ओखलढुंगाबाट पहिलोपटक थाल्दैछौँ ।' भविष्यमा अन्य जिल्लामा पनि मेला गर्ने योजना भएको राईले सुनाए । मेलामा 'राईको' ब्राण्डका सामग्रीसहित अन्य ब्राण्डका उपयोगी सामग्री पनि राखिएको सञ्चालकले बताएका छन् ।
सन् २०१४ मा सोलुखुम्बुको थुलुङ दूधकोशीका ५ जना युवाहरु मिलेर 'राईको' ब्राण्डबाट उत्पादन सुरु गरेका थिए । अहिले उनीहरूले ‘आउटडोर जिअर्स’ उत्पादन गर्दै आएका छन् । उनीहरुले ग्राहकको चाहनाबारे अध्ययन गरी सोही अनुसारको सामग्री उत्पादन गर्दै आएको जनाएका छन् । 'राईको' ब्राण्ड गुणस्तरको प्रतीक भएको पर्यटन व्यवसायी बाबु शेर्पाले बताए ।