ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरीका बुद्धिप्रसाद धमलाले विदेश जान सबैले पैसा पत्याएको तर स्वदेशमै केही गर्ने कसैले पैसा नपत्याएको बताए । एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले गाउँमै केही व्यवसाय गरेर स्वरोजगार बनौँ भन्दा आर्थिक समस्या भएको सुनाए ।
'विदेश जाने मात्रै भन्नुपर्छ सबैले थपथप पैसा दिइहाल्छन्,' उनले भने, 'मलेसियाबाट फर्किएर म एकडेढ महिनादेखि गाउँमै केही गरौँ भनेर सोचिरहेको छु, तर पैसा कतै पाइरहेको छैन ।' ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले आयोजना गरेको युवा तथा वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरूको वित्तीय पहुँच अभिवृद्धि सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका अरु युवाहरुले पनि उस्तै समस्या सुनाएका थिए ।
सल्लेरीकै सुरोज मोक्तानले वैदेशिक रोजगारीबाट विभिन्न समस्या भएर घर फर्किएका युवाहरुलाई पैसा नल्याएपछि बिग्रिएर फर्किएको रुपमा समाजले हेर्ने गरेको गुनासो गरे । त्यस्ता पीडित युवाहरुलाई स्वादेशमा आयआर्जन र जीविकोपार्जनमा समस्या भएको उनले बताए । 'विनाधितो सहुलियत ऋण पाउने सहज व्यवस्था हुन सके स्वदेशमै केही गर्न सकिन्थ्यो,' मोक्तानले भने, 'तर यहाँ व्यवसाय दर्ता गर्दादेखि नै राजनीति सुरु हुन्छ, ऋण पाउने कुरा त परै जाओस्, त्यसैले कोरोना सकिएपछि विदेश जाने योजनामा छु ।'
बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र सरोकारवालाहरुको समेत सो कार्यक्रममा सहभागिता थियो । उनीहरुले विदेशबाट फर्किएका युवाहरुलाई सहुलियत कर्जामा पहुँच राख्न सुझाव दिए । 'सहुलियत कर्जा सबै बैंकले प्रवाह गरिरहेका छन्, आफ्नो भिजन र प्रोजेक्ट क्लियर बनाएर आउनुस्,' मेगा बैंकका शाखा प्रबन्धक शम्भु पराजुलीले भने, 'मेरो व्यवसाय यो हो, मेरा समस्या यी हुन् र पैसा भयो भने म यो तरिकाले काम गर्न सक्छु भनेर आए हामी लगानी गर्न तयार छौँ ।'
कार्यक्रममा ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बैंकसँग ऋण लिएर ऋणको दुरुपयोग नगर्न सुझाव दिए । 'व्यवसाय गर्छु भनेर ऋण लिने अनि ऋण लिएपछि विदेशका लागि भिसा अप्लाइ गर्यो भने के अर्थ हुन्छ ?,' मास्केले भने, 'प्रोजेक्ट थालेर ऋण लिनुस्, अनि व्यवसाय पनि दीगो रुपमा पनि थाल्नुस् ।'
कार्यक्रममा समृद्धिका आप्रवासन अधिकृत जीवन श्रेष्ठले समृद्धिले वैदेशिक रोजगारीबाट फर्किएर उद्यममा संलग्न भएका युवाहरुलाई स्वदेशमै स्वारोजगार हुनका लागि वित्तीय पहुँचमा भूमिका खेल्ने बताए । कार्यक्रममा कृषि उद्यम केन्द्रका तर्फबाट सागर पोखरेल सहभागी थिए ।