ओखलढुंगा, माघ ५ । प्रधानमन्त्री केपी ओलीको समर्थनका क्रममा चम्पादेवी गाउँपालिका पुगेका प्रदेश १ का भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले चम्पादेवी मन्दिरको डीपीआर पहिलो नम्बरमा सम्बोधन गर्ने बताएका छन् । चम्पादेवी गाउँपालिका कार्यालयमा पुगेर मन्त्री गुरुङले चम्पादेवी मन्दिरको विकासका लागि गाउँपालिकाले तयार गरेको डीपीआरको फाइल मन्त्रालय पुग्नेबित्तिकै हेर्ने बताएका हुन् ।
उनले २० करोड लागत अनुमान गरिएको डीपीआर प्राविधिक टीमसहित बसेर आफूले हर्ने बताए । 'नक्कली भाषण र कुरा गरेर जनतालाई छल्न आउँदैन,' गाउँपालिका केन्द्र सुन्द्रपुरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, 'म कुरा मात्रै होइन काम पनि गर्छु ।'
उनले चम्पादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहने र टिक्न नदिने समस्यालाई हल गरिने बताए । '८-८ जना प्रमुख प्रशासकीय अधिकृत सरुवा हुनु भनेको सहयोग त होइन' उनले भने, 'यस्तो खालको किर्ते काम कसले गर्यो भनेर बुझ्नु जरुरी छ ।'
मन्त्री गुरुङले चम्पादेवी गाउँपालिकामा विद्यमान खानेपानी समस्या निर्मुल पारिने बताए । उनले गाउँपालिकामा विद्युतीकरणको काम पनि प्राथमिकता दिएर गर्ने बताए । यस्तै सो गाउँपालिकाको वडा नं ३ र ६ को बीचमा रहेको ठूलोखोलामा मोटरेबल पुल निर्माणको काममा समेत आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज केसीले चम्पादेवी मन्दिर पूर्वधार विकास, केन्द्रीय विद्युत प्रशारण लाइन विस्तार, ठूलोखोला मोटरेबल पुल निर्माण, नवलपुर सिल्खुबेँसी चिप्लिङ घोराखोरी विलन्दु देम्बा सोलु सडक योजना, वृहत खानेपानी योजना लगायतका विषयमा मागपत्र हस्तान्तरण गरेका थिए ।