ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकामा प्रदेश सांसद तथा नेकपा प्रचण्ड माधव पक्षका जिल्ला अध्यक्ष मोहन खड्काका दाजु चन्द्रबहादुर खड्कासहित ३५ जना कांग्रेस प्रवेश गरेका छन् । लिखु गाउँपालिका वडा नं २ को हुलाकचौरमा आयोजित कार्यक्रममा उनीहरु काग्रेस प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, कांग्रेस नेता रामहरि खतिवडा, उपसभापति तेजेन्द्र खनाल, युवा नेता अशोक कार्की, जिल्ला कार्यसमिति सदस्य रामचन्द्र बोगटी, राजन सुवेदी र सर्वधन तामाङले कांग्रेसमा प्रवेश गराउँदै स्वागत गरेका थिए । कांग्रेस प्रवेशपश्चात खड्काले नेकपाका लागि धेरै दुख गरेको तर कम्युनिष्टहरुको अराजकतासँग दिक्क भएर पार्टी परिवर्तन गरको बताए ।
संसद विघठनको विरोधमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता खतिवडाले कम्युनिष्टहरुले बुथहरुमा मुन्द्रे राखेर भोट दिने जनतालाई आँखा देख्दैनन् भन्दै सबै आफैँले भोट हालेको आरोप लगाए । गठबन्धनको नाममा २ तिहाईको सरकार २ बर्ष पनि चलाउन नसकेको खतिवडाले बताए । उनले अहिले एकअर्कालाई भ्रष्टाचार र हत्यारा भन्दै नेकपाका नेताहरू उफ्रिरहेको समेत बताए । खतिवडाले राणा र राजा फालेर देशलाइ संविधान दिएको कांग्रेस मुलुक निर्माण गर्नको लागि देशलाई सही बाटोमा हिडाँउन सबै एकसाथ सँगै रहनु पर्ने बताए ।
जनताले मतदान गलत ठाउँमा गर्दा अहिले संसद विघटन भएको कांग्रेस नेता खतिवडाको तर्क छ । ‘ओली र कम्युनिस्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ’, खतिवडाले भनेका छन्, ‘कम्युनिस्टलाई संस्कार सिकाउँछौँ भनेका थियौँ । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौँ । शिक्षक मार्नेलाई संसदमा लग्यौँ । ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गर्नुभएको छ ।’
कार्यक्रममा पार्टी सभापति सुनुवारले कांग्रेसको पक्षमा जनलहर बढेको बताए । 'जनताले देश विकासका लागि कम्युनिष्टहरुलाई चुनेर पठाएका थिए,' सुनुवारले भने, 'तर आज देश विकास गर्नुको सट्टा संविधानको हत्या गरेर उनीहरु कुर्सीका लागि लडाइँ लडिरहेका छन् ।' उनले समृद्धिका लागि कांग्रेस एकमात्र विकल्प पुष्टि भएको समेत बताए ।