ओखलढुंगा । २०६५ सालमा नायव प्राविधिक सहायक तहको कृषि कर्मचारीको रुपमा हेमबहादुर आल काभ्रेको मंगलटार पुग्दा सेवा केन्द्र बन्द थियो । कार्यालयमा माकुराको जालो मात्र थियो । उनले कार्यालय सफा गरे । कार्यालय सहयोगीलाई खोजे । उनलाई कार्यालयमा हाजिर गराए ।
उनी गए देखी कार्यालय नियमित सञ्चालन भयो । कृषकका लागि तालिम सञ्चालन गरे । ५० प्रतिशत अनुदानमा लिची र तरकारीको बिरुवा बाँडे । १ हजार दुई सय बिरुवा किसानले बारीमा रोपे । उनले त्यहाँको धानबालीको समस्या बुझे । उत्पादन बढाए । मंगलटारपछि सिन्धुपाल्चोक सरुवा भयो । सिन्धुपाल्चोकमा पनि कृषकमुखी काम गरे ।
सिन्धुपाल्चोकमा आलेले च्याउ खेती विस्तार गरे । व्यवसायिक च्याउ खेतीका लागि सहयोग गरे । सिताके च्याउ देखि अन्य प्रजातिका व्यवसाय गर्न सकिने च्याउ जिल्लामा भित्र्याए । च्याउको बिशेषता र बजारको बारेमा तालिम दिए ।
त्यसबेला सम्म सिन्धुपाल्चोकमा सिताके च्याउको खेति कसैले गरेका थिएनन् । कृषकलाई विश्वास दिलाउन कार्यालयमै च्याउ उत्पादन गरेर नमुना उत्पादन गरे । कृषकहरु त्यो देखेर हौसिए । तिनै मध्येका एक नन्दी जोशी हाल च्याउ खेतीका नमुना कृषक बनेका छन् ।
बाली संरक्षण अधिकृत रहेका हेम आले हाल ओखलढुंगास्थित कृषि ज्ञान केन्द्रका निमित्त प्रमूख छन् । कृषकहरु उनलाई औधि मन पराउँछन् । ‘कहिले पनि नझर्किने, समस्या मजाले सुन्दिने उहाँको बानी साह्रै अनुकरणीय छ ।’ सिद्धिचरण नगरपालिका ६ का अगुवा कृषक राजेश श्रेष्ठ भन्छन्, ‘कार्यालयमा पनि एकैछिन त्यसै नबस्ने र जुनसुकै समयका कृषकका लागि फिल्ड पुगिदिने उहाँ जस्तो कृषि प्राविधिक कमै देखिन्छ ।’
उनले सिन्धुपाल्चोक र ओखलढुंगामा १२ ओटा फार्म स्कुल सञ्चालन गरेका छन् । करिब तीन सय कृषकलाई तालिम दिईसके । एउटा फार्म स्कुलमा २५ जना कृषक छनोट गरिन्छ । त्यसलाई ४ समूहमा छुट्याएर ५/६ महिना सम्म तालिम दिइन्छ ।
सिन्धुपाल्चोक सेवा केन्द्रमा रहँदा सेवाग्राहीका लागि मासिक अगुवा कृषक गोष्ठी सुरु गरे । हरेक महिनाको २ र ३ गते कृषक समूहका सदस्यलाई बोलाएर बालिनालीको समस्या सुन्छन् । कूनै किसानको ठुलै समस्या भए तत्काल फिल्डमै गएर समस्या समाधान गरिदिने आलेको बानी छ ।
आफै किसानको छोरो भएकोले निम्न आय भएका परिवारलाई सानो बचत पनि ठुलो हुन्छ भनेर बुझेका छन् । तर, तीन तहको सरकार बनेपछि वास्तविक किसानलाई अनुदान दिलाउन झन गाह्रो भएको उनको अनुभव छ ।
‘गाउँका वास्तविक किसानले प्रस्ताव नै लेख्न जान्दैनन् ।’ उनी भन्छन्, ‘यसलाई सुधार्न वास्तविक किसानलाई समेट्ने र काम नगर्ने किसानलाई कारवाही गर्ने नीति ल्याउनुपर्छ ।’
मानेभन्ज्याङ गाउँपालिका १ मोलीका स्थायी बासिन्दा आले अकाउन्टीबिलिटी ल्याब नामक संस्थाले ‘इन्टेग्रिटी आईकन २०२०’ को उत्कृष्ट पा“च मध्येमा मनोनित गरेको थियो । शुक्रबार राजधानीमा सोही संस्थाले आयोजना गरेको औपचारिक कार्यक्रममा उनी ‘इन्टेग्रिटि विथ इनोभेसन’ विधाको अवार्डबाट सम्मानित भए् । उनको इमानदारीताको कारण उनलाई छानिएको अकाउन्टीबिलिटि ल्याबले जनाएको छ ।
तस्बिरहरू : कुम्भराज राई


