ओखलढुंगा । सस्तो र आकर्षक मानिएको ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा ६० अर्ब रुपैयाँ ऋण लगानी गर्न एसियाली विकास बैंक (एडिबी)ले प्रतिबद्धता जनाएको छ । तर, एडिबीसँग उक्त ऋण लगानीसम्बन्धी सम्झौता भने भइनसकेको प्राधिकरणका तर्फबाट आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठले बताए । नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको उक्त आयोजनामा करिब १ खर्ब ६० अर्ब रुपैयाँ (१ अर्ब ५२ करोड अमेरिकी डलर) लागत अनुमान गरिएको छ । यस अनुमानअनुसार आयोजनामा करिब प्रतिमेगावाट २५ करोड १९ लाख रुपैयाँ लगानी हुनेछ ।
एडिबीले ६० अर्ब लगानी गरे पनि आयोजनाका लागि अझै १ अर्ब रुपैयाँ जुटाउनुपर्ने आयोजना प्रमुख श्रेष्ठले बताए । अर्थ मन्त्रालयले आयोजनामा लगानी गर्न विश्व बैंक, एसियाली पूर्वाधार लगानी बैंक (एआआइबी) जाइका, डिएफआइडी, युएसएडजस्ता संस्थासँग छलफल गरिरहेको उनको भनाइ छ । उनले भने, ‘सकेसम्म थोरै संख्याका लगानीकर्ताबाटै वित्तीय व्यवस्थापन हुन सके राम्रो, तर एक–दुईवटा लगानीकर्ताले मात्रै बाँकी १ खर्ब लगानी गर्न सक्ने अवस्था देखिएको छैन ।’
उक्त आयोजना निर्माण सरकारको उच्च प्राथमिकतामा रहेकाले वित्तीय व्यवस्थापन गर्न विभिन्न दातृ निकाय तथा लगानीकर्तासँग समन्वय भइरहेको अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताए । ‘सरकारको प्राथमिकतामा परेकाले यो आयाजनामा सकेसम्म सहुलियत दरको तथा कम सर्त हुने ऋणको खोजीमा हामी छौँ,’ उनले भने, ‘विभिन्न निकायसँग कुराकानी भए पनि ऋण सहमति वा सम्झौता कोहीसँग पनि भइसकेको अवस्था छैन ।’ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को फाइनल रिपोर्ट तयार गरेर कन्सल्ट्यान्ट कम्पनीले प्राधिकरणलाई बुझाइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए ।
राष्ट्रिय गौरवको सूचीमा राखिने
दूधकोसी नेपालको ऊर्जा विकासमा कोसेढुंगा हुन सक्ने भन्दै राष्ट्रिय गौरवका आयोजनाको सूचीमा समावेश गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताउँदै आएका छन् । झन्डै एक महिनाअघि आयोजनाको निरीक्षणका क्रममा उनले खोटाङको रावाबेँसी पुगेर यस्तो बताएका हुन् । उनले उक्त आयोजना निर्माण गर्ने कार्यमा सघाउन ओखलढुंगा र खोटाङका स्थानीयलाई आग्रह गरेका छन् ।
१० ठूला जलाशययुक्त आयोजनामध्ये पहिलो
दूधकोसी जलाशययुक्त आयोजनाको पहिचान सन् १९८५ मा जापान सहयोग नियोग (जाइका)ले गरेको कोसी जलाधार क्षेत्रको अध्ययनबाट भएको थियो । जाइकाकै सन् २०१४ को अध्ययनअनुसार नेपालका १० ठूला जलाशययुक्त आयोजनामध्ये पहिलो स्थानमा दूधकोसीलाई राखिएको छ । अरुण तेस्रो, माथिल्लो कर्णाली, बुढीगण्डकी, तमोर, कर्णाली चिसापानी, पश्चिम सेती, तल्लो अरुण, पञ्चेश्वरजस्ता ठूला जलाशययुक्त आयोजनाको सूचीमा यो आयोजनासमेत परेको उनको भनाइ रहेको कुरा नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले समाचार लेखेका छन् ।
*शंसोधन गरिएको