काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा लिन लागेको विश्वासको मत असफल बनाउन र नयाँ सरकार गठनका लागि सहज वातावरण तयार पार्न नेकपा एमालेको खनाल-नेपाल समूहका कम्तीमा २० जना सांसदले राजीनामा दिने तयारी थालेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँगको सहमतिपछि खनाल-नेपाल समूहका कम्तीमा २० सांसदले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा बुझाउने तयारी गरेका हुन्।
उनीहरूले कहिले राजीनामा बुझाउने भन्ने ठ्याक्कै टुंगो भने भइसकेको छैन।
'आज हाम्रो स्थायी कमिटीको बैठक बस्छ। त्यसले अन्तिम टुंगो लगाउँछ,' खनाल-नेपाल समूहका एक सांसदले सेतोपाटीसँग भने। खनाल-नेपाल समूहका सांसदले राजीनामा नै दिने भएपछि प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले कस्तो रणनीति लिन्छन् भन्ने पनि एकिन भइसकेको छैन।
'उहाँले आजै संसदको अधिवेशन अन्त्य गरिदिनु हुन्छ कि वा अरू पनि केही गर्न सक्नुहुन्छ। त्यसो हुँदा त राजीनामा दिने कुराले काम गर्दैन,' ती सांसदले भने,'राजीनामा दिए पनि बैठक सुरू हुनु दुई-तीन घन्टा अगाडिमात्रै सभामुखलाई बुझाउने हुन्छ होला।'
नेपाल समूहमा सबै सांसदले अन्तिममा राजीनामा गर्छन् कि गर्दैनन् भन्ने पनि द्वुविधा छ।
'अहिले हामीले राजीनामा दिनु भनेको त पार्टी एक नरहने अवस्था हो। हिजो पार्टीभित्रै रहेर ओलीविरूद्धको अन्तरसंघर्षमा साथ दिएका साथीहरू अन्तिममा राजीनामा बुझाउन तयार नभए के गर्ने भन्ने पनि छ,' ती सांसदले भने।
राजीनामा दिनै पर्ने अवस्था आए यी सांसदले दिन सक्छन् राजीनामा
१. झलनाथ खनाल, इलाम १
२. माधवकुमार नेपाल, काठमाडौं २
३. योगेश भट्टराई, ताप्लेजुङ
४. जयकुमार राई,सुनसरी १
५. भवानी खापुङ,तेह्रथुम
६. यज्ञराज सुनुवार, ओखलढुंगा
७. गणेश पहाडी, सिन्धुली १
८. पवित्रा निरौला खरेल, झापा २
९. जीवनराम श्रेष्ठ,काठमाडौं ८
१०.नारायण खतिवडा, नुवाकोट १
११. विरोध खतिवडा,मकवानपुर २
१२. सुरेन्द्र पाण्डे,चितवन १
१३. घनश्याम भुसाल,रुपन्देही ३
१४. गोकर्ण विष्ट,गुल्मी १
१५. मेटमणी चौधरी,दाङ १
१६. हिराचन्द्र केसी, दाङ ३
१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
१८. राजवहादुर बुढा,दैलेख २
१९. झपट रावल, कैलाली २
२० . भीम रावल, अछाम १
२१ . कृष्णलाल महर्जन, ललितपुर २
२२ . सोमप्रसाद पाण्डे, पाल्पा २
यीमध्ये राजबहादुर बुढा र गोकर्ण बिष्टबाहेक २० सांसदलाई अध्यक्ष ओलीले यसअघि नै स्पष्टीकरण सोधेका थिए।
खनाल-नेपाल समूहका समानुपातिकतर्फका सांसदहरूले राजीनामा दिनु पर्ने अवस्था आए आफूहरूले पनि दिने बताएका छन्।
'यो त ओलीविरूद्धको सामूहिक आत्मदाहजस्तै हो। त्यही भएर हामी पनि राजीनामा दिन तयार छौं,' उक्त समूहका एक समानुपातिक सांसदले भने।
खनाल-नेपाल समूहबाट समानुपातिक सांसद रहेकाहरू:
१. रामकुमारी झाँक्री, गुल्मी
२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर
३. मुकुन्द न्यौपाने, काठमाडौं
४. कल्याणीकुमारी खड्का, रौतहट
५. लक्ष्मीकुमारी चौधरी, कैलाली
६. गंगा चौधरी सत्गौवा, दाङ
७. निरादेवी जैरु, डडेलधुरा
८.समिना हुसेन, रौतहट
९. पुष्पाकुमारी कर्ण यादव, पर्सा
१०. सरलाकुमारी यादव, रौतहट
११. कालिला खान, तनहुँ
सेतोपाटीमा सञ्जिब बगालेद्वारा लिखित साभार समाचार