ओखलढुंगा । खिजीदेम्बा गाउँपालिका वडा नं १ केराबोटेका लोकबहादुर सुनुवारले भुकम्पबाट घर क्षति भएपछि भुकम्पप्रतिरोधी घर बनाए । उनले नयाँ घर त बनाए, तर लिखु ४ जलविद्युत् आयोजनाका कारण उनको निद हरायो । आयोजनाले घर भएको जमिनमुनि सुरुङ बनाउँदा पटक पटक पड्काइएको ब्लाष्टिङको कम्पनका कारण उनको घर भत्किन थाल्यो । सिमेन्टेड गरिएका उनको घरका भित्ताहरु उप्किएर झर्न थाले । भुँइ उसैगरी चर्किएर फुट्यो ।
सोही ठाउँकी इन्द्रमाया खड्काका भुकम्पबाट सामान्य मात्रै क्षति भएका दुईवटा घर थिए । यी दुवै घर उनको परिवारले प्रयोगमा ल्याइरहेका थिए । तर लिखु ४ जलविद्युत आयोजनाले घर भएको जमिनमुनि सुरुङमार्ग निर्माणका क्रममा ब्लाष्टिङ पड्काउँदा दुवै घर पूर्ण क्षति भए । अहिले सो ठाउँबाट इन्द्रमायाको परिवार विस्थापित भएको छ ।
डेढ वर्ष अघिदेखि ब्लाष्टिङ पड्काउँदा लिखु ४ जलविद्युत् आयोजनाका कारण सो क्षेत्रका केराबोटे, साल्पु, फूलडाँडा, भदौरालगायतका गाउँका दर्जनौ घरहरुमा क्षति पुगेको छ । गाउँको जमिनमुनि सुरुङ निर्माणको क्रममा ब्लाष्टिङ पड्काउँदा आएको कम्पनका कारण घरहरु चर्किएर क्षति पुगेको स्थानीयको दावी छ । ‘सुरुमा परीक्षणका लागि भनेर सुरुङ खन्न थालियो,’ स्थानीय वेदबहादुर सुनुवार भन्छन्, ‘पछि धमाधम हामीलाई पेलेरै सम्पन्न नहुन्जेलसम्म सुरुङ खनियो । ब्लाष्टिङ पड्काइयो । जसका कारण हाम्रा घरमा क्षति भयो ।’
सुरुङ निर्माणका क्रममा स्थानीयले घरमा क्षति भएको विषयमा हारगुहार नगरेका होइनन् । तर लिखु ४ जलविद्युत् आयोजना निर्माण गरिरहेको प्रबद्र्धक कम्पनी ग्रीन भेन्चर्सले स्थानीयका आवाज सुन्दै सुनेन । बरु बेला बेला दबाउन कोशिस गरिरह्यो । ओखलढुंगाखबरलाई प्राप्त दर्जनौं उजुरीका डकुमेन्टमा ग्रीन भेन्चर्स, गाउँपालिका, वडापालिकालगायतमा घर भत्किएका विषयमा उजुरी परेको देखिन्छ । तर ती उजुरीको कतै सुनुवाई भएको छैन । ‘मैले भुकम्पप्रतिरोधी घर चर्किएपछि पटक पटक उजुरी दिइसकेको छु,’ स्थानीय पीडित लोकबहादुर सुनुवार भन्छन्, ‘तर उजुरी कतै सुनुवाइ भएन ।’
घर क्षति भएको विषयमा ग्रीन भेन्चर्समा दर्जनौं उजुरी परेका छन् । पटक पटक स्थानीयले हारगुहार गरिसकेका छन् । यतिधेरै गुनासो बढ्दा पनि ग्रीन भेन्चर्सबाट स्थानीयका घर अनुगमनका लागि फिल्डमा एक पटक पनि नआएको स्थानीय बताउँछन् । ‘हामीले अनुगमन गरेर क्षतिपूर्ति पाउनुपर्यो भनेर हारगुहार गरेका छौं, उजुरी दिएका छौँ’ स्थानीय पीडित बुद्धिराज सुनुवार भन्छन्, ‘तर अहिलेसम्म अनुगमन भएन, बरु हाम्रा आवाज दबाउन लागियो ।’
स्थानीय पीडितले पछिल्ला समयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा समेत उजुरी दिएका छन् । उजुरी परेको र छानबिनको प्रक्रिया बढिरहेको प्रमुख जिल्ला अधिकारी बन्दना राईको भनाई छ ।
के भन्छ त ग्रीन भेन्चर्स
ग्रीन भेन्चर्सको प्रतिनिधित्व गरेर फिल्डमा रहेका बरिष्ठ प्रबन्धक तथा जनसम्पर्क अधिकृत कृष्णदास श्रेष्ठ घर क्षति भएको विषयमा स्थानीयको उजुरी परेको स्वीकार्छन् । तर उनी ब्लाष्टिङकै कारण घरमा क्षति भएको विषयमा विश्वस्त छैनन् । ‘आयोजना सुरु हुनुभन्दा अगाडि नै भुकम्पका कारण घरमा क्षति भएको थियो,’ उनी भन्छन्, ‘हामीले आयोजना सुरु हुनुभन्दा अगाडि नै सबै घरको फोटो राखेका छौं, त्यही आधारमा छानबिन हुन्छ ।’
तर ग्रीन भेन्चर्सका अध्यक्ष सुवास सांघाईले भने आयोजना क्षेत्रमा घर नभत्किएको दाबी गर्ने गरेका छन् । यो स्थलगत रिपोर्टिङ गर्नुभन्दा अगाडि फोन सम्पर्कमा उनले घर भत्किएको विषयमा आफूलाई गुनासो नआएको बताएका थिए । ‘कहाँ भत्कियो घर ? सुनेका भरमा जे पायो त्यही भन्ने’ उनले उल्टै हप्काउने शैलीमा प्रतिप्रश्न गरेर भनेका थिए, ‘तपाईं फिल्डमा जानुस्, म इन्जिनियर पठाइदिन्छु ।’ उनले घर भत्किएको विषयमा प्रमाण देखाउन चुनौती दिएका थिए । (अडियो रेकर्ड सुरक्षित छ ।)
उनले ओखलढुंगाखबर टीम फिल्डमा पुग्दा इन्जिनियर पठाएनन् । बरु सबै कर्मचारीलाई सम्पर्कविहीन हुन आदेश दिए । फिल्ड रिपोर्टिङपश्चात् पछिल्लो सम्पर्कमा उनले भूगर्भविद् ल्याएर निरीक्षण गराउन याेजना बनाइएको बहाना बनाए । (अडियो रेकर्ड सुरक्षित छ ।)
स्थानीयलाई पेलेरै आयोजना सम्पन्न गर्ने दाउ
लिखु ४ जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न ग्रीन भेन्चर्स स्थानीयका आवाजलाई पेलेरै अगाडि बढिरहेको छ । स्थानीयका मागमाथि अहिलेसम्म छानबिन र सुनुवाई नहुनु नै यसको ठोस प्रमाण हो । ग्रीन भेन्चर्सका लागि फिल्डमा कार्यरत एक कर्मचारीले स्थानीयका माग सुनुवाई गर्न आयोजना उदासीन रहेको दुखेसो पोखे । उनले पटक पटक डकुमेन्ट माथि पठाउँदा पनि कुनै सुनुवाई नभएको औँल्याए । (अडियो रेकर्ड सुरक्षित छ ।) ‘तपाईँले माथि नै सोध्नुस् न स्थानीयका माग किन सुनुवाई भएन भनेर,’ उनले भने, ‘यहाँ हामीले बोल्न मिल्दैन ।’
यसबाट के प्रष्ट हुन्छ भने स्थानीयका मागलाई पेलेरै निर्माण सम्पन्न हुने चरणमा रहेको ५२ दशलब ४ मेगावाट क्षमताको यो आयोजना सम्पन्न गर्ने दाउमा ग्रीन भेन्चर्स लागेको छ ।