ओखलढुंगा । ओखलढुंगामा किसान र व्यापारीबीच पहिलोपटक खसीबोका जिउँदै जोखेर खरीदबिक्री हुन थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले किसान र व्यापारीबीच सम्बन्ध विकास सम्बन्धी छलफल चलाएपछि खसीबोका जोखेर खरीदबिक्रीको सुरुवात भएको हो ।
खसीबोका जोखेर खरीदबिक्री गर्ने कार्यक्रमको शुभारम्भ शुक्रबार सिद्धिचरण नगरपालिका वडा नं. १० का वडाध्यक्ष दामोदर धमलाले गरेका हुन् । उनले सोही वडामा रहेको नमुना बाख्रापालन समूहमा एक कार्यक्रमका बीच अगुवा किसान किसान घनश्याम बास्तोलाका खसीबोका जोखेर खरीदबिक्रीको सुरुवात गराएका हुन् ।
कार्यक्रममा खसीबोका व्यापारी ऋषिकुमार धमलासहित २ दर्जनबढी बाख्रापालक किसान सहभागी थिए । खसीबोका जोखेर खरीदबिक्री गर्ने कार्यक्रमकै अवसरमा बाँस्तोलाले २ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको १९ वटा खसीबोका बिक्री गरेका छन् । उनले खरी जातका ९ वटा बोका, जमुना पारी जातका ५ वटा खसी र बोयर जातका ५० प्रतिशत क्रसका ५ वटा खसीबोका व्यापारीसँग हाताहाती बिक्री गरेका हुन् ।
कार्यक्रममा काँटा लगाएर आउने तौलमा प्रतिकेजी खरी जातका खसीबोकालाई ४ सय ८० रुपैयाँ, जमुना पारी जातका खसीबोकालाई ५ सय २० रुपैयाँ र बोयर जातका खसीबोकालाई ६ सय ५० रुपैयाँका दरले खरीदबिक्री भएको छ । तौलमा लादी, रौँ, खुर, सिङ केहीपनि ह्रासकट्टी नगरी खरीदबिक्री भएको हो ।
किसानको घरमै पुगेर व्यापारीले खसीबोका जोखेर खरीद गरेपछि किसानहरु खुसी भएका छन् । ‘अनुमानकै भरमा मोलतोल गरेर खसीबोका बिक्री गर्दा हामी ठगिँदै आएका थियौँ,’ अगुवा किसान बास्तोलाले भने, ‘जोखेर कारोबार गर्ने भएपछि हामीले वास्तविक मूल्य पाएका छौँ ।’
खसीबोका व्यापारी धमलाले नयाँ कामको सुरुवात भएको बताए । अरु समूहमा पनि आफू खसीबोका जोखेर कारोबार गर्न तयार रहेको उनको भनाई छ ।
समृद्धिले दुई साता अघि सो समूहमा किसान र व्यापारीबीच सम्बन्ध विकास सम्बन्धी छलफल चलाएपछि खरी, जमुनापारी र बोयर जातका खसीबोका जोखेर खरीदबिक्री गर्न सहमत भएका थिए । ‘छलफलबाटै खसीबोका जोखेर खरीदबिक्री गर्ने निर्णय भएको थियो,’ समृद्धिका उद्यम सेवा केन्द्र संयोजक नवराज कार्कीले भने, ‘समूहकै अगुवाईमा अहिले कार्यान्वयनमा आयो, यसबाट अरुले पनि सिक्न जरुरी छ ।’
समृद्धिले ओखलढुंगा जिल्लामा खसीबोकाको क्षेत्रमा आपूर्ति श्रृंखला विकास गर्नका काम गरिरहेको छ । पहिलो चरणमा बाख्रापालन हुँदै आएका क्षेत्रमा क्लष्टर निर्माण गरेर सो क्षेत्रका किसानसँग आयोजना सम्बन्धी अभिमुखीकरण गरेर बजार व्यवस्थापनको क्षेत्रमा समृद्धिले सघाउ पु¥याउन थालेको छ । समृद्धिले प्रदेश नं. १ का ओखलढुंगा, खोटाङ, धनकुटा, भोजपुर, उदयपुर र तेह्रथुम जिल्लाका किसानलाई लक्षित गरेर नश्ल सुधार, बजार व्यवस्थापन, सहुलियत ऋण सहजीकरण, प्राविधिक ज्ञान तथा तालिम र अनुदानलगायतका क्षेत्रमा काम गर्ने गरेर उद्यमशिलता विकास गर्ने अभियान लिएको छ ।