ओखलढुंगा, १५ जेठ । ओखलढुंगामा आज शनिबार विहान २ जनाको कोरोना संक्रमणबाट मृत्यु भयो । कोरोनाबाट गम्भीर विरामी भएका ती दुवैजनाको जिल्लामा भेन्टिलेटर नहुँदा अकालमा ज्यान गयो ।
२ दिनदेखि परेको वर्षाका कारण उनीहरुलाई काठमाडौँ लैजान सकिएन । 'मौसम खराबीले हेलिकोप्टरबाट उद्दार गर्न सकिएन,' सिद्धिचरण नगरपालिका ६ ठाडे घर भएका मृतकका आफन्त तथा सामाजिक अभियन्ता दिनेशकुमार मगर भन्छन्, 'जिल्लामै भेन्टिलेटर हुन्थ्य्यो भने बचाउन सकिन्थ्यो ।'
मगरको मुख्य गुनासो ओखलढुंगाका नेताहरूसँग छ । 'जिल्लामा कुनै विकास भयो भने मैले गरेको भनेर हानथाप हुने गरेको छ,' मगर भन्छन्, 'तर परेका बेला हामी जनताका साथमा कोही हुँदैनन् ।'
विकासका नाममा मैले यो गरेँ, त्यो गरेँ भन्ने नेताले किन अहिले चाहिएका बेला भेन्टिलेटर राख्न सक्दैनन् ? मगर प्रश्न गर्छन् । शत्ता र शक्ति हातमा भएका नेताहरु निदाएको देखेर दु:ख लागेको उनी बताउँछन् ।
उनले चुनाव ताका करोडौँ रुपैयाँ आँखा चिम्लिएर खर्च गर्ने नेता समेत देखेको बताए । तर अहिले तिनै नेता जनतालाई परेको बेला चुपचाप बसेको उनको भनाई छ । 'यो महामारीको पीडा भोग्नेलाई मात्रै थाहा छ, मेरो प्रश्न ओखलढुंगाका नेताहरुलाई सुनाइदिनुस्,' मगर भन्छन्, 'नेताज्यूहरू ! तपाईँहरुका कारण हामी कहिलेसम्म मरिरहनु पर्ने हो ?'