ओखलढुंगा, १९ जेठ । कोरोनाविरुद्धको अभियानमा जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन भएको छ । कोरोनाको प्रकोप बढिरहेको बेला आफ्नो जन्मथलो ओखलढुंगालाई आक्सिजन, भेन्टिलेटर, आइसीयुलगायतका मेडिकल सामग्रीहरु उपलब्ध गराउने कुरालाई मध्यनजर राखेर स्वदेश तथा विदेशमा रहेका ओखलढुंगेलीहरुको सञ्जाल तयार भएको हो ।
सञ्जालको संयोजकमा सामाजसेवी शिवजी श्रेष्ठ रहेका छन् । सञ्जालको सचिवमा श्रीराम गुरुङ (कोरिया) र कोषाध्यक्षमा दिनबन्धु प्रेमि (अमेरिका) छन् ।
यस्तै सञ्जाल संयोजकहरुमा युके संयोजकमा ओखलढुंगा जिल्ला समाज युकेका अध्यक्ष विष्णुबहादुर गुरुङ, दक्षिण कोरीया संयोजकमा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष फडिन्द्र अधिकारी, जापान संयोजकमा ओखलढुंगा सेवा समाज जापानका अध्यक्ष सन्तोष बानियाँ, कतार संयोजकमा ओखलढुंगा सेवा समाज, कतारका अध्यक्ष भीम तामाङ, मलेसिया संयोजकमा ओखलढुंगा एकता सेवा समाज मलेसियाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, साइप्रस संयोजकमा ओखलढुंगा सेवा समाज साइप्रसका अध्यक्ष आयुष्मा गुरुङ रहेका छन् । यसैगरी अष्ट्रेलिया संयोजकमा अम्बिका श्रेष्ठ, अमेरिका/क्यानडा संयोजकमा दिनबन्धु श्रेष्ठ, बेल्जियम/नेदरल्याण्ड संयोजकमा सुवास गुरुङ, हङकङ संयोजकमा नरेन्द्र गुरुङ, युएई संयोजकमा जितेन्द्र गुरुङ, भारत संयोजकमा पेशलराज बुढाथोकीलगायत रहेका छन् ।
अहिले अहिले १६/१७ देशमा एक साथ अभियान चले पनि क्रमश अन्य देशमा रहेका ओखलढुंगेलीहरुलाइ पनि जोडने प्रक्रिया भइरहेको सञ्जालका संयोजक श्रेष्ठको भनाई छ । सञ्जालले जुम बैठक सम्पन्न गरेर सामुदायिक अस्पतालमा भेन्टिलेटर र जिल्ला अस्पतालमा थप अत्यावश्यक मेडिकल सामाग्रीको व्यवस्था गर्न कोरोनाको महामारीबाट जिल्लावासीलाई बचाउने कार्यमा सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको थियो ।
सो बैठकमा सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, उपमेयर इच्छा कुमारी गुरुङ, ओखलढुंगा सामुदायिक अस्पतालका प्रमुख युबराज आचार्य, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्ड़ेन्ट डा. दिक्षान्त प्रसाई, उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, जिल्ला रेडक्रस सोसाइटीका सभापति सुमन राजभण्डारी, सीमाबिद् बुद्धिनारायण श्रेष्ठ, संविधानसभा सदस्य रामहरि खतिवडा, नेपाली कांग्रेस ओखलढुंगा जिल्लाका सभापति प्रदीपकुमार सुनुवार, नेकपा एमालेका प्रदेस कमिटि सदस्य तथा बरिष्ठ अधिवक्ता नानीबाबु बुढाथोकीलगायत ओखलढुंगामा जन्मिएर देश परदेशमा रहेका ओखलढुंगेहरु सहभागी थिए ।