-नवराज खड्का
ओखलढुंगा, २० जेठ । कोरोना नियन्त्रण अभियानमा सघाउन सुनकोसी गाउँपालिकामा गठन भएको गाउँपालिकास्तरीय नेकपा एमाले विपद् व्यवस्थापन कमिटीले सुनकोसी गाउँपालिकालाई महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेको छ । सुनिल खड्का संयोजक रहेको सो कमिटीले आर्थिक सहयोग रकम जुटाएर गाउँपालिकालाई स्वास्थ्यसामग्री सहयोग गरेको हो ।
आज एक कार्यक्रमका बीच कमिटीद्वारा भीटीएम कीट ५ सय २० थान, अक्सिजन सिलिण्डर ५ थान, पल्स अक्सिमिटर १० थान, सर्जिकल मास्क ७ हजार ५ सय थान, पन्जा ७ सय थान, सेनिटाइजर १ सय लिटर, सेनिटाइजर बोतलको ७२ थान र पुन: प्रयोग गर्न मिल्ने गाउन १४ थानलगायतका सामग्री गाउँपालिका अध्यक्ष रुद्र अधिकारीलाई हस्तान्तरण गरिएको थियो । भीटीएम कीट नहुँदा कोरोनाको परीक्षण नरोकियोस् र अक्सिजन नहुँदा उपचार प्रभावित नहोस् भनेर गाउँपालिकालाई कोरोना रोकथाम र उपचारमा प्रयोग गरिने महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कमिटीका संयोजक खड्काले बताए ।

हालसम्म माक्स, सेनिटाइजर, पीपीईलगायतका स्वास्थ्य सामग्री विभिन्न दाताहरुबाट प्राप्त हुँदै आएको भए पनि यसरी भीटीएम कीट, अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटरलगायतका स्वास्थ्यसामग्री पहिलोपटक प्राप्त भएको हो ।
सामाजिक क्षेत्रमा समेत सक्रिय खड्काको नेकपा एमाले ओखलढुंगाका युवा नेता हुन् । उनको संयोजकत्वमा रहेको सो कमिटीको सह संयोजकमा झनक कार्की, काठमाडौँ संयोजकमा देबेन्द्रबाबु राई, पोखरा संयोजकमा गोविन्द खड्का, पोखरा सह संयोजकमा तीर्थराज मगर, जापान संयोजकमा सुरेश घिमिरे र युवा संयोजकमा प्रचण्ड खड्का रहेका छन् । कमिटीले भविष्यमा समेत गाउँपालिकालाई सहयोग गर्ने जनाएको छ ।