ओखलढुंगा, २१ जेठ । चम्पादेवी गाउँपालिका र हाम्रो टीम नेपालको संयुक्त पहलमा ३५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । कोरोना नियन्त्रणका लागि चम्पादेवी गाउँपालिकालाई सो सहयोग प्राप्त भएको हो ।
प्राप्त सामग्रीमा विद्युतीय अक्सिजन ८ थान, पीपीई १ सय ७५ थान, थर्मल गन, मास्क, सेनिटाइजर, अक्सिमिटर तथा कोरोनासँग सम्बन्धित औषधि रहेका छन् । आज चम्पादेवी गाउँपालिका १० को रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा १ ट्रक सामग्री गाउँपालिका अध्यक्ष नवराज केसीलाई हाम्रो टीमलले हस्तान्तरण गरेको छ ।
चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी, हाम्रो टीम नेपालका प्रतिनिधि तथा चम्पादेवी गाउँपालिका ५ का स्थानीय अनिल बुढाथोकी, निरकुमार बुढाथोकी, सुजन पौडेल, नेपाल तरुण दल ओखलढुंगा प्रदेश ख का संयोजक इन्द्र केसी, नेपाल विद्यार्थी संघका जिल्ला सदस्य मनोज बुढाथोकीलगायतको समन्वयमा थ्यांक यु बुद्ध नामक संस्थाबाट उक्त सामग्री प्राप्त भएको हो । 'धेरै महत्वपूर्ण स्वास्थ्य सामग्री प्राप्त भएको छ,' गाउँपालिका अध्यक्ष नवराज केसीले भने, 'सहयोगी संस्थाप्रति हामी आभारी छौँ ।'
दाताबाट यतिधेरै स्वास्थ्य सामग्री चम्पादेवी गाउँपालिकालाई प्राप्त भएको पहिलोपटक हो ।