ओखलढुंगा, २२ जेठ । प्रदेश सरकारको सहयोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीस्थित डुलडुलेका आगलागीपीडित ५ परिवारका लागि आवास निर्माणको काम थालिएको छ । जनता आवास कार्यक्रममार्फत निर्माण हुने आगलागीपीडितहरुको घर प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले आज शिलान्यास गरेका छन् ।
गएको चैत्र १५ गते भएको आगलागीमा स्थानीय धनबहादुर केसी, निरबहादुर प्रधान, पेशल प्रधान, निरकुमार प्रधान र मनिकुमार प्रधानको घर जलेको थियो । आगोले घर जलेपछि पीडितहरु गोठ बनाएर बसिरहेका थिए । कमजोर आर्थिक अवस्थाका कारण घर बनाउन नसक्ने अवस्थामा रहेका स्थानीयको घर निर्माणको जिम्मा मन्त्री गुरुङले लिएका थिए । गत जेठ ५ गते आगलागीपीडितलाई राहत दिन पुगेका गुरुङले तत्कालका लागि प्रदेश सरकारको तर्फबाट ५ परिवारलाई ५० हजारका दरले २ लाख ५० हजार र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार २५ हजारका दरले १ लाख २५ हजार रुपैयाँ राहत उपलब्ध गराएर आवास निर्माण समेत गरिदिने आवश्वासन दिएका थिए ।
मन्त्री गुरुङले आफ्नो बाचा अनुसार कुन्तादेवीमा जनता आवासका घर शिलान्यास गरेका हुन् । घरविहीन बनेका प्रकोपपीडितका घर तत्काल निर्माण सम्पन्न गरेर वर्षा अगावै घरभित्र सुरक्षित बस्ने वातावरण बनाउन मन्त्री गुरुङले पीडितहरुलाई निर्देशन दिएका छन् । मन्त्री गुरुङले जिल्लामा प्रकोपबाट प्रभावितहरुको संख्या ठुलो रहेको बताउँदै विशेषगरी घरविहीन भएकालाई आवास बनाएर सुरक्षित बसोबासको व्यवस्था मिलाउन बजेट व्यवस्था गरिएको बताए ।
डुलडुलेका अग्नीपीडितले घर निर्माणका लागि प्रतिघर ३ लाख ५० हजार रुपैँया पाउने छन् । ५ वटा घर बनाउन कन्सलटेन्सी सहित ३ लाख ५० हजारका दरले प्रदेश सरकारबाट रकम उपलब्ध भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सुमन मिश्रले बताए । जनता आवास कार्यक्रमको मोडेलमा घरहरु निर्माण गरिने उनको भनाई छ ।
मन्त्री गुरुङले मन्त्रालयबाट विपद्मा परेर घरबासविहीन भएका, एकल महिला तथा दलित समुदायका लागि जनता आवास कार्यक्रममार्फत घर बनाउन १ करोड बजेट जिल्ला पठाएका छन् । घर बन्ने भएपछि मोलुङ गाउँपालिका १ डुलडुलेका आगलागी पीडित खुसी भएका छन् ।