गजेन्द्रमणि प्रधान
मेरा बराजु नरदेवी रक्तकालीका दिलबहादुर श्रेष्ठ भक्तपुर हुलाकको मुखिया थिए । उनले कर्णेलकी श्रीमतीलाई भगाएछन् । कर्णेलकी श्रीमती भगाएलगत्तै रातारात काठमाडौँ आई हुलाकका डाइरेक्टरसामु ‘मैले बिराएँ’ भनेपछि त्यहीँबाटै पोखरा सरुवा गरिदिए । कर्णेलकी श्रीमती भगाएको बातकै कारण हुलाककै डाइरेक्टरको नाममा अड्डासार खिचेर ल्याउनू भनेपछि स्याङ्जामा गएर काम गर्नू भन्ने खबर बराजुलाई दिइएछ । हुलाकका डाइरेक्टरले सरुवाको पत्रचाहिँ स्याङ्जा पठाइदिएछन् ।
त्यसबखत (विसं १९०३) भण्डारखाल पर्वमा कर्णेल काटिएपछि बराजु सुरक्षित भएछन् । पछि बराजुलाई स्याङ्जाबाट ओखलढुंगा सरुवा गरिदिएछन् । ओखलढुंगा हिँडेरै जानुपर्ने हुँदा बराजुका भएभरका सम्पत्ति भरियाले नै लगेछन् ।
बराजुका दुई भाइ छोरा जितबहादुर र जगतबहादुर थिए । ओखलढुंगा गइसकेपछि फेरि अर्को बिहे गरेर कर्णबहादुर जन्मिए । बाजेको पनि त्यहीँ बिहे भयो । मेरा बुबा पनि ओखलढुंगामै जन्मिए । जितबहादुर कता गए, थाहा भएन । ओखलढुंगामै बराजु बितेपछि बाजे जगतबहादुर त्यहीँ नै हुलाकको मुखिया भएछन् ।
ओखलढुंगाबाट सरुवा भएर तातोपानी हुलाकमा मुखिया हुँदा विसं १९५८ मा टिकट रद्द गर्दा भएको छाप विदेशी लेखक डा वल्फग्याङ सी हेल्लिरगल र कोलिन हेप्परले लेखेको द न्याटिभ पोस्टमास्टर अफ नेपाल पुस्तकमा उल्लेख छ ।
बाजेका तीन बहिनी छोरीमा सबै लाटी भएछन् । तातोपानी गोश्वारा बाजेको कार्यक्षेत्र थियो । केन्द्रबाट दौडाहामा गएको डाइरेक्टरको टोलीले ‘तँलाई त गाह्रो रहेछ, के चाहन्छस्’ भनेर सोधेछ । बाजेले विवाह गरेकाले भोजपुर सरुवा र दिङ्लाको जस्तो घर चाहिन्छ भनेछन् । त्यसपछि बाजे तातोपानीबाट भोजपुरमा हाकिम भएर गए ।
१९७७ तिर मेरा बुबा कृष्णबहादुर श्रेष्ठ विराटनगर गोश्वाराका मुखिया थिए । बुबासँगै विष्णुबहादुर मानन्धरले पनि गोश्वारामै काम गर्थे । बुबालाई त्यसबखत भद्रपुर दौडाहामा पठाइएछ, विराटनगरबाट । उतिबेला रुपैयाँको चलन थिएन । रुपैयाँ बराबर एक मुरीजस्तो पाइन्थ्यो रे । दौडाहामा गएका बेला पैसा खाएको होइन, घुस खाएको भनेपछि जागिरबाटै हटाइयो । त्यसपछि बुबा भोजपुर फर्किए ।
घुस काण्ड लागेपछि बज्यैले बुबालाई नेपाल काठमाडौँ ल्याइछन् । त्यतिबेला काठमाडौँ, टुँडिखेलमा अन्याय परेकाले राणा शासकसामु बिन्ती बिसाउन पाउँथे रे । बज्यैले मेरो छोरालाई अन्याय पर्यो भनेर चन्द्रशमशेरसामु बिन्ती बिसाइछन् । त्यसपछि कानुनी कारबाही भएर मुद्दा सल्टियो । पछि बुबा पशुपति गोश्वारामा मुखिया भए । चन्द्रशमशेरलाई घटनाको रिपोर्ट गर्ने बिच्छी बाजेको सहायकजस्तो भएर बुबाले काम गर्दै आएका थिए । पशुपति गोश्वारामै कार्यरत हुँदा भद्रपुर घटनाका कारण जागिरबाट हात धुनुपर्यो । बिच्छी बाजेलाई त मैले पनि पछि भेटेको हुँ ।
चन्द्रशमशेरलाई अंग्रेजी सिकाउने बंगाली गुरु वटुबाबुको चाकरीदार भएकाले मेरा दाजु रामबहादुर र साइँला नारायण श्रेष्ठको संगतकै कारण बुबालाई बाजेको नाममा चुरोटको ठेक्का मिल्यो । एकातिर बाजे हुलाकको जागिर, अर्कोतिर घन्टामार चुरोटको ठेक्का पाएपछि भोजपुरमा हाम्रो रवाफ बढ्यो ।
काठमाडौँमा त्यसबखत बिफर आएछ । बिफरग्रस्त भएपछि साइँला छोरा नारायणको मृत्यु भयो ।
मेरा बुबा ज्योतिष, कानुन सबै विषयका ज्ञाता थिए । जागिर खोसुवामा परेपछि बिच्छी बाजेले ‘तँजस्तै जान्ने मान्छे ल्याइदे न’ भनेछन् । बुबाले पशुपतिप्रसाद कोइरालालाई सिफारिस गरेपछि पशुपति गोश्वाराका जागिरे भए । कोइराला पछि गएर सर्वोच्च अदालत जाहेरी विभागका न्यायाधीशसमेत बने ।
००६ तिर हामी सबै विराटनगर गएपछि सँगै काम गरेका साथीकहाँ बुबाले काठको क्युबिक फिटको हिसाब निकाल्ने कामसमेत गरे । यसरी हाम्रो पुस्तामा बराजु, बाजेदेखि, बुबासम्मले हुलाकमै सेवा गरे ।
(प्रधान कानुन मन्त्रालयका सहसचिव तथा पूर्वजिल्ला न्यायाधीश हुन् ।)
प्रस्तुतिः गोकुल अर्याल
https://nepalmag.com.np/history/2020/03/01/1583052081 बाट साभार