ओखलढुंगा, ९ असार । राहत बाँड्ने निहुँ पारेर जिल्लाको लिखु गाउँपालिकामा नेकपा एमालेले पार्टीको प्रचार गरेको पाइएको छ । मंगलबार कोरोना संक्रमितको घरघरमा पुगेर राहत बाड्ने निहुँ बनाएर एमालेले एमाले अंकित झोला दिएर पार्टीको प्रचार गरेको पाइएको हो ।
नेकपा एमाले ओखलढुंगा लिखु गाउँपालिका काठमाडौँ सम्पर्क मञ्च उल्लिखित झोलामा पार्टीको चुनाव चिन्ह समेत छ । 'दीर्घ जीवन र सु स्वास्थ्यको कामना, आत्मियतासहित मायाको झोला' भन्ने स्लोगन राखेर एमालेका केपी पक्षका नेता कार्यकर्ताले पार्टीको प्रचार गरेका हुन् । उनीहरुले लिखु गाउँपालिका वडा नं १, २ र ३ नं वडाका कोरोना संक्रमितका घरमा पुगेर पार्टीको प्रचार गरेका थिए । सो अभियानमा एमालेका नेताहरु नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी, सुरेन्द्र वोगटी लगायतका नेताहरु सहभागी थिए ।
ओखलढुंगाखबरलाई प्राप्त फोटोमा झोलाभित्र नुन, केराउ, साबुन, च्यावनप्रासलगायतका वस्तु देखिएको छ । ती वस्तुहरु विभिन्न दाताहरुबाट रकम उठाएर एमालेले आफ्नो नाममा वितरण गरेको एक स्थानीयले आरोप लगाए । 'राहत दिने नै हो भने स्वच्छ मनले दिँदा केही फरक पर्दैनथियो,' ती स्थानीयले भने, 'अरुबाट उठाएको पैसाले पार्टीको प्रचार गरेर दिएकोमा हाम्रो आपत्ति हो ।'
राहतमा एमालेको प्रचार शैलीलाई अहिले लिखुका स्थानीयले व्यापक विरोध जनाइरहेका छन् । 'लिखुमा एमालेकै सरकार छ, पीडितलाई समस्यै भयो भने उसले दिने हो,' स्थानीय मोहन कार्कीले भने, 'राहतको नाममा राजनीति गर्न पाइँदैन भनेर हामीले विरोध गरेका छौँ ।'
लिखु गाउँपालिका वडा नं १ का वडाध्यक्ष कुमार सुवेदीले वडासँग कुनै समन्वय नै गरी राहत बाँडिएको बताए । एमाले नेता सुरेन्द्र बोगटीले भने आफू सो अभियानमा सहभागी नभएको जिकिर गरे । उनले केही राहत सामग्री गाउँपालिकामा बुझाइएको दावी गरे ।