ओखलढुंगा, ९ असार । जिल्लाको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले आफूले सम्हालेको सिद्धिचरण नगरपालिकाले लोकतान्त्रिक अभ्यास गरिरहेको ठोकुवा गरेका छन् । उनले आज आगामी आर्थिक वर्षको राजश्व र व्यय कार्यक्रम तर्जुमा सम्बन्धी सरोकारवालाहरुसँगको राय परामर्श कार्यक्रममा बोल्दै त्यस्तो ठोकुवा गरेका हुन् ।
'हामीले नगरपालिकाको विकास बजेटको लगभग ६० प्रतिशत वडामै छलफल गरेर वडाको आवश्यकतालाई सम्बोधन हुने किसिमले खर्च गर्ने पद्धतिको विकास गरेका छौँ,' मेयर श्रेष्ठले भने, 'र अहिले त्यो पद्धति निरन्तर चलिरहेको छ ।'
उनले सिंहदरबारको अधिकार घरघरमा आएको भनिरहँदा सिद्धिचरण नगरपालिकाले लोकतान्त्रिक अभ्यास गरिरहेको बताए । 'भोलि सिद्धिचरण नगरपालिकामा के हुन्छ हामी भन्न सक्दैनौँ,' उनले भने ।
उनले जनताका चाहना सानातिना योजनामा हुने भएकाले आगामी आर्थिक वर्षमा त्यस्ता क्षेत्रमा समेत सम्बोधन हुने उनको भनाई थियो । उनले देखिने विकासमा समेत नगरपालिकाले ध्यान दिने संकेत गरे । 'देखिने किसिमको कार्यक्रम कसरी ल्याउने भन्नेमै हाम्रो ध्यान छ,' मेयर श्रेष्ठले भने, 'तर सबै कटौती गर्दा ७६ करोड बजेटमा विकास बजेट १४-१५ करोड मात्रै हुन्छ ।'
उनले समपुरक अनुदानमा २० देखि ३० प्रतिशत बजेट खर्च हुने गरेको बताए । 'कार्यक्रम नल्याउँ ठूला योजना छन्,' उनले भने, 'ल्याउँ हाम्रो कुल बजेटको ३० प्रतिशतसम्म नगरपालिकाको दायित्व हुन्छ ।'
उनले ठूला योजनाको रुपमा रुम्जाटार स्मार्ट सिटी, स्रष्टापार्क संरचना निर्माण लगायतका योजना हुने बताए ।
यस्तै उपमेयर इच्छाकुमारी गुरुङले सिद्धिचरणका जनप्रतिनिधिका बितेका वर्ष उपलब्धिमूलक रहेको बताइन् । 'विकास हेर्न टाढा जानै पर्दैन, यही नगरपालिका वरपर हेरे पुग्छ' उनले भनिन्, 'हिजो कस्तो थियो र अहिले कस्तो छ भनेर ।'