ओखलढुंगा, २२ असार । ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटारको भेन्टिलेटर र आईसीयु बेड खरिदमा रहस्यमय ढिलाइ भइरहेको छ । छिटो प्रक्रियाबाट काम थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको एक महिना बितिसक्दा समेत जिल्ला अस्पतालमा भेन्टिलेटर र आईसीयु बेड जडान गरिएको छैन ।
मन्त्रालयले २ वटा भेन्टिलेटरसहित ५ वटा आईसीयु बेड जडानका लागि एक महिना अघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो । भेन्टिलेटर र आईसीयु बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत अगाडि बढेको छैन ।
जिल्ला अस्पताल रुम्जाटारका सूचना अधिकारी उमा गुरुङले मन्त्रालयले अस्पताललाई बजेट नपठाएका कारण खरिद प्रक्रिया अगाडि नबढेको बताइन् । कोरोना महामारीलाई लक्षित गरेर भेन्टिलेटर र आईसीयु बेड तत्काल खरिद गर्नुपर्ने भए पनि अन्योलका कारण ढिलाई भएको गुरुङको भनाई छ ।
महामारी सकिएपछि भेन्टिलेटर र आईसीयु बेड ?
बजेट अन्योलका कारण हालसम्म खरिद प्रक्रिया अगाडि नबढेको भए पनि आजभोलि नै त्यसको निकास निस्कने सूचना अधिकारी गुरुङको दावी छ । उनले भेन्टिलेटर र आईसीयु कोरोनालाई मात्रै नभएर अन्य विरामीलाई समेत प्रयोग गर्न सकिने बताइन् । अस्पतालले भेन्टिलेटर र आईसीयु बेड खरिदको काम भदौसम्ममा गर्नका लागि मन्त्रालयबाट आदेश आएको जनाएको छ ।
मन्त्रालयले तत्काल भेन्टिलेटर जडान गर्न दिएको निर्देशनपछि ओखलढुंगामा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ । जिल्लामै भेन्टिलेटर हुने हो भने कोरोनाबाट गम्भीर भएका विरामीलाई बचाउन सकिने सिद्धिचरण नगरपालिका ११ का चित्र श्रेष्ठले बताए ।
अहिले महामारीको बेलामा पनि भेन्टिलेटर नराखेर कहिले राख्ने भन्ने प्रश्न नागरिक तहमै उठ्न थालेको छ । 'यस्तो महामारीको समयमा भेन्टिलेटर नराखेर कहिले राख्ने हो ?' सामाजिक अभियन्ता दिनेशकुमार मगरले प्रश्न गरे । यतिबेला जिल्लाका आधा दर्जनभन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।
भेन्टिलेटर नहुँदा पीडितहरु महँगो शुल्कमा हेलिकोप्टर चार्टर गरेर राजधानीलगायतका ठाउँमा उपचारका लागि जान बाध्य छन् । जिल्लामै भेन्टिलेटर हुँदा विरामीहरुको मनोबल समेत बढ्ने तर्क चिकित्सकहरुको छ ।
भेन्टिलेटर राख्ने पूर्वाधार छैन
भेन्टिलेटर र आईसीयु बेड खरिद गरिए पनि पूर्वाधार नहुँदा तत्काल सञ्चालन गर्न समस्या हुने सूचना अधिकारी गुरुङले बताइन् । 'भेन्टिलेटरका लागि उपयुक्त कोठाहरु हुनुपर्ने, प्रेसर मिलाउनुपर्ने रहेछ,' उनले भनिन् ।
भेन्टिलेटर र आईसीयु बेडका लागि मन्त्रालयले गरेको परिपत्र राखेर जिल्लाका नेताहरुले जस लिन यसअघि तँछाडमछाँड गरेका थिए । ओखलढुंगा सामुदायिक अस्पतालमा जडान गर्न दिइएको निर्देशन रातारात परिवर्तन गरेर जिल्ला अस्पताल रुम्जाटार बनाइएको थियो । तर अहिले रहस्यमय ढंगले भेन्टिलेटर र आईसीयु बेड खरिदमा ढिलाइ हुँदा सबै चुपचाप छन् ।