ओखलढुंगा । विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगितामा विश्वभरिका १ सय १९ जना सहभागी भएर कोङकोङमा बजाएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको केन्द्रिय समितिले प्रतियोगिता आयोजना गरेको थियो ।
बिहिबार सम्पन्न प्रतियोगिताको फाइनलमा भने कमल गाउँपालिका ६, झापाका बलबहादुर राइ प्रथम भए । दिक्तल मझुवागढी नगरपालिका १२ खोटाङकी पम्फा राई उपविजेता बनिन् । त्यसैगरि मानेभन्ज्याङ गाउँपालिका ३ उँबु ओखलढुंगाकी जीतुमाया राईले तेश्रो स्थान प्राप्त गरिन् ।
चौथो स्थान कमल गाउँपालिका ५ झापाकी मनकुमारी राईले ल्याइन् । उनीहरुले क्रमशः १६, १०, ८ र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाए । त्यसैगरि सहभागी मध्येकी जन्तेढुंगा गापा ६ ओडाले खोटाङकी ९५ वर्षिया विष्णुमाया राई र हलेसीतुवाचुङ नपा ५ खोटाङकी ९२ वर्षिया देशलक्ष्मी राईलाई सम्मान स्वरुप जनही ५ हजारको दरले सम्मान गरिएको किरात राई सांस्कृतिक कलाकार संघको केन्द्रिय अध्यक्ष रामकर राईले बताए ।
अनलाईनकै माध्यमबाट गरिएको प्रतियोगितामा तीन चरणमा छनौट गरिएको थियो । पहिलो चरणमा १ सय १९ जना सहभागी भए । त्यसमध्येबाट ५५ जनालाई छनौट गरियो । ५५ जनाबाट उत्कृष्ट २० जना छनौट गरियो । २० जनाबाट विजेता छनौट गरिएको हो ।
प्रतियोगिताको निर्णायकका रुपमा पार्वती राई, राजु एन राई र जितेन राई रहेका थिए । किराती समुदायमा कोङकोङमा भनेर चिनिने बिनायो प्रतियोगिता लोपोन्मुख पुर्खाको नासोलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
त्यसैगरि यो बाजालाई प्रवद्र्धन गर्दै दस्तावेजीकरण गरि विश्वमा चिनाउनु, किराती समुदायको सभ्यतासँग जोडिएको र यो नेपालको मौलिक बाजा भएकोले प्याटेन्ट राईटको अधिकारको लागि समेत विश्वमा पु¥याउन यो प्रतियोगिता महत्वपूर्ण हुने आयोजकको दाबी छ ।
प्रतियोगिताबाट यो बाजा बजाउने उमेर समूह पत्ता लगाउन र बाजाको धुनलाई संकलन गर्न पनि सहज भएको किरात राई सांस्कृतिक कलाकार संघको केन्द्रिय अध्यक्ष रामकर राईले बताए । प्रतियोगिता खुल्ला भएकोले किराती समुदायका मात्र नभएर खस आर्य मुलका सहभागीहरु समेत सहभागी भएका थिए ।