काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आठजना विज्ञले १८ बुँदे सुझाव दिएका छन् । तेस्रो लहरको जोखिम रहेको भन्दै उनीहरुले पूर्वतयारीका लागि सुझाव दिएका हुन् ।
विज्ञहरुले योग्य व्यक्तिले मात्रै अहिलेको महामारीसँग लड्न सक्ने भन्दै काम गर्नसक्ने मान्छेलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न सुझाव दिएका हुन् ।
स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न समेत उनीहरुले सुझाएका छन् । अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाव छ ।
अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न सुझाव दिएका छन् । यस्तै, उनीहरुको सुझावमा राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ ।
मागपत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन् ।
अस्थायी कोभिड अस्पतालको अवस्था छोटो अवधिको र प्रभावकारी बनाउनका साथै केहि सरकारी र केही निजी अस्पताललाई प्राथमिकतामा राखेर व्यवस्थापन गर्न भनिएको छ ।