ओखलढुंगा, २८ साउन । सोलुखुम्बु र ओखलढुंगा जिल्लामा दीगो विद्युतीकरण गर्ने र यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ निर्माण थालिएको सोलु करिडोर १३२ केभी प्रशारण लाइन आयोजनाले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा ग्रामीण विद्युतीकरण गरिरहेको छ । ७७ करोड लागतमा थालिएको विद्युतीरण अहिले अन्तिम चरणमा पुगेको छ ।
सोलु करिडोर ग्रामीण विद्युतीकरण आयोजनामार्फत् उदयपुरको लेखानी तथा घुर्मी क्षेत्र, ओखलढुंगाको ठाडे, टोड्के तथा मानेभञ्ज्याङ गाउँपालिकाका सबैजसो क्षेत्र र सोलुखुम्बु जिल्लाको मुक्ली, देउसा, काँगेल, सल्यान, नेचा, केरुङ, बाघम, लाखोप, टाप्टिङ, गोराखानीलगायतको क्षेत्रमा ग्रामीण विद्युतीकरणको काम भइरहेको छ । आयोजनाको पहिलो प्याकेज सोलुखुम्बु जिल्लामा ५० प्रतिशत् काम सम्पन्न भएको छ भने दोस्रो प्याकेज उदयपुर र ओखलढुंगातर्फ ८० प्रतिशतभन्दा माथि काम भइसकेको सोलु करिडोर ग्रामीण विद्युतीकरण आयोजनाका इलेक्ट्रिकल सुपरभाइजर दीपक राईले बताए ।
यो आयोजनाको दुवै प्याकेजको ठेक्का सिग्माकोन एण्ड मैनावती जेभीले गरिरहेको छ । कम्पनीले धेरैजसो क्षेत्रमा काम सम्पन्न गर्ने चरणमा छ । यद्यपि सोलुखुम्बु क्षेत्रमा भने कोरोना भाइरस र मौसमका कारण काम प्रभावित हुँदै आएको सिग्माकोन एण्ड मैनावती जेभीका साइट इन्चार्ज प्रबेज आलमले बताए । कामको अन्तिम डेटलाइन भने भदौ ५ गते रहेको छ ।
विकासका पूर्वाधारले दशकौं पछाडि धकेलिएका कुना कन्दराका गाउँमा बत्ती बलेपछि स्थानीय खुसीले गद्गद् छन् । 'सोलु करिडोर थिएन भने हाम्रो गाउँमा बिजुली निकै पछि मात्रै बल्थ्यो,' मानेभञ्ज्याङ गाउँपालिकास्थित तल्लो रिचुवाका स्थानीय मेकबहादुर राईले भने, 'अहिले आयोजनाका कारण बत्ती बल्न थाल्यो हामी खुसी छौँ ।'
आयोजनाले गाउँगाउँमै ट्रान्सफर्मर र घरघरमै प्रशारण लाइन जोडिदिएको छ । यो आयोजनाबाट करिब १० हजार घरधुरी लाभान्वित हुने आयोजनाले जनाएको छ ।