ओखलढुंगा, ३० साउन । न वरपर पानीको मुहान, न नजिकै खोला । सिद्धिचरण नगरपालिका १ तलुवाको कोशेलीचौर गाउँभन्दा झण्डै ४ किलोमिटर तल दूधकोशी नदी बहिरहेको छ ।
तर गरे के हुँदैन भन्ने उखान यथार्थमा परिणत गर्दैछन् स्थानीय पद्मबहादुर श्रेष्ठ । पानीको स्रोत नभएको गाउँमा धान रोपाइँ असम्भव नै हो । उनी भने यही गाउँमा धान रोपाइँ गरेर मजाले जीविका धानिरहेका छन् । त्यो पनि वार्षिक १६ मुरी धान फलाएर ।
केही दिन अघि ओखलढुंगाखबर टीम सो क्षेत्रमा पुग्दा पद्मबहादुर धानबाली स्याहारिरहेका थिए । 'यसपालि मकै ढीला पाकिदियो, त्यसैले समयमै धान रोप्न पाइएको छैन,' पद्मबहादुर भन्दै थिए, 'अब मकै झिकेर बाँकी ठाउँमा धान रोपाइँ गर्नुछ ।'
पानीको स्रोत नभएको सो क्षेत्रमा पदमबहादुरले वर्षाको भेल छोप्ने गरेका छन् । भेललाई संकलन गरेर उनले निर्माण गरेका ५ वटा ठूला आकारका प्लाष्टिक पोखरीमा खन्याउँछन् । त्यसैबाट उनी धान रोपाइँ र धानमा सिँचाइ गर्दै आएका छन् ।
सामाजिक अभियन्ताको रुपमा समेत काम गरिरहेका पद्मबहादुरले सुरुमा स्थानीय किसानलाई हौसला दिन आफूले पनि प्लाष्टिक पोखरी खनेको बताउँछन् । 'सुख्खाग्रस्त क्षेत्रमा तरकारी गहुँ लगाउन प्लाष्टिक पोखरी खन्नुपर्छ भनेर मैले पनि खनेको थिएँ,' उनी भन्छन्, 'पछि विस्तारै धान खेती गर्ने सोच आयो ।'
उनले आफ्नो बारीलाई ट्याक्टर लगाएर खेतमा परिणत गरेका हुन् । उनले पानी नसुकोस् भनेर ठूला ठूला आकारका खेत बनाएका छन् । जसले गर्दा भल छोपेको पानी खेतमै जम्मा गर्न पनि सहज भएको उनी सुनाउँछन् ।
पद्मबहादुरले घरको छानाको पानी समेत संकलन गरेर खेतमा पठाउने गरेका छन् । भाडाकुँडा माझेको पानी समेत सीधै खेतमा जाने व्यवस्था मिलाएका छन् । पदमबहादुरको सिको गर्दै अहिले आधा दर्जन स्थानीय अरु किसानले समेत धान खेती गरिरहेका छन् ।
पद्मबहादुरले धान खेतीका अलवा तरकारी बाली समेत लगाइरहेका छन् । उनी सुख्खाग्रस्त क्षेत्रमा मनग्गे तरकारी फलाउन सकिन्छ भन्ने उदाहरण समेत बनेका छन् ।
पद्मबहादुरको रहर गाउँभन्दा माथि ६० मिटर लम्बाइ र २० मिटर चौडाइ आकारको ठूलो रिचार्ज पोखरी निर्माण गरेर पानी जम्मा गर्ने छ । सो पोखरीबाट सुख्खाग्रस्त सो क्षेत्रलाई हराभरा बनाउने उनको योजना छ । उनी गाउँका अरु किसानलाई समेत प्लाष्टिक पोखरी निर्माण गरेर खेती गर्न सुझाउँदै आएका छन् ।