ओखलढुंगा, २ भदौ । नापी विभागले चालु आर्थिक वर्षभित्र ओखलढुंगासहित देशका ४० स्थानबाट अनलाइन प्रणालीमा नक्सा वितरण प्रणाली सेवा सञ्चालनमा ल्याउने भएको छ । यसका लागि विभागअन्तर्गतका कार्यालयमा सेवा सञ्चालनमा ल्याउन तयारीमा जुटेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए ।
विभागले गत आर्थिक वर्षमा १० स्थानबाट यस्तो सेवा सुरु गरिसकेको छ । उपत्यकाका डिल्लीबजार, कलंकी, चाबहिल, मनमैंजु, टोखा, साँखु, ललितपुर, भक्तपुर, चितवन र रसुवास्थित नापी कार्यालयबाट यो सेवा सञ्चालनमा आइसकेको उनले बताए । विभागले बाँकी ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, बेलबारी, मोरङ, धनुषा, झापा, दमक, तनहुँ, भैरहवा, बुटवल, गुल्मी, रोल्पा, धनगढी, काभ्रे, पर्वत, बाँके, सुर्खेत, जाजरकोट, मनाङ, कञ्चनपुर, दोलखा, सुनसरीको इनरुवा र धरान, पाल्पाको तानसेन, सिन्धुपाल्चोकको चौतरा, कास्कीको लेखनाथ, स्याङ्जा र स्याङ्जाको वालिङस्थित नापी कार्यालयबाट यस्तो सेवा सुरु गर्ने तयारी गरिरहेको हो । ‘ती कार्यालयको डेटा र पूर्वाधारको अवस्था हेरेर काम अगाडि बढाउँछौं,’ ढकालले भने, ‘कुनै एक कार्यालयमा समस्या देखिए अर्को कार्यालयमा सेवा सञ्चालन गर्ने तयारी छ ।’
आर्थिक वर्ष २०७८/७९ को बजेटमा कित्ता नक्सा, फिल्ड बुक र प्लट रजिस्टरसम्बन्धी सेवा विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने ‘मेरो कित्ता’ प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने उल्लेख छ । विभिन्न जिल्लाका ४० कार्यालयमा भू–सूचना प्रणाली विस्तार गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
‘हामीले ३० वटा कार्यालयमा यस्तो सुवा सुरु गर्ने भनेका थियौं,’ उनले भने, ‘बजेटमा ४० वटा कार्यालयमा सुरु गर्ने भनेर आएकाले स्रोत व्यवस्थापनका लागि अनुरोध गरेका छौं । त्यहीअनुसार काम अघि बढाइरहेका छौं ।’ व्यक्तिगत सम्पत्ति जस्तो विषय भएकाले यसको गोपनीयतामा समेत विभागले काम गर्नुपर्ने उनको भनाइ छ । सेवाग्राहीलाई अनलाइनमा आवदेन दिएलगत्तै काम हुने भनिएको छ । यो सबैतिरबाट कारोबार गर्न योग्य भएपछि मात्र काम अघि बढ्ने सेवा भएको उनले सुनाए ।
‘सेवा प्रवाहमा सरलीकृत गर्न ऐन, नियम बाधा पार्छ जस्तो लाग्दैन । सुशासन र विद्युतीय कारोबारसम्बन्धी ऐन छन्,’ उनले भने, ‘हामीले निर्देशिकासम्बन्धी तयारी गरिसकेका हौं । त्यसमा कसरी काम सम्पादन गर्ने सम्बन्धमा काम गर्ने समूह बनाएका छौं ।’ निषेधाज्ञा अवधिभरको बाहेक हालसम्म ७ सय १० जनाले यो सेवा लिइसकेको विभागले जानकारी दिएको छ । ‘मेरो कित्ता’ र नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम (नेलिस) अनलाइन प्रणालीमा आधारित सेवा हो । नापनक्सा कार्यबाट संकलित विवरण प्रयोगद्वारा जग्गा दर्ता तथा नक्सा अद्यावधिक गरी सेवा प्रवाह गर्ने प्रणाली हो, नेलिस ।
कान्तिपुरबाट