ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संविधान सबैका लागि बराबरी भएको बताएका छन् ।
नेपाल शेर्पा संघले मंगलबार ओखलढुंगामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले शेर्पा समुदायले आफ्नो चाढपर्वका मनाउने बेला मागेको सार्वजनिक विदा दिनुपर्ने बताए ।
‘कसैलाई जन्मुदिनको केक काट्न सार्वजनिक विदा दिइन्छ’, उनले भने, ‘जन्मदिन मनाउन सार्वजनिक विदा दिने । शेर्पा समुदायलाई आफ्नो पर्व मनाउन विदा नदिने । शेर्पा समुदायमाथि अन्याय भएको छ ।’
‘शेर्पा समुदायले विदा माग्दा नदिने यो त अन्याय भयो । भुरुरु उडेर जानेका लागि विदा दिने’, उनले भने, ‘हामीले अर्को राजा जन्माउन थालेको हो कि भन्ने भयो । अहिले धेरै राजारानी देखिन थालेका छन् । हेलिकप्टर उडेर जानेलाई मात्रै सार्वजनिक विवाद दिने हो भने सिंहदरबारको अधिकार गाउँमा अहिलेसम्म आएको रहेन छ भन्ने बुझ्नुपर्छ ।’
खतिवडाले भने, ‘सबै जातजातिले संविधानको अधिकार र सिंहदरबारको अधिकारको अनुभूति गर्न पाउनुपर्छ ।’
खतिवडाले भने, ‘म शेर्पा समुदायमा जन्मिएको होइन । तपाईहरूलाई मेरो साथ र समर्थन छ ।’
युवा नेता खतिवडाले ओखलढुंगाको विकासमा सहकार्य गरेर एकभई अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए ।
‘हामीलाई विकासका लागि लिखु नदीले छुट्टाउन सक्दैन’, उनले भने, ‘विकास गर्न जातजाति वा राजनीतिक पूर्वाग्रह नभएर काम गर्नुपर्छ ।’
‘निर्वाचनमा बोलेका कुरा निर्वाचन जितेर गएपछि भुल्ने काम भएको छ’, उनले भने, ‘मैले जिते पनि नजिते पनि मबाट भाग्ने काम हुँदैन ।’ खतिवडाले आफू पराजित भए पनि सक्ने काम गर्ने जनाए ।
सत्तामा रहेका केही शीर्ष नेताहरूलाई लक्षित गरेर खतिवडाले भने, ‘लिम्बु, खुम्बु, नेवार, शेर्पालगायतलाई देख्नेवित्तिकै राज्य दिन्छु भनेर जित्ने । जितेर सत्तामा पुगेपछि मेरो जिजुबुबाले आर्जको मुलुक भनेर अधिकार कब्जा गरेर बस्ने । यो परम्परा अत्यन्तै गलत छ ।’
नेपाली कांग्रेसका नेता खतिवडाले नेपाललाई चिनाउन शेर्पा समुदायको ठूलो भूमिका रहेको बताए । ‘गौतम बुद्ध र सगरमाथाले नेपाल चिनाउँछ’, उनले भने, ‘गौतम बुद्ध र सगरमाथा चिनाउने जात भनेको शेर्पा हो ।’
नेपाल शेर्पा संघका अध्यक्ष ग्यालजे शर्पाले सरकारले आफूहरूलाई ठूलो अन्याय गरेको बताएका छन् । उनले संविधानले दिएको अधिकारलाई पनि सरकारले कटौती गरिदिएको भन्दै गुनासो गरे भन्ने समाचार रिपब्लिका दैनिकमा प्रकाशित छ ।