ओखलढुंगा, असोज १९ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले मंगलबार मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गतका बजार क्षेत्रको अनुगमन गरेको छ । मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी प्रतिमा ढकालको संयोजकत्वमा यस क्षेत्रका प्रमुख बजार केत्तुके र मानेभञ्ज्याङका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको हो ।
उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा प्रदेश बजार अनुगमन नियमावली २०७६ बमोजिम जिल्ला स्थित बजारक्षेत्रको अनुगमन गरेको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । अनुगमनामा खाद्यन्न पसल , किराना पसल तथा फलफुल पसल सहितका पसल ब्यवसायको अनुगमन गरिएका हुन् । केत्तुके लगायत मानेभञ्ज्याङ बजार क्षेत्रका १९ वटा पसल व्यबसायको अनुगमनमा अधिकाशं पसलमा मुल्य सुचि टाँस नगरेको, बिना दर्ता सञ्चालन भएको, म्याद गुज्रेको सामान भेटिएको, विल भरपाइ नभएको र स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ । १९ वटा पसल व्यवसायबाट म्याद गुज्रेको चिसो पेय पर्दाथ, बिस्कुट, मसला, दालमोठ, चिजबल बरामद गरिएको छ ।
अनुगमनकै क्रममा कम तौलका खुद्रा चिनीका पोका, दाल लगायत तेलजन्य उपभोग्य सामाग्री समेत बरामत गरेका छन् । अनुगमनको क्रममा किराना पसलहरुमा स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएकोले सबैलाई स्वस्थ्य मापदण्ड पालना गर्न साथै सोच्छ र स्वास्थ्याकर खाद्यान्य बिक्री वितरण गर्न निर्देशन समेत दिईएको छ ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी प्रतिमा ढकाल, मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार शाह, सहायक अधिकृत फडिन्द्र कटवाल, प्रशासन कार्यालयका नायब सुब्बा टंक रम्तेल, प्रहरी नायब निरीक्षक पदमबहादुर खड्का, नेपाल पत्रकार महासंघ ओखलढुंगाका प्रतिनिधि कुलबहादुर तामाङलगायत रहेका थिए ।