ओखलढुंगा, १३ कात्तिक । ओखलढुंगा कांग्रेसको आसन्न १४औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । आगामी मंसिर ६ गते जिल्ला अधिवेशन हुने निश्चित भएसँगै अधिवेशनको सरगर्मी बढेको हो ।
अधिवेशनका लागि तेजन खनाल (तेजेन्द्र) सभापति रहेको प्यानलले उम्मेदवार घोषणा गरेको छ । प्यानलको उपसभापतिमा नवराज केसी र भूपेन्द्र बस्नेत, सचिवमा अजय लुइटेल र राजकुमार ढुंगाना रहेका छन् । यस्तै सह सचिवमा प्रदीप बानियाँ र भोजकुमार श्रेष्ठ छन् ।
सभापति उम्मेदवार तेजेन्द्र खनाल हालका उपसभापित हुन् । उनी २०४६ सालको जनआन्दोलनपश्चात नेविसंघको जिल्ला सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका थिए । उनी नेविसंघ तहाचाल क्याम्पस अध्यक्ष, नेविसंघ सगरमाथा अञ्चल काठमाडौँ सम्पर्क समितिका सचिव, नेविसंघ जिल्ला अध्यक्ष, लगातार २ कार्यकाल नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य तथा जिल्ला सचिव समेत भइसकेका छन् । उनले ओखलढुंगामा कार्यकर्ता र जनतामाझ इमान्दार नेताको छवि बनाएका छन् । खनाल नेपाली कांग्रेस ओखलढुंगाका तत्कालीन समयमा बलबहादुर राईका नजिक मानिएका बौद्धिक तथा पुराना नेता भोजराज खनालका जेठो छोरा हुन् ।
उपसभापति उम्मेदवार नवराज केसी नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य, जिल्ला कोषाध्यक्ष, जिल्ला सचिव, महाधिवेशन प्रतिनिधि हुँदै हाल ओखलढुंगा कांग्रेसका जिल्ला सचिव हुन् । उनी चम्पादेवी गाउँपालिकाका अध्यक्ष समेत हुन् । उनी निडर र हक्की स्वभावका नेताको रुपमा परिचित छन् । उनी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।
उपसभापतिका अर्का उम्मेदवार भुपेन्द्र बस्नेत नेपाल तरुण दल ओखलढुंगाको केन्द्रीय पार्षद्, जिल्ला अध्यक्ष हुँदै २०६२ सालयता निरन्तर कांग्रेसको जिल्ला सदस्य छन् । उनी नेपाली कांग्रेस खिजीदेम्बा गाउँपालिका संयोजक समेत हुन् । बस्नेत हाल खिजीदेम्बा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हुन् । उनी पश्चिमी भूगोलका लोकप्रिय नेताका रुपमा गनिन्छन् ।
सचिवका उम्मेदवार अजय लुइटेल २०५० सालबाट नेविसंघबाट राजनीतिमा उदाएका हुन् । उनी नेविसंघ ज्ञानप्रकाश इकाइ सभापति, २०५१ सालको नेविसंघ क्षेत्र नं २ को उपसभापति, ओखलढुंगा काठमाडौँ सम्पर्क समितिको उपसभापति हुँदै २०६६ सालयता लगातार रुपमा नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य रहेका छन् । उनी चम्पादेवी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष समेत हुन् । उनले कांग्रेसको मुखपत्रको रुपमा सगरमाथा साप्ताहिकको एक दशक लामो समय प्रकाशन/सम्पादनको काम गरेका थिए । उनी प्राइम टाइम टेलिभिजनको बहस कांग्रेस महाधिवेशनको प्रस्तोता समेत हुन् । लुइटेल युवा कृषि उद्यमी समेत रहेका छन् । उनी पश्चिमी भूगोलमा भिजेका नेताका रुपमा चिनिन्छन् ।
यस्तै सचिव पदका उम्मेदवार राजकुमार ढुंगाना पशुपति बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुँदै इकाइ उपसभापति, स्ववियु सचिव, उपसभापति, तरुण दल केन्द्रीय पार्षद, नेपाली कांग्रेस ओखलढुंगा १ नं क्षेत्रका क्षेत्रीय सचिव तथा हाल तेह्रौ महाधिवेशनबाट जिल्ला सदस्य हुन् । उनी नेपाली कांग्रेस ओखलढुंगाका प्रवक्ता समेत हुन् । उनी प्रखर वक्ताका रुपमा चिनिन्छन् । ढुंगानालाई २०६२/०६३ सालको जनआन्दोलनमा लोकतन्त्रको पक्षमा वकालत गर्दा राजद्रोहको मुद्दा समेत लागेको थियो ।
सहसचिवका उम्मेदवार प्रदीप बानियाँ पशुपति क्याम्पसको इकाइ सह सचिव, २ कार्यकाल नेविसंघ जिल्ला अध्यक्ष भइसकेका छन् । हालका उनी नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य हुन् । उनी मोलुङ गाउँपालिका १ को वडाध्यक्ष समेत हुन् ।
यस्तै सहसचिवकै उम्मेदवार भोजकुमार श्रेष्ठले २०५३ सालबाट प्रबुद्ध माविको नेविसंघको इकाई सह सचिव हुँदै राजनीति थालेका हुन् । उनी बरुणेश्वर उमाविको इकाइ सदस्य, ओखलढुंगा काठमाडौँ सम्पर्क समितिको सदस्य हुँदै सचिव, नेपाली कांग्रेस सुनकोसी गाउँपालिका संयोजक समेत भइसकेका छन् । श्रेष्ठ हाल नेपाली कांग्रेस शुभेच्छुक तथा समन्वय विभागको सदस्य, १३औँ अधिवेशन क्षेत्रीय प्रतिनिधि, वीपी स्मृति भवन निर्माण समिति सदस्य तथा नेपाली कांग्रेस जिल्ला सदस्य हुन् ।
आगामी अधिवेशनमा खनाल प्यानललाई जिल्लाका ८ वटै स्थानीय तहका सभापतिहरुको समेत समर्थन छ । स्रोतका अनुसार नेपाली कांग्रेस ओखलढुंगाका प्रभावशाली नेताहरुले खनाल प्यानललाई समर्थन गरेका छन् । पार्टी सभापति प्रदीपकुमार सुनुवार र कांग्रेस नेता तथा संविधानसभा सदस्य रामहरि खतिवडाको समर्थन पनि यही प्यानललाई छ ।
जिल्ला अधिवेशन देउवा पक्ष र कोइराला-पौडेल पक्षबीच प्रतिष्पर्धा हुँदैछ ।
यी हुन् अन्य उम्मेदवार
देउवा पक्षबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार टुंगो लागेको स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार रामहरि खतिवडा, प्रदीपकुमार सुनुवार, रुद्र अधिकारी, खिलानाथ दाहाल, अशोक कार्की, प्रकाश दाहाल, राजन सुवेदी, वेदबहादुर रोका, दानबहादुर बानियाँ र भीम गौतम उम्मेदवार हुन् । यस्तै महाधिवेशन प्रतिनिधि खुला महिलाका उम्मेदवार बाला अधिकारी, सविता राई, हेमालक्ष्मी राई र तारा कार्की रहेका छन् ।
सोही पक्षबाट प्रदेश क सभापतिमा सन्तोषबाबु थापा र प्रदेश ख सभापतिमा आश्राचन राई उम्मेदवार छन् ।