ओखलढुंगा, १६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले कांग्रेसमा निर्वाचित सबै तहका पदाधिकारीहरुले औँला ठड्याउन छाडेर काम गर्न थाल्नुपर्ने धारणा राखेका छन् । ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर ओखलढुंगा कांग्रेसले आयोजना गरेको नव निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सुनुवारले उक्त धारणा राखेका हुन् ।
'म धेरै औँला ठड्याउन जान्दिनँ । औँला ठड्याएर काम गर्ने मान्छे पनि होइन ।' नेता सुनुवारले भने, 'पुष्कर थापादेखि, पुरुषोत्तम पौडेलदेखि, उज्जन बुढाथोकी, गगन, विश्वप्रकाश जीवन राणा थारु, रामहरि खतिवडा हामी अब औँला ठड्याउने ठाउँमा छैनौँ ।' पुस्तान्तरण र नेतृत्व परिवर्तनको कुराले कांग्रेसमा ७० प्रतिशत युवा नेतृत्व आएकाले सजिलोसँग औँला ठड्याएर मात्रै नपुग्ने नेता सुनुवारको भनाइ थियो ।
उनले अहिलेको युवा नेतृत्व जिम्मेवार र अफ्ठ्यारो ठाउँमा रहेको बताए । 'यदि यो नेतृत्व फेल भयो भने जनताले हामीलाई प्रश्न गर्छन्,' नेता सुनुवारले भने, 'त्यसैले हामी जहाँ छौँ जिम्मेवार ठाउँमा र अफ्ठ्यारो ठाउँमा छौँ ।'
अहिलेको नेतृत्वलाई सारा नेपालीले औँला ठड्याइरहेकाले औँला भाँचेर काम गर्नुपर्ने उनको धारणा थियो । उनले आफू विजयी भएको नभइ भूमिका परिवर्तन मात्रै भएको बताए । 'मलाई यहाँसम्म ल्याउन सबै साथीहरुको योगदान छ, म तपाइँहरुको योगदानको कदर गर्छु,' नेता सुनुवारले भने ।
उनले केन्द्रीय सदस्यमा विजयी गराउने सम्पूर्ण नेता, कार्यकर्ता तथा जिल्लावासी सबैलाई धन्यवाद दिए ।