ओखलढुंगा । काठमाडौं जेसीजका नवनिर्वाचित अध्यक्ष अनुप सुनुवारले पदभार ग्रहण गरेका छन् । काठमाडौं जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी कैलाश श्रेष्ठले वर्ष २०२२ का अध्यक्ष जेसी अनुप सुनुवारलाई पदभार हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष सुनुवार ओखलढुंगाका युवा नेता हुन् । उनीसहित नवनिर्वाचित कार्य समितिलाई एक कार्यक्रमका बीच पदभार हस्तान्तरण गरिएको थियो । पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले लोकतन्त्र र सुशासन प्रबर्धनमा युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
जेसीजले युवाहरुको उद्यमशीलता र सामाजिक सेवाको भावनालाई उजागर गरेको भन्दै सिंहले राजनीतिक दलहरुले पनि युवाहरुलाई उचित भूमिका दिनुपर्ने बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौंको सांस्कृतिक पहिचान प्रबर्धनमा काठमाडौं जेसीजले महत्वपूर्ण काम गरेको बताइन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जेसीजले सामाजिक क्षेत्रको अग्रणी संस्थाको रुपमा गर्दै आएको स्मरण गराउँदै नागरिक समाजको अभिन्न अंगको रुपमा जेसीज रहेको बताए । नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेलले काठमाडौं जेसीज देशभरकै उत्कृष्ट शाखाको रुपमा सक्रिय रहदै आएकोमा धन्यवाद ज्ञापन गरिन् ।
समारोहमा काठमाडौं जेसीज वर्ष २०२२ का अध्यक्ष अनुप सुनुवारले यो वर्ष ‘परिवर्तनका लागि सँगसँगै’ भन्ने नारासहित विविध कार्यक्रम गरिने बताए । उनले युवा उद्यमशिलता, संस्कृति प्रबर्धन र सामाजिक सेवाको क्षेत्रमा आगामी वर्ष प्रभावकारी कार्ययोजनासहित काम गरिने बताए ।
समारोहमा काठमाडौं जेसीजका अभियानमा सहयोग पुर्याउने संस्था एवं व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।