ओखलढुंगा, १९ माघ । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा ओखलढुंगा सामुदायिक अस्पतालद्वारा सञ्चालित समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (सीबीआर) को समन्वयात्मक बैठक सम्पन्न भएको छ । खिजीदेम्बाको केन्द्र खिजीफलाटेस्थित वडा नं ५ को वडा कार्यालयमा बैठक आयोजना गरिएको थियो ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यक्रमबारे समीक्षा तथा अन्तक्रिया भएको थियो । कार्यक्रमले अपांगता भएका आफूजस्ता व्यक्तिहरुलाई सकारात्मक प्रभाव पारेको बैठकमा सहभागी खिजीदेम्बा गाउँपालिका ६ का स्थानीय रामकुमार तामाङले बताए ।
सीबीआर कार्यक्रम जिल्लाका खिजीदेम्बा गाउँपालिका र मोलुुङ गाउँपालिकामा सञ्चालनमा छ । कार्यक्रम लागु भएकै कारण आफ्नो जीवनमा परिवर्तन आएको अर्की सहभागी फुर्वा शेर्पाले बताइन् । ‘६ वर्षको उमेरदेखि म ओछ्यान परेकी थिएँ, हिँड्डुल गर्न र खान समेत सक्दिन’थेँ,’ फुर्वाले भनिन्, ‘यो कार्यक्रम आएपछि ओखलढुंगा सामुदायिक अस्पताको सहयोगमा मेरो उपचार भयो, अहिले हिँड्डुलदेखि सबै काम गर्न सक्छु ।’
बैठकमा ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले अपांगतामैत्री जिल्ला बनाउने अभियानस्वरुप कार्यक्रम सञ्चालन भएको बताए । उनले परिवार र समाजको छायामा परेर बसेका अपांगता भएका लक्षित वर्गलाई आधार मानेर सीबीआर कार्यक्रमले काम गरिरहेको बताए ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहार रोकाले सीबीआर कार्यक्रमले प्रभावकारी काम गरिरहेको बताए । अपांगता भएका व्यक्तिहरुको उपचार र जीविकोपार्जनमा भएको सहयोग प्रसंशानीय भएको उनको भनाई थियो । अपांगता भएका व्यक्तिहरुको जीवनस्तर बदल्न खिजीदेम्बा गाउँपालिका सीबीआर कार्यक्रमसँग हातेमालो गरेर अगाडि बढिरहेको उनको भनाई थियो । कार्यक्रमलाई थप आर्थिक सहयोग आवश्यक परे गाउँपालिका सहयोग गर्न तयार रहेको उनले बताए । उनले सीबीआर कार्यक्रम सकिएपछि कार्यक्रमको स्वामित्व खिजीदेम्बा गाउँपालिको लिने र खिजीदेम्बालाई अपांगतामैत्री गाउँपालिका बताउन तयार रहेको बताए ।
खिजीदेम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले अपांगता भएका व्यक्तिहरुलाई शिक्षा र रोजगारसँग अझ बढी जोड्नुपर्ने सुझाव राखे । उनले वितरणमुखी कार्यक्रमभन्दा अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउनतर्फ बढी ध्यान दिनुपर्ने बताए । ‘एकजना व्यक्ति सक्षम बनाउन सकियो भने परिवारै सक्षम हुन्छ,’ पौडेलले भने, ‘संरक्षण दिनेलाई पहिलो प्रायोरिटी छँदैछ, अपांगता भएका व्यक्तिहरुलाई शिक्षा र रोजगारसँग जोड्न सकियो भने त्यसको प्रभाव दीर्घकालीन हुन्छ ।’
५ वर्ष अवधिको सीबीआर कार्यक्रम आगामी सन् २०२४ को डिसेम्बरसम्म चल्नेछ । यो कार्यक्रमले अपांगतामैत्री समावेशी सहभगिता र सहयोगमा अपांगता भएका व्यक्ति र अपांगता भएका परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउँदै आएको सीबीआर कार्यक्रमका कार्यक्रम संयोजक इन्द्र तामाङले बताए ।
सीबीआर कार्यक्रमले खिजीदेम्बा गाउँपालिकामा गाउपालिकाका स्वास्थ्य संस्थाका कर्मचारी र महिला स्वास्थ्य स्वयम्सेविका गरि कुल १२१ जनालाई स्वास्थ्य प्रवर्धन, प्रजनन् स्वास्थ्य, मानसिक स्वास्थ्य, अपांगता र अपांगता रोकथामका बारेमा तालिम दिएको छ । यस्तै अपांगता भएका व्यक्तिहरुको दैनिक जीवनका गतिविधि र गतिशिलतामा सुधार ल्याउनका लागि ४२ वटा अपांतामैत्री शौचालयको निर्माण, ह्विल चियरको लागि १० ठाउँमा र्याम्प बनाउने काम र अति विपन्न ११ जना अपांगता भएका व्यक्तिको आवास मर्मत कार्य गरेको सीबीआर कार्यक्रमका खिजीदेम्बा गाउँपालिका टीम लिडर प्रेम जि। सी। ले जानकारी दिए । बैठकको सञ्चालन सीबीआरका सहजकर्ता खेमप्रसाद बरालले गरेका थिए ।