ओखलढुंगा, १७ फागुन । चिशंखुुगढीको शेर्नामा दुुईजना केन्द्रीय सदस्य र एकजना प्रदेश सदस्य उतारेर ओखलढुंगा कांग्रेसले जिल्लाका सबै स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने उद्घोष गरेको छ । केन्द्रीय सदस्यहरु प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा र प्रदेश १ सदस्य सविता राईको उपस्थितिमा गरिएको जेष्ठ नागरिक सम्मान तथा अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा सो उद्घोष गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले कांग्रेस एक भएर अगाडि बढ्ने र जसरी पनि स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने बताए । उनले उम्मेदवार छनोटको अधिकार वडास्तरमै रहेकाले विना विवाद सिंगो पार्टी जिताउन एक ढिक्का भएर लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले अबको बिकल्प कांग्रेस नै भएकाले आउँदो निर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको दावी गरे । प्रदेश सदस्य राईले आउँदो निर्वाचनपछि कांग्रेसले बहुमत ल्याउने भएकाले अबको शक्ति कांग्रेस भएको बताइन् ।
कार्यक्रममा ओखलढुंगा कांग्रेसका सभापति तेजन खनाल (तेजेन्द्र), कांग्रेस नेता बालकृष्ण दाहाल, महाधिवेशन प्रतिनिधि खिलानाथ दाहाल, रुद्रप्रसाद अधिकारी, सुनिता अधिकारी, पुरुषोत्तम लुइटेल, नवीन राई, नेता टेकराज भट्टराई, भीमकुमार गौतम, जिल्ला उपाध्यक्ष कमल तामाङ, जिल्ला सचिव राजकुमार ढुंगाना, ओखलढुंगा क क्षेत्रीय सभापति सन्तोषबाबु थापालगायतको सहभागीता रहेको थियो । कार्यक्रममा दर्जनौँ स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा चिशंखुुगढी गाउँपालिका वडा नं ५ का ७५ वर्षभन्दा माथिका १ सयजना जेष्ठ नागरिकलाई सम्मान गरिएको कांग्रेसले जनाएको छ । सामाजिक र राजनीतिक रुपान्तरणका लागि जेष्ठ नागरिकले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै मार्गदर्शकका रुपमा उनीहरुलाई सम्मान गरिएको कांग्रेस चिशंखुुगढी गाउँपालिका सभापति गोपालमान थापाले जानकारी दिए ।