ओखलढुंगा, १५ चैत । गएको १३ गते नेपाली कांग्रेसको 'घरघर जाऔँ, कांग्रेस जिताऔँ' अभियानको भेला खिजीदेम्बामा चलिरहेको थियो । भेलामा नेपाली कांग्रेस ओखलढुंगाका महाधिवेशन प्रतिनिधि तथा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले आफ्ना भनाइ राखिरहेका थिए । भनाइ राख्ने क्रममा स्थानीय सरकारले गरेका राम्रा कामको बारेमा विद्यालयका छात्राहरुलाई वितरण गरिएको 'सेनिटनरी प्याड' को प्रसंग बताउँदै थिए ।
उनले 'सेनिटरी प्याड' को नाम भन्न झुक्किए । माइकलाई छलेर मञ्चमा अरुलाई सोधे । अनि भने 'सेनिटरी प्याड' ।
भएको यत्ति हो । तर त्यहाँका केही राजनीतिसँग जोडिएका व्यक्तिहरुले उनको चरित्रहत्या गर्न थाले । स्थानीय ङ्वाङनुरी शेर्पाले त झुक्किएको ठाउँको मात्रै भिडियो क्लिपमा प्रयोग भएको सेनिटरी प्याडको फोटो जोडेर फेसबुकमा शेयर गरे । चरित्रहत्या गरिएको १० सेकेन्ड लामो उक्त भिडियोमा सय भन्दा बढी लाइक र ६० भन्दा बढी कमेन्ट आएको छ । टिकटकमा लाखौँको संख्यामा उक्त भिडियो हेरिएको छ ।
आज पनि उनै ङ्वाङनुरी शेर्पाले नै गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाका छोरा सुदर्शन रोकाको चरित्रहत्यामा उत्रिए । साथीको गाडीमा चढेर बनाएको टिकटकलाई शेर्पाले गाउँपालिकाको गाडी दुरुपयोग गरेको आरोप लगाएर फेसबुक र फेसबुककै विभिन्न समूहमा शेयर गरे । 'मेरो साथीको गाडीमा चढेर बनाएको टिकटक हो, मेरो चरित्रहत्या भयो,' सुदर्शन रोकाले ओखलढुंगाखबरसँग गुनासो पोखे, 'यो गाडी गाउँपालिकाको भए प्रमाणित गरियोस्, होइन भने म सहन्नँ, कानुनी बाटो रोज्छु ।'
उनले केही प्रमाणहरुसहित फेसबुकमा समेत आफ्नो धारणा राखेका छन् । 'मेरो मात्रै नभएर नवाङनुरी शेर्पाले मेरो बुवा वेदबहादुर रोकाको पनि चरित्रहत्या गरेका छन् । यो सरासर अन्याय हो ।' उनले भने ।
शेर्पाको फेसबुक प्रोफाइललाई आधार मान्दा उनी जनता समाजवादी पार्टीका सदस्य हुन् । यसविषयमा ङ्वाङनुरीलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।