ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकालाई समृद्ध बनाउने भन्दै एक स्वतन्त्रसहित पाँच जना मैदानमा छन् । योग्यताको हिसाबमा पाँचै जना उत्कृष्ट देखिन्छन् ।
नवराज केसी निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । सफलतापुर्वक कार्यकाल सम्पन्न गरेर फेरि गाउँपालिकामा आफ्नो आवश्यता रहेको भन्दै चुनावी मैदानमा छन् ।
झलकमान तामाङ पनि जनप्रतिनिधि भएर काम गरिसकेका व्यक्ति हुन् । उनले चम्पादेवीको वडा ५ मा महत्वपुर्ण काम गरेका छन् । उनी वौद्धिक र युथ भिजन भएका व्यक्तिमा परिचित छन् ।
खड्ग बहादुर कार्की यसअघि नवराज केसीसँग पराजित भएका थिए । विकासवादी नेताको रुपमा परिचित उनी अघिल्लो स्थानीय चुनावमा माओवादीबाट उम्मेदवार थिए । उनी चुनावको मुखमै एमालेमा प्रवेश गरेर एमालेबाट चुनावी मैदानमा छन् । माओवादीबाट आएको केही दिनमै टिकट पाएको भन्दै एमालेमा असन्तुष्ट पक्षबाट एमालेकै खेम मिश्र पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यो अलवा नेकपा समाजवादीबाट कमल खड्का पनि पालिका अध्यक्ष बन्ने दौडिरहेका छन् । चुनावी मैदानमा उत्रिएका मध्ये कस्ले चुनाव जित्छ चासो सबैको छ । चुनाव जित्ने सबैले दाबी गरेपनि नवराज केसीले भने चुनाव जित्न सक्ने अड्कालबाजी काट्ने धेरै छन् । एमालेकै कार्यकर्ता समेत यसपाली पनि चुनाव नवराजले नै जित्ने भन्दै घरदैलोमा त्यति जाँगर चलाएका छैनन् ।
त्यसो त चम्पादेवी नेपाली कांग्रेसको बलियो पकड भएको पालिका मानिन्छ । अघिल्लो चुनावमा चम्पादेवीमा कांग्रेसका नवराज केसीले ३ हजार २ सय ४१ मत सहित विजयी हासिल गरेका थिए । एमालेबाट मैदानमा रहेका हरि घिमिरेले २ हजार ८ सय ४१ मत ल्याएका थिए भने हाल एमालेबाट मैदानमा रहेका तत्कालीन माओवादीका खड्काले १ हजार ९ सय ३९ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए ।
स्थानीय तहको चुनाव मात्रै होईन, संघीय चुनावमा पनि कांग्रेसले चम्पादेवीमा वाम गठबन्धनलाई हराएको थियो । ओखलढुंगा जिल्लामा बाम गठबन्धनले विजयी हासिल गरेपनि चम्पादेवीमा भने बाम गठबन्धनले भन्दा करिब डेढ सय बढी मत कांग्रेसले पाएको थियो । माओवादी र एमाले सँगै उभिदा समेत कांग्रेसलाई जित्न नसकेको ठाउँ चम्पादेवीमा भने नवराज केसीलाई जित्न कुनै सकस छैन ।
चम्पादेवीमा यस पटक माओवादीको लहर निकै कम छ । एमालेको लहर पनि मै पनि एमाले गीतमै सिमित देखिन्छ । किनकी, एकतिर माओवादीबाट हिजै आएर उम्मेदवार बनेपछि रुष्ट छन् अर्कोतिर उनको विकल्पमा भोट हाल्न बागी पनि छन् । त्यति मात्र कहाँ हो र, वामहरुका कतिपय मतदाता समाजवादीमा पनि गएका छन । कलममा पनि केही सय मत जाने निश्चित छ ।
यसरी कम्युनिष्टको मत चारतिर बाँडिदा नवराज केसीले १५ हजार ४७ मतदाता भएको चम्पादेवीबाट १० हजार मत झरेमा सिँधै ५० प्रतिशत मत अर्थात ५ हजार हारहारीमा मत ल्याएर जित्ने निश्चित देखिन्छ ।