ओखलढुंगा, १० असार । सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले नगरपालिकाभित्र लाग्ने कृषि हाटमा साना किसानलाई हाटकर छुट दिएका छन् । उनले आज सिद्धिचरण नगरपालिकाको १०औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
ओखलढुंगा सदरमुकाम, रुम्जाटार, निशंखेलगायतका ठाउँमा लाग्ने साप्ताहिक हाटमा हाटकर छुट भएपछि किसानले राहत पाउने भएका छन् । थोरै कृषि उपज बिक्रीका लागि पनि हाटकर अनिवार्य तिर्नुपर्ने व्यवस्था मेयर तेजेन्द्रले हटाएका हुन् । 'दुई मुठा साग बिक्री गर्न पनि कर तिर्नुपर्ने अवस्था देखियो,' मेयर खनालले भने, 'किसानको मर्का बुझेर हाटकर हटाएका हौँ ।'
यहाँका किसानले हाटमा २० रुपैयाँसम्म कर तिर्दै आएका थिए । नगरपालिकाले किसान परिचयपत्रको व्यवस्था गरेर साना किसानलाई हाटकर छुट दिने भएको हो । यस्तै नगरपालिकाले सबै वडाहरुमा २ वर्षभित्र विद्युत विस्तार गर्ने, ३ वर्षभित्र सबै क्षेत्रमा खानेपानी पुर्याउने र सामाजिक सुरक्षा भत्तालाई बैंकसँगको सहकार्यमा गाउँमै वितरण गर्ने विषय पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा उठाएको छ ।
मेयर तेजेन्द्रले नगरभित्रका सडकहरुलाई बाह्रै महिना संञ्चालन गर्ने, नगरमा सव बाहन सञ्चालन गर्ने, गुणस्तरीय शिक्षा तथा सबै नगरवासी नागरिकलाई स्वास्थ सेवा पुर्याउने, बाल बिकाश शिक्षिका र विद्यायल कार्यलय सहयोगीको तलब वृद्धि गर्ने, कृषि र पशुपालनको क्षेत्रमा नगरवासीलाई आत्मनिर्भर बनाउन प्रयास गर्ने, पर्यटन विकासको लागि नगर पार्क र स्रष्टापार्कको पुर्वाधारको बिकाशमा जोड दिने, सबै वडामा इन्टरनेट पहुँच पुर्याउनेलगायतका विषय पनि नीति तथा कार्यक्रममा समेटेका छन् ।