ओखलढुंगा । आउँदो मंसिर ४ गतेको चुनावका लागि नेपाली कांग्रेस ओखलढुंगाले शनिबार उम्मेदवार सिफारिश गर्यो । जसमा प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फ कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारसहित केन्द्रीय सदस्य रामहरि खतिवडा, महाधिवेशन प्रतिनिधि खीलानाथ दाहाल र महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहालको नाम छ । ओखलढुंगा कांग्रेसमा २ पटक सभापति भएका र लामो समय राजनीति गरेका सुनुवारको नाम पहिलो नम्बरमै सिफारिश भएको छ ।
२०४१ सालदेखि राजनीतिक यात्रा सुरु गरेका सुनुवार ओखलढुंगा कांग्रेसका बलिया उम्मेदवार हुन् । जिल्लामै बसेर संघर्ष गर्ने नेतामा पर्छन् उनी । 'राजनीतिमा लागेर यत्रो दु:ख गरियो,' उनी भन्छन्, 'यो पटक संघमा मेरो दाबी छ, अरुपटक साथीभाइलाई छाडिदिन्छु ।'
योपटक जिल्लामा गठबन्धनका मुख्यगरी कांग्रेस-माओवादी केन्द्र र एमालेबीच प्रतिष्पर्धा हुने चर्चा बजारमा छ । अघिल्लोपटक एमालेको साथमा थियो माओवादी केन्द्र । जसका कारण संघमा ठूलो मतान्तरसहित एमालेका यज्ञराज सुनुवारले रामहरि खतिवडालाई हराइदिए ।
यसपटक गठबन्धनका कांग्रेस र माओवादी केन्द्रमध्ये कसले संघको टिकट लिने भन्ने विषयमा बहस सुरु भएको छ । माओवादीले पार्टीका सचिव राम कार्कीलाई संघको एकल उम्मेदवार सिफारिश गरेको छ । तर पनि जिल्लामा मुख्य प्रतिष्पर्धी मानिएको कांग्रेसभित्र संघको उम्मेदवार को बन्ने भन्ने विषयमा बहस जारी छ ।
संघमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार कायम भए ओखलढुंगा कांग्रेसलाई जित निकाल्न थप चुनौती छ । जिल्लामा संघका उम्मेदवारले माओवादी केन्द्रलाई मिलाउन सक्ने नेता पनि जरुरी भएको विश्लेषण सुनिन थालेको छ । कांग्रेसकै कतिपय कार्यक्रमहरुमा 'जनजाति उम्मेदवार' को खाँचो भएको सुनिने गरेको छ । भूगोलमा बसेर जनताका समस्या बुझेका नेताको माग भएको पनि उत्तिकै सुनिएको छ । फेसबुक र टिकटकमा पोष्ट गर्न लगाइएका स्टाटसले तताएको बजार पनि छुट्टै छ ।
कांग्रेसबाट सिफारिश भएका ४ जना नै उम्मेदवार कांग्रेसका लागि बलिया उम्मेदवार हुन् । तर अहिलेको अवस्थामा कांग्रेसबाट जित निकाल्न सक्ने एक्लो उम्मेदवार प्रदीपकुमार सुनुवार नै हुन् । राजनीतिक न्यायका हिसाबले पनि सुनुवारले नै टिकट पाउनुपर्ने कार्यकर्ताको धारणा छ ।