ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले संगठन गाउँसम्मै विस्तार गर्ने भएको छ । कांग्रेसका जिल्ला सचिव अजय लुइटेलले एक परिपत्र जारी गर्दै आवश्यक समिति गठन गरी प्रतिवेदन समेत पेश गर्न मातहतका समिति तथा भातृ संगठनलाई निर्देशन दिनुभएको छ ।
कांग्रेसले जिल्लाका दुवै प्रदेशसभा क्षेत्रीय कार्य समिति, ८ वटै नगर गाउँपालिका कार्य समिति, वडा कार्य समिति, नेविसंघ, तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल दलित संघलगायतलाई निर्देशन दिएको हो । पालिकास्तरीय समिति, वडास्तरीय समिति तथा नेविसंघको वडा, माध्यमिक, क्याम्पस, पालिकास्तरमा समिति गठन गर्न भनेको छ ।
कांग्रेसले जिल्ला कार्य समितिको निर्णयानुसार सबै तहलाई परिपत्र गरिएको जिल्ला सचिव लुइटेलले जानकारी दिनुभयो । कांग्रेसले आउँदो मंसिर ४ को निर्वाचन लक्षित अभियान थालेको हो ।
जिल्लामा क्रियाशील सदस्यहरुको सक्रिय उपस्थितितमा बैठक राख्ने, टोल कार्य समिति गठन गर्न बाँकी रहेका टोलहरुमा गठन गर्ने, टोल, वडा र पालिका कार्य समितिको मासिक बैठक गराउने, निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने, निर्वाचन परिचालन समिति गठन गर्नेलगायतका निर्देशन समेत दिएको छ ।