ओखलढुंगा । प्राविधिक शिक्षा लिएका युवाहरु रोजगारीका लागि भौतारिने क्रम बढ्दो छ । तर ओखलढुंगाको रुम्जाटार माविबाट आईएसईएजी अध्ययन गरेका तीन जना युवाहरुले व्यवसायिक कृषि फर्म सञ्चालनमा ल्याएका छन् ।
आईएसईएजी तेस्रो वर्षको रिजल्टको पर्खाईमा रहेका सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ गैरीका गणेशकुमार श्रेष्ठ, फाल्गुनन्द गाउँपालिका २ इम्बुङका डिल्ली नेम्बाङ र ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका सुजन ठटाल मिलेर त्रियुगा सिर्जनशील कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । जागिर नै खानुपर्छ भन्ने सोच चटक्क त्यागेर आफूहरुले रुम्जाटारमा कृषि फर्मको सुरुवात गरेको फर्म सञ्चालकमध्येका एक गणेशकुमार श्रेष्ठले बताए ।
अर्गानिक उत्पादनलाई जोड दिने उद्देश्यले सञ्चालित फर्मका लागि उनीहरुले ५ रोपनी जग्गा भाडामा लिएका छन् । जसमा मल्चिङ, थोपा सिंचाई, ग्रिन हाउस लगायतका प्रविधि अपनाएर काक्रा, गोलभेडा, तितेकरेला, चिचिण्डा, काउली बन्दा, भान्टा, अकबरे खुर्सानी, भेडेखुर्सानी, बोडी, चिप्ले भान्टालगायतका तरकारी लगाइएको छ । बजारमा प्रोसेसिङ गरेर आउने तरकारीलाई विस्थापित गरेर ताजा र सहुलियत तरकारी उपलब्ध गराउने योजना रहेको अर्का सञ्चालक सुजन ठटालले बताए ।
प्राविधिक शिक्षा लिएका धेरैजसो युवाहरुमा जागिर नै खानुपर्छ भन्ने सोच पाइन्छ । तर यी युवाहरुले आफ्नो पढाइमा विश्वास गरेर आफैं व्यवसायिक बन्ने आँट गरेका छन् । नयाँ प्रविधिमा आधारित कृषि फर्म किसानहरुको लागि अध्ययन केन्द्रका रुपमा विकास गर्ने तयारी उनीहरुले थालेका छन् ।