ओखलढुंगा । चम्पादेवी गाउँपालिका ९ नं वडामा रहेको दलीडाँडामा स्वास्थ्य इकाई स्थापना भएको छ । भौगाेलिक रुपमा दुर्गम रहेको सुन्दर गाउँ दलीडाँडामा सो क्षेत्रका बासिन्दालाई स्वास्थ्य पहुँच पुर्याउने उद्देश्यले चम्पादेवी गाउँपालिकाले स्वास्थ्य इकाई स्थापना गरेको हो ।
आइतबार भएको एक कार्यक्रमका बीच चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीले स्वास्थ्य इकाई उद्घाटन गरेका थिए । कार्यक्रममा चम्पादेवी ८ नं वडाध्यक्ष अजय लुइटेल, ७ नं वडाध्यक्ष सुरेश थापा, प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष केसीले चम्पादेवी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नमुना काम गर्दै आएको बताए ।
स्वास्थ्य इकाई सञ्चालनमा आएपछि दलीडाँडा र सो आसपासका क्षेत्रका बासिन्दा खुसी भएका छन् । सामान्य स्वास्थ्य सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने यहाँका स्थानीयको बाध्यता पनि अन्त्य भएको छ ।