ओखलढुंगा । सिद्धिचरण नगरपालिका ६ मा रहेको जलदेवी युवा क्लबको रजत जयन्तीको अवसरमा सम्पन्न टेनके जन्तरधाप म्याराथन प्रतियोगितामा पुरुषतर्फ रविन बस्नेत र महिलातर्फ दिकु शेर्पा विजेता बनेका छन् । प्रतियोगितामा बस्नेतले निर्धारित दूरी ४४ मिनेट ३० सेकेन्डमा पार गर्नुभयो । यस्तै महिलातर्फ शेर्पाले ६० मिनेट ४ सेकेण्डमा १० किलोमिटर दूरी पार गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा पुरुषतर्फ जंगवीर राईले ४५ मिनेट ४४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो, सुसन श्रेष्ठले ४६ मिनेटमा दुरी पुरा गर्दै तेस्रो र शुरेश कुलुङले ५१ मिनेटमा दुरी पुरा गर्दै सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।
त्यसैगरी महिलातर्फ प्रवीना राई दोस्रो, रुमाली मगर तेस्रो र इन्दिरा मगर सान्त्वना हुनुभएको थियो ।
पुरुष तर्फका विजेताहरुलाई क्रमशः नगद १५ हजार, १० हजार, ७ हजार र ५ हजारका साथ प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै महिलातर्फका विजेताहरुलाई नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
म्याराथन प्रतियोगितामा प्रमुख अतिथि कोशी प्रदेशका सभामुख बाबुराम गौतम उपस्थित हुनुहुन्थ्यो । उहाँले पनि उक्त दौडमा भाग लिनुभएको थियो । यस्तै म्याराथनमा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र), चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मालगायतको समेत सहभागिता रहेको थियो । म्याराथनलाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो ।
प्रतियोगितासँगै ओम समाज डेण्टल हस्पिटलको आयोजनामा नि:शुल्क दन्त शिविर समेत सम्पन्न भएको छ । भलिबल प्रतियोगिता भने जारी रहेको छ । जन्तरखानी क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने हेतुले विभिन्न कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रमका संयोजक दिनेश मगरले जानकारी दिनुभयो ।