आफ्नै देशको स्रोत र साधनले सोही देशका न्युनतम आधारभूत आवश्यताहरु पुरा गर्न सकिने अर्थव्यवस्थालाई आत्म निर्भर अर्थतन्त्र भन्ने गरिन्छ । यो व्यवस्थामा वैदेशिक आयातमुखी व्यापारिक गतिविधिहरु पनि निर्वाध रुपले चलेकै हुन्छन् तर विषम परिस्थितिमा एउटा राष्ट्र अधिकतम विश्व समुदायबाट विकर्षित हुँदा पनि आर्थिक सामाजिक जीवन सहज रुपमै गतिशील भैरहेका हुन्छन् । आत्मनिर्भर अर्थतन्त्रमा आधारभुत आवश्यकताको आपुर्ति आन्तरिक स्रोत र साधनबाटै हुन सक्छ भने विलाशिताका मागहरुका लागि बाह्य आपुर्तिका माध्यमहरुको प्रयोग गरिएको हुन्छ । प्रभावको अतिरित्त परिवेशमा कुरा गर्दा अर्थतन्त्रमा मुलभूत प्रभाव पार्ने तत्वहरु आन्तरिक नै हुन्छन् भने एउटा निश्चित सिमा भन्दा माथिको प्रभावमा भने बाह्य आर्थिक तत्वले भूमिका खोजीरहेका हुन्छन् । समग्रमा भन्दा अर्थतन्त्रको निर्णायकत्वमा आन्तरिक आर्थिक अवयवहरु प्रभावशाली हुन्छन् भने तिनलाई उर्जात्मक दिशा दिन बाह्य आर्थिक अवयवहरु बढी सिर्जनशील रुपमा व्यक्त भएका हुन्छन् ।
नेपाली अर्थतन्त्रको सवालमा आन्तरिक आर्थिक अवयवहरु निर्णायक तहमा पुग्न सकेनन् भने बाह्य आर्थिक अवयवहरु आर्थिक दायरा भन्दा राजनीतिक दायराहरुद्धारा प्रायोजित भए । फलस्वरुप नेपाली अर्थतन्त्रका आधारभूत पिलरहरुले विकास वृक्षको जरा दीगो पार्न सकेनन् । यसकोे प्रत्यक्ष अनुभव आजको नाकाबन्दी आम जनमानसले भोगीरहनु परेकोछ ।
रक्षात्मक अर्थतन्त्रः नीति र नियतको परिणिति
पुजीँ निर्माणको आधारभूत सिद्धान्तले बचतको परिचालन अझ बढी पूजीँ आर्जनका लागि हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दछ । पूजीँका आयामहरु अनेकन हुनसक्दछन् । उत्पादकत्व, सक्षमता र परिणाममुखी कार्यकुशलता पुजीँ निर्माणमा अन्तरनिहित साराशं हुन् । मुख्य रुपमा पुजीँले अर्थतन्त्रको स्वास्थ्यलाई जनाउँदछ । उद्योग धन्दाको विकास बिना राष्ट्रिय पूजीँ निर्माण असम्भव प्राय देखिन्छ । आधुनिक आर्थिक समाजको निर्माण मुलतह निर्वाहमुखी समाज र प्रगतिमुखी समाजको संर्घषको नतिजा हो । नेपाली समाजको मूलभुत आर्थिक परिदृश्य जीवन निर्वाहमुखी रहनु नेपालको लागि अभिसाप बन्न पुगेकोछ । व्यवसायमुखी आर्थिक जीवनको परिकल्पना नेपाली समाजको अभिन्न अङ्ग बन्न सकेन । आधुनिक समाजको परिकल्पना नेपाली आर्थिक समाजमा उपभोक्तावादी संस्कार र संस्कृतिको रुपमै सिमित हुन पुगेको देखिन्छ । सभ्य समाजको परिसुचक नै उपभोगकाृ आवरण हुनु नेपाली अर्थतन्त्रको निम्ति घातक सिद्ध हुनपुग्यो । यसले आयातमुखी अर्थतन्त्रलाई निरन्तररुपमा उत्प्रेरित गर्दै जाँदा, देशले निर्यातको विषमतालाई आत्मसाथ गर्नुपर्यो ।
नेपाली पुजीपति र उद्योगपति वर्ग नेपालको स्थानिय प्राकृतिक स्रोत र साधन भन्दा बाह्य उत्पादन र व्यापारिक उद्देश्यहरु पुर्ति गर्न सक्रिय रुपमा लाग्यो । यसको सम्पूर्ण रुपमा मलजल हुने काम आर्थिक अदुरदर्शी नीतिले गर्दै गयो । नीतिगत अज्ञानता वा नीतिगत अव्यवहारिकता नेपाली अर्थतन्त्रको सवैभन्दा ठूलो कमजोरीको रुपमा देखियो । नेपाली अर्थतन्त्रमा यो ठूलो राष्ट्रघात सावित भयो । व्यापारी तथा अद्यौगिक वर्गका लागि उद्योग भन्दा व्यापार अर्थ उपार्जनको बढी सहज र नाफा मूलक औषधि सावित भयो । दीर्घकालिन सोचमा अधि बडिरहेका अद्यौगिक प्रतिष्ठान पनि नाफामूखी कदमलाई अघि बढाउने अभियानका हिस्सा भए ।
रक्षात्मक अर्थनीतिको अर्को वाध्यता नेपालको आर्थिक अत्पादन प्रणाली र उत्पादन सम्बन्ध पनि निर्णायक ठहन्छि । कुनै बिशेष आर्थिक उत्पादन प्रणालीले नेपालको अर्थतन्त्रमा खास जरो गाड्न सकेन । नेपालको उत्पादन प्रणाली राजनैतिक नाराहरुको प्रहारबाट ग्रसित हुदै गयो । कहिले सामन्तवादको प्रहार नेपाली उत्पादन प्रणालिले थेग्न सकेन भने कहिले दलाल पुँजीपतिहरुको प्रहार । त्यसै गरी विदेशी हस्तक्षपको कडिकै रुपमा अहिले पनि वैदेशिक पूँजीलाई व्याख्या गर्ने गरिन्छ । विकसित पूजीँवादमा समग्र नेपाली समाजको अर्थव्यवस्था आईपुग्दा समेत नेपाली उत्पादन प्रणालीले उपभोगवादी संस्कृतिको प्रहार थेग्न सकेन । बजार व्यवस्थाको सामान्य जानकारीसम्म नराखी बनाईने आर्थिक नीति र कार्यक्रहरु नेपालमा उत्पादनलाई आधार दिने भन्दा वितरणलाई प्रस्रय दिने राजनीतिक अर्थव्यवस्थाका सिद्धान्त हावी हुने गरी थोपारिए । नेपाली समाजको मौलिक उपभोग र उत्पादनलाई यस्ता नीतिले असक्त बनाउदै गयो । नेपाली परिवेशको अर्थतन्त्र निर्माणमा आजसम्म कुनै पनि सरकारको ध्यान पुग्न सकेन । सामाजिक राजनीति बाहेकका मुद्दालाई कुनै पनि राजनीतिक पार्टीले बोक्न सकेनन् वा बाक्ने जानेनन् । यसरी जेनतेनको रक्षात्मक अर्थतन्त्रले नेपाली अर्थव्यवस्था सधै चपेटामा पर्दै गयो ।
आक्रामक अर्थतन्त्रः ज्ञान र विज्ञानको सम्बोधि
विकसित मुलुकका आर्थि नीतिको अध्यन गर्ने क्रममा प्रख्यात् व्यवस्थापनविद् तथा अर्थशास्त्री हेनरी फोर्डले आक्रामक अर्थतन्त्रले मात्रै दीर्घकालिन औद्योगिक विकासको खाँचोलाई २० औं शताब्दीमै पहिल्याएका थिए । आक्रामक अर्थव्यवस्थाले पूजीँको दिशालाई राष्टिय विकासको बाटोमा केन्द्रित गर्दछ र सम्रग राष्टको अनुत्पादक पूजीँलाई औद्योगिक पूजीँको रुपमा निर्देशित गर्दछ । आक्रामक अर्थतन्त्रमा पूजीँको परिवर्तनशीलता पूँजीको प्रभावकारितामा निर्भर गर्दछ । जहाँ आर्थिक समृद्धिका आधारहरुमा नीजि क्षेत्रको प्रभावकारी पहूँच हुन्छ जसको समग्र प्रभाकारिता परिक्षण सरकारी नीतिको मातहतमा सरकारका निकायहरुले सुक्ष्म रुपमा गरिरहेका हुन्छन् । यस्तो अर्थतन्त्रको प्रयोगमा रुस, अमेरिका यूरोप र पछिल्लो समय चीन अनि भारत तदारुकताका साथ लागिरहेका छन् ।
ज्ञान, खोज र अन्वेषणको उच्चतम प्रयोगबाट वस्तुको उत्पादन मूल्यलाई न्यूनतम विन्दुमा राख्ने, बजार मुल्यको सामुहिक उपयोगिता उच्चतम विन्दुमा राख्ने र समग्र वातावरणको महत्तालाई न्यूनतम प्रभाव पार्ने उत्पादन तथा वितरण प्रणालीको विकास गर्ने जस्ता सामयिक महत्वका विशेषताहरु आक्रामक अर्थतन्त्रले बोकेको हुन्छ । कुनै पनि अवस्थामा प्रतिस्पर्धाको उच्चतम रुप धारण गर्नु आक्रामकताको अस्त्र हुन्छ । त्यसै गरी प्रविधिको गतिशीलतालाई आफ्नो आवश्यकता अनुरुप प्रयोगमा ल्याउनु र प्रविधि हस्तान्तरणलाई सहज पारी त्यसबाट अन्याधिक परिणाम हाँसिल गर्नु पनि आक्रामक अर्थतन्त्रको मूल ध्यये हुन जान्छ ।
नेपाली अर्थतन्त्र धरासायि हुनुमा आक्रामक आर्थिक नीतिको अभाव नै पहिलो कमजोर कडि देखिन्छ । बनेका नीति तथा कानूनहरुको सामयिक उपस्थिति समयको तराजुमा सम्पूर्ण विश्वअर्थतन्त्रबाट तग्रिसके पश्चात मात्रै ससंदमा छलफलका लागि आह्वान हुन्छन् । त्यो पनि उत्कृष्ट नमूनाहरुको आयात गर्दै नेपाली मौलिकताको अवहेलना गर्दै । वैदेशिक लगानीको अवधारणामा अझ पनि स्पष्टता छैन । यसर्थ राष्टिय तथा अद्यौगिक पूजीँका सम्बन्धमा नीतिहरुमा नीतिगत आमूल परिवर्तनको खाँचो टड्कारो रुपमा देखिएकोछ । यस्ता नीतिगत व्यवस्था नेपालको मौलिक अर्थव्यवस्थालाई सम्बोधन गर्ने हुनुपर्दछ जुन आफैमा आक्रामक होस् । यसर्थ प्रतिक्रियात्मक नीति होइन आक्रामक नीति र आक्रमक कार्यान्वयन आक्रामक अर्थतन्त्रको आवश्यकता पनि हो ।
गुणसमुच्चय अर्थतन्त्रः विश्व अर्थव्यवस्थाको जागृति
दोस्रो विश्वयुद्ध पश्चात पिडित राष्ट्रहरुले आफ्नै मौलिक उत्पादन प्रणालीको विकास गर्ने प्रयास गरे । जसको फलस्वरुप मौलिक अर्थव्यवस्थाको अवधारणाले अन्तराष्ट्रिय रुप लियो । नेपालको परिवेशमा नेपालको मौलिक मूल्य र मान्यतामा आधारित अर्थव्यवस्थाको वकालत न त कुनै सरकारी निति ले गर्यो न त राजनीतिक नेतृत्वले त्यस सम्बन्धि आवश्यक अडान लिनै सक्यो । आवश्यकता अनुसार, व्यक्तिगत राजनैतिक आकांक्षाका लागि अर्थतन्त्रका मुलभुत विशेषता माथि सधै भारी प्रहार भैरहे । निर्वाहमुखी अर्थतन्त्र नै नेपाली राजनीतिको मुख्य मुद्दा बन्न पुग्यो । राजनीतिक भाषणबाजीमा नै नेपाली अर्थतन्त्रका सूचकहरु सकारात्मक र नकारात्मक भए । तर वास्तविकता अर्कै थियो । विश्वव्यापीकरणले नचाहदा नचाहदै मानवीय आर्थिक आकांक्षालाई अनियन्त्रित पाराले मलजल गर्दैलगेकोछ । उदारीकरणले आर्थिक जगतका आधारभूत अवयवहरुलाई कमजोर पार्दै गयो । यस्तो अवस्थामा गतिशील आर्थिक अवयवहरु मात्रै अस्तित्व बचाउन सक्षम थिए भने परिवर्तन हुन नसक्ने आर्थिक अवयवहरु नष्टहुन थाले । व्यापारीकरणको व्यापकता अभौतिक रुपले मन मस्तिस्कमा जरो गाडिरहेको थियो । विश्व अर्थतन्त्र एक अर्कामा अन्तर सम्बन्धित बन्दै जाँदा आर्थिक गतिविधिहरुको विस्तार पनि अन्तर सम्बन्धित हुदै गयो । एक राष्ट्रको आर्थिक वृद्धि अर्को राष्ट्रको समृद्धिसँग ठोकिन पुग्यो ।
रणनितिक अर्थतन्त्रको कार्ययोजना
स्थानिय स्रोत र साधनमा आधारित अर्थतन्त्र
आज विश्वमा तिनै राष्ट्रहरु समुन्नत र आत्म निर्भर भएको छन् जसले स्थानिय कच्चा पदार्थको प्रयोग गरी निर्यातमुखी आर्थिक समाजलाई प्रवर्धन गरेका छन् । आन्तरिक र स्थानिय स्तरमा उपलब्ध कच्चा पदार्थबाट निर्मित वस्तु तथा सेवाको उत्पादन, उपभोग, वितरण र निर्यात नै आत्मनिर्भर अर्थतन्त्रको पहिलो आवश्यकता हो । आत्मनिर्भर अर्थतन्त्र आजको चुनौति हो । विश्व वजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको निर्यात गर्न मुल्य तथा गुणस्तरमा एकरुपता हुनु आवश्यकछ । प्रतिस्पर्धी मुल्य तथा गुणस्तरले मात्रै विश्व बजारका उपभोक्तालाई आकर्षण गर्न सक्छ । राष्ट्रियताको नाराले मात्रै आन्तरिक वस्तु तथा सेवाको व्यापार अन्तराष्ट्रिय स्तरमा फैलिन सक्तैन ।
स्थानिय स्रोत र साधनमा आधारित अर्थतन्त्रको उत्पादनले निर्यात व्यापारलाई प्रतिस्पर्धि वस्तु तथा सेवाको रुपमा अन्तराष्ट्रिय बजारमा उभाउन सक्छ । जीविको पार्जनमुखी अर्थतन्त्रले अर्थतन्त्रका कुनै पनि सुचकलाई सकारात्मक तथा आशावादी बनाउन सक्दैन । प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोगले मात्रै अर्थतन्त्रलाई विश्व अर्थतन्त्रमा ठाँउ मिल्न सक्दछ ।
ज्ञानमा आधारित अर्थतन्त्र
ज्ञानमा आधारित अर्थतन्त्रले नेपाली अर्थतन्त्रको वस्तुगत विशेषतालाई परिवर्तन गर्न सक्छ । ज्ञानमा आधारित अर्थतन्त्रले विशेष आर्थिक व्यवस्थालाई सम्वोधन गर्ने हुदाँ यसले आर्थिक विशमताको स्वरुपलाई परिवर्तन गर्न सक्छ । गतिशील अर्थतन्त्रले मात्रै वर्तमान आवश्यकता लाई सम्वोधन गर्नसक्छ । विश्व परिवेशको घटनाक्रमलाई अध्धयन गर्दा अव आवश्यकताको सम्वोधन गर्ने अर्थव्यवस्था होईन बरु आवश्यकताको सिर्जना गर्ने र सोही अनुरुप आवश्यकता पुर्ति गर्दै जाने रणनितिक अर्थतन्त्रको निर्माणमा विकसित देशहरु केन्द्रित भैरहेका छन् । मानविय संवेदनाको भौतिक मोलमोलाइ हुन सक्ने वैश्य युगले आजको प्रगतिशील अर्थतन्त्रको गुणहरुलाई सम्वोधन गर्न सक्दैन भने त्यस अर्थतन्त्रको लोप निश्चित देखिन्छ । ज्ञानमा आधारित अर्थतन्त्रले मुख्यतया अन्वेषण, खोजमूलक अर्थव्यवस्थाको वकालत गर्दछ । यस्तो अर्थव्यवस्थामा नवीनतम ज्ञानको खोजीको समग्र समाजको उच्चतम हीत गर्ने वस्तु तथा सेवाको उत्पादन, प्रशारण र प्रतिशोधनमा मुख्य ध्यान केन्द्रित गरिन्छ । प्रविधिमा आधारित अर्थतन्त्रले ज्ञानमुखी अर्थतन्त्रको ठोस कार्यान्वयन गराँउदछ । प्रविधिको प्रयोगले न्यनतम स्रोत र साधनबाट उच्चतम प्रतिफलको अपेक्षा गर्न सकिन्छ ।
कृषिमा आधिरित अर्थतन्त्र
कृषिमा आधिरित अर्थतन्त्र नै नेपालको हकमा प्रगतिशील अर्थतन्त्र हो । प्रगतिशील अर्थतन्त्रका आयामहरुमा कृषिमा आधारित अर्थतन्त्रको निर्माण नै नेपालको माटो सुहाउँदो अर्थतन्त्रको नमुना हो ।
जलस्रोतमा आधारित अर्थतन्त्र
त्यसैगरी जलस्रोतको रुपान्तरणले जल प्रधान नेपालको विशेषतालाई वस्तुगत अवस्थामा ढाल्न सक्छ । जलस्रोतमा आधारित अर्थव्यवस्था नेपाली परिवेशको अर्को आर्थिक विशेषता हो । कृषिमा आधारित अर्थतन्त्रले आन्तरिक समाजको अर्थसम्बन्धलाई जटिलताबाट सधनतामा ढाल्न मद्यत गर्न सहयोग पुग्दछ । जलस्रोतमा ज्ञान र प्रविधि प्रयोग गर्ने हो भने नेपाली मौलिक परिवेशको अर्थतन्त्रलाई जन्म दिन नसकिने होइन । जलस्रोतको उपयोगले नेपालमा मात्र नभई भारत र चीनमा समेत निर्यात व्यापारको सम्भावनालाई नकार्र्न सकिन्न ।
पर्यटनमा आधारित अर्थतन्त्र
पर्यटनमा आधारित अर्थव्यवस्था नेपाली अर्थतन्त्रको अर्को यथार्थ हो । उत्पादन प्रणाली सँगै बदलिरहने उत्पादन सम्बन्धहरुले काल अनुसार नेपाली समाजको पनि प्रतिनिधित्व गर्दछन् । पर्यटनले रोजगारीको वृद्धि र गरिवि निवारणमा विशेष भूमिका खेल्दछ ।
नेपाली परिवेशको अर्थतन्त्रः एक सिर्जनशील परिधि
प्रतिस्पर्धी अर्थतन्त्रको आकारले गुणात्मक फड्को मार्दै गर्दा सवल अर्थतन्त्रका लागि अति आवश्यक कुरा राजनैतिक स्थीरता नै हो । राजनैतिक स्थीरता भन्नाले नीतिगत निरन्तरता भन्ने बुझिन्छ । एउटा नीतिको कार्यान्वयन हुन नपाउँदै फेरिने नीतिले नेपाली अर्थतन्त्रलाई सधै निरुत्साहित नै गर्यो । प्रतिफलको दोष नीतिमा होइन कार्यान्वयनमा हुन्छ । सक्षम नेतृत्व विना अर्थतन्त्रले दीगो स्वरुप हाँसिल गर्न सक्दैन । एउटा परिस्कृत अर्थतन्त्रको अभ्यासलाई निरन्तरता दिन राजनीतिक नेतृत्व तदारुकताका साथ अघाडि बढ्नु पदर्छ । राष्ट्रिय आयमा हरेक क्षेत्रको समावेशी सहभागिताले अर्थतन्त्रको दिगोपनालाई टेवा पुर्याउँछ ।