ओखलढुंगा । ओखलढुंगाको एकमात्र नगरपालिका हो सिद्धिचरण । प्राकृतिक सौन्दर्यताले सिँगारिएको सिद्धिचरण नगरपालिका २०७१ साल वैशाख २५ गते नगरपालिका घोषणा हुँदा ओखलढुंगा, वर्णालु, ज्यामिरे, सल्लेरी, अँधेरी नारायणस्थान र रुम्जाटार गाविस मिलाएर बनाइएको थियो । पछि २०७३ को राज्य पुन: संरचनापश्चात् तलुवा, ठूलाछाप, जन्तरखानी, विगुटार तथा बेतिनी गाविसका पूरै वडा र वरुणेश्वर गाविसको एक वडा समेत थपेर नगरपालिका विस्तार गरियो ।
सिद्धिचरण नगरपालिका बनेपछि थुप्रै प्रगति भएका छन् । त्यसमध्येको महत्वपूर्ण प्रगति पर्यटनका क्षेत्रमा भएको देखिन्छ । सिद्धिचरण नगरपालिका बन्नुअघि घुम्नलायक ठाउँ नभएका गुनासाहरू सुनिने गरेको थियो । सिद्धिचरण नगरपालिका घोषणा भएसँगै अहिले ती गुनासाहरु विस्तारै समाधान हुन थालेका छन् ।
सिद्धिचरण नगरपालिका बनेको झण्डै एक दशक बित्न लाग्दा नगर क्षेत्रभित्र उल्लेख गर्नलायक दर्जनौँ पर्यटकीय क्षेत्र विकास तथा विस्तार भइसकेको छ । दर्जनौँ ठाउँमा पर्यटकीय संरचना निर्माण भइरहेका छन् । यस्ता संरचना निर्माणमा सिद्धिचरण नगरपालिका तथा संघ र प्रदेश सरकारले समेत योगदान गर्दै आएका छन् । पर्यटकीय विकासका क्षेत्रमा सिद्धिचरण नगरपालिकाले प्राथमिकता दिएर विकास गरिरहेको नगरपालिकाका नगरप्रमुख तेजन खनाल बताउँछन् । आगामी दिनमा पनि यो क्षेत्रमा निरन्तर विकास गर्ने योजना रहेको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालको भनाई छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमि समेत रहेको सिद्धिचरण नगरपालिका युगकविले कवितामा वर्णन गरेझैँ घुम्नलायक बनेको नगरपालिकाका नगर उपप्रमुख केदारबाबु बस्नेत बताउँछन् । केही दिनको सस्तो प्याकेजमै घुम्न सकिने ती ठाउँहरु यहाँ उल्लेख गरिएको छ ।
सिद्धिचरणपार्क
युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना र सम्मानमा निर्माण गरिएको हो, सिद्धिचरणपार्क । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं १२ मा अवस्थित छ यो पार्क । सिद्धिचरण पार्कमा युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको सालिक राखिएको छ । युगकविसँग सम्बन्धित साहित्य र सिर्जना संग्रहित गर्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको छ । ऐतिहासिकस्थल ओखलको ढुंगा नजिकै रहेको सिद्धिचरणपार्क ओखलढुंगाको पर्यटकीय गन्तव्य हो ।
जसरी ओखलढुंगा कवितामार्फत् युगकवि सिद्धिचरण श्रेष्ठले ओखलढुंगालाई चिनाए, त्यसैगरी युगयुग सम्झिनेगरी उनको सम्झनामा सिद्धिचरण पार्क निर्माण गरिएको हो । ओखलढुंगा आउने जो कोही पर्यटक सिद्धिचरण पार्क नघुमी फर्कँदैनन् । त्यसैले पनि सिर्जनशील मनहरुको आस्थाको केन्द्र बनेको छ यो ठाउँ । युगकविको सम्मानमा यहाँको नगरपालिकाको नाम सिद्धिचरण नगरपालिका राखिएको छ । सिद्धिचरण पार्क निर्माणका लागि सिद्धिचरण नगरपालिकाले निरन्तर आर्थिक सहयोग गर्दै आएको छ ।
ओखलको ढुंगा
ऐतिहासिक स्थल ओखलको ढुंगाबाटै जिल्लाको नामाकरण भएको हो । ओखलढुंगाको नामाकरण भएको ओखलको ढुंगा सिद्धिचरण नगरपालिका वडा नं १२ मा सुरक्षित राखिएको छ । मल्लकालीन समयमा काजी भीम मल्ल र उनको फौज यहाँको ओखलजस्तो ढुंगामा धान कुटी खाएकाले यस ठाउँको नाम ओखलढुंगा रहन गएको भनाई पाइन्छ ।
यही ढुंगाको नामबाट ओखलढुंगा सदरमुकामलाई चिनिँदै आएको छ । ऐतिहासिक ओखलको ढुंगामा धान कुटी खाएको खोपिल्टो अहिले पनि सुरक्षित छ । सिद्धिचरण पार्कसँगै रहेको ओखलको ढुंगालाई ओखलकै आकारमा ढुंगाको पर्खाल लगाइएको छ । ऐतिहासिक ओखलको ढुंगा जो सुकैले अवलोकन गर्न सक्ने गरी पर्यटकीय संरचनाहरु निर्माण गरिएको छ । ओखलको ढुंगासँगै पर्यटकीय आकर्षण बढाउन काजी भीम मल्लका फौजले ओखलमा धान कुटेको पूर्ण कदको प्रतिमा, मेरो प्यारो ओखलढुंगालगायतका संरचना सिद्धिचरण नगरपालिकाले निर्माण गरेको छ ।
स्रष्टापार्क
सिद्धिचरणपार्क नजिकै स्रष्टापार्क रहेको छ । स्रष्टापार्कमा युगकवि सिद्धिचरण श्रेष्ठ, नेपालकै प्रथम महिला गायिका मेलवादेवी, राष्ट्रिय गानका रचयिता व्याकुल माइला र चर्चित लोकगायक पाण्डव सुनुवारको अर्धकदको प्रतिमा राखिएको छ । ओखलढुंगा सदरमुकामको गणेशचोक नजिकै रहेको सिद्धिचरण पार्क र स्रष्टापार्क ओखलढुंगाको साहित्यिक पर्यटनको गन्तव्य हो । जसरी मनमनमा ओखलढुंगा कविता बसेको छ त्यसरी नै यो ठाउँले ओखलढुंगा झल्काउने गरेको छ ।
स्रष्टापार्कसँगै जोडेर बृहत् पार्कको योजना समेत अघि बढाइएको छ । केही वर्ष अघि मात्रै बौद्ध स्तुपा निर्माण गरिएको थियो । पाँच करोड भन्दा बढी लागतमा यसक्षेत्रमा पार्क निर्माणको ठेक्का समेत लागिसकेको छ । सदरमुकामसँगै जोडिएको पर्यटकीय पार्कको रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।
रुम्जाटार
नेपालका प्रमुख टारहरुमध्येको एउटा टार हो रुम्जाटार । रुम्जाटारबारे उखानै काफी छ; घुमिफिरि रुम्जाटार । रुम्जाटार नसुन्ने कमै नेपाली छन् । सिद्धिचरण नगरपालिकाको वडा नं. ४ मा पर्ने रुम्जाटार छुट्टै भौगोलिक र ऐतिहासिक विशेषता बोकेको ठाउँ हो । रुम्जाटारमा गुरुङ समुदायको बाहुल्यता छ । यहाँका गुरुङहरु १८ औं शताब्दीमा पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा पश्चिम कास्की, लमजुङ, गोरखातिरबाट सेनाको रुपमा आएका हुन् ।
एक सय ५० वर्षअघि जोसमनी धर्मका प्रवर्तक ज्ञानदिलदासले समेत रुम्जाटारलाई आफ्नो प्रमुख प्रचार थलोको रुपमा विकास गरेका थिए । नेपालको पहिलो गायिका मेलवादेवी गुरुङ, पृथ्वीनारायण शाहका सेनापति झागल गुरुङ रुम्जाटारकै थिए । व्यवसायिक भेडापालन गरिने रुम्जाटारको राडीपाखी संसारभरी प्रसिद्ध छ । पूर्वकै पुरानो विमानस्थल, मठ मन्दिर, पाटी पौवासँगै विशाल योजनाका साथ गुम्बा निर्माण भएको छ । शाहकालको बेला राजाहरुको पारिवारिक सम्बन्ध रहेको रुम्जाटारका कतिपय गुरुङसेनीहरु धाईआमा र बाहिरिया रानी समेत थिए ।
बुङ आलु
लेकाली क्षेत्र । चीसो मौसम । आकर्षक पहाडी भूगोल । त्यसमाथि पाखैभरि लगाइएका हरियाली बुङ आलुका साना साना थुम्का । ओखलढुंगा र सोलुखुम्बुको सीमानामा पर्ने ठाडे, जन्तरखानी, टोड्के क्षेत्रमा पुग्ने जो कोहीलाई यसले लोभ्याउँछ ।
अर्गानिक आलुका रुपमा पहिचान बनाएको बुङको आलु यहाँ उत्पादन हुँदै आएको छ । माटो र झारपातको चपरीलाई आगोले पोलेपछि त्यसैको थुप्रो बनाएर यो आलु रोप्ने गरिन्छ । ३ देखि ५ वर्ष जमिन बाँझो राखेपछि यहाँ फागुन चैतको सिजनमा बुङमा आलु रोपिन्छ । एकपटक आलु लगाएपछि फेरि जमिन बाँझो राख्ने चलन छ । बुङ बनाएर रोपिएको आलु साउन भदौमा खन्ने गरिन्छ ।
पूर्णरुपमा अर्गानिक भएकाले यो आलुको माग उच्च रहेको छ । बुङ आलु खान, रोप्नका साथै कोशेलीका रुपमा समेत निर्यात हुने गरेको छ । बुङ आलुले गर्दा यहाँका पाखा भित्ताहरु वैशाख जेठ महिनामा निकै आकर्षक देखिन्छन् । बुङ आलुका थुम्काले सजिएका पहाडहरु निकै सुन्दर लाग्छन् । यी दृष्यहरुले पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।
आलुबाट बनाइने रिल्दुकलगायतका परिकार टिम्बुर र स्थानीय लसुनको स्वादले यहाँ आउने पर्यटकहरु भुल्ने गरेका छन् । बुङ आलुले एकातिर पर्यटन प्रबद्र्धनको काम गरेको छ भने अर्कातिर यहाँका स्थानीयलाई आयआर्जनमा टेवा समेत पुर्याइरहेको छ । यो क्षेत्र ओखलढुंगा सदरमुकामबाट करिब २० किलोमिटर टाढा छ । ओखलढुंगा सदरमुकामबाट चित्रे हुँदै पक्की सडकमार्गबाट यहाँ पुग्न सकिन्छ ।
ठाडे र जन्तरधाप
सिद्धिचरण नगरपालिकाको वडा नं. ६ मा ठाडे र जन्तरधाप गाउँ छन् । जन्तरधाप सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकासँग सीमा जोडिएको छ । ठाडेचाहिँ जन्तरधापदेखि दुई किलोमिटर तल छ । समुन्द्री सतहदेखि दुई हजार ८ सय मिटर भन्दामाथिको उचाईमा अवस्थित ठाडे र जन्तरधाप ओखलढुंगा– सोलुखुम्बु सडकमै पर्छ । नुम्बुर, सगरमाथा, ल्होत्से, मकालु जस्ता एक दर्जन भन्दा बढी हिमश्रंखला हेर्न सकिने यी ठाउँ पर्यटकीय गन्तव्य हुन् ।
ठाडेमा मगर समुदायले होमस्टे संचालन गरेका छन् । आलुका परिकार र सेतो सिमि यहाँको मुख्य खाना हुन् । हिमपात भएको बेला ठाडे, जन्तरधाप क्षेत्रमा हजारौँको संख्यामा आन्तरिक पर्यटक रमाउन पुग्छन् । ओखलढुंगा सदरमुकामदेखि सवारी साधनमार्फत् आधा घण्टादेखि ४० मिनेटमा यहाँ पुग्न सकिन्छ । जन्तरधापकै माथिपट्टि चाँगेस्थान मन्दिर रहेको छ । जनै पूर्णिमाको बेला मेला लाग्ने चाँगेस्थानमा भक्तजनहरु निकै ठूलो संख्यामा आउने गर्छन् ।
तलुवागढी
ओखलढुंगाको सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकाको सीमानामा अवस्थित छ तलुवागढी । चौधौँ शताब्दीतिर निर्माण भएको यो गढीको भग्नावशेष अझै पनि सुरक्षित छ । तत्कालीन समयमा मकवानपुर कब्जा गरेपछि सेनबंशी राजाहरुले यहाँका किरात राज्यमाथि आक्रमण गरेका थिए । सो समयमै तलुवा गढीबाट तोलवा राजाले सेनबंशी राजाहरुसँग लडाई लडेको इतिहास छ ।
अहिले पनि यो गढीको पर्खाल, बंकरलगायतका संरचना स्पष्ट छन् । तलुवागढीको डाँडामा जनुकादेवी मन्दिर रहेको छ । तलुवागढीको दक्षिणपूर्वमा हालको सिद्धिचरण नगरपालिका १ तलुवा पर्छ । दक्षिण पश्चिममा मानेभञ्ज्याङ गाउँपालिका १ र उत्तर पश्चिममा सिद्धिचरण नगरपालिका वडा नं २ पर्छ । ऐतिहासिक महत्व बोकेको यो गढी पर्यटकीयस्थलका रुपमा समेत परिचित छ । यहाँको गढीको गोलो घेरामा रेखाङ्कित बंकरसहित अन्य संरचना, मन्दिर र यहाँबाट देखिने आसपासका पहाडी भूगोल लोभलाग्दा छन् ।
तलुवा गढीलाई भ्यु प्वाइन्टका रुपमा विकास गर्ने उद्देश्यले पर्यटकीय विकासको काम समेत भइरहेको छ । यो गढीमा पुग्नका लागि ओखलढुंगा सदरसमुकामको गोरुमारेभञ्ज्याङबाट अधेरी नारायणस्थान, निशंखे हुँदै पुग्न सकिन्छ । यस्तै गोरुमारेभञ्ज्याङबाटै लाकुरीभञ्ज्याङ, अधेरी, बानियाँछाप हुँदै पुग्न सकिन्छ ।
जन्तरखानीको तामाखानी
तामाखानीको गाउँ भनेर चिनिन्छ ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ६ को जन्तरखानीलाई । यहाँबाट कुनैबेला तामा उत्खनन् गरिन्थ्यो । अहिले पनि यहाँका पाखाभित्तामा तामा उत्खनन् गरिएका दर्जनौँ सुरुङहरु छन् । यहाँको सिलतामाखानी, खानीपाखा, हरेलीभीरलगायतका ठाउँबाट तामा उत्खनन गरिएको प्रमाण भेटिन्छ । केही सुरुङ पुरिँदै गएका छन् । केही भित्रभित्रै भत्किएर अबरुद्ध भएका छन् । कतिपय ठाउँका सुरुङलाई स्थानीय आफैँले असुरक्षित महशुस गरेर पुरेका छन् ।
तामा उत्खननका लागि तत्कालीन समयमा मगर, विश्वकर्मा र नेवार जातिहरुलाई यहाँ ल्याइएको थियो । जन्तरखानी क्षेत्रभरी मगर, विश्वकर्मा र नेवार जातिको बाहुल्यताले पनि यसको पुष्टि गर्छ । पुर्खाहरुले यहाँ रहेका सुरुङबाट तामा निकाल्ने गरेको स्थानीयहरु बताउँछन् ।
खानीपाखामा अझैपनि ठूलो मात्रामा तामाखानीको सुरुङबाट निकालिएको ढुंगागिटीको थुप्रो छ । यहाँबाट निकालिएको कच्चा तामा जन्तरखानी गाउँमा गालेर जन्तरखानीकै टक्सारचौरमा पाता बनाउने गरिएको बुढापाकाहरु बताउँछन् । जन्तरखानीमा निकालिएको तामा विगुटक्सारमा लगेर डोली पैसा काट्ने गरिएको इतिहास भेटिन्छ । जन्तरखानीको सुरुङबाट निस्किएको पानी बग्ने खोलाहरुमा तामाको लेउ जमेको देखिन्छ । तामाखानी क्षेत्रको प्रचारमा सिद्धिचरण नगरपालिकाले जोड दिँदै आएको छ ।
तामाखानी क्षेत्र पुर्खाहरुले छाडेर गएको सम्पतिको रुपमा घुम्न सकिन्छ । यहाँका मगर समुदायको स्वागतले भ्रमणलाई अझ रमाइलो बनाउँछ । जन्तरखानी जानका लागि ओखलढुंगा सदरमुकामबाट चित्रे ठाडे हुँदै पुग्न सकिन्छ ।
टक्सार
कुनै जमानाको टक अर्थात् पैसा काट्ने ठाउँ टक्सार । २ सय वर्षभन्दा पुरानो इतिहास बोकेको टक्सार ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ७ मा अवस्थित छ ।
भोजपुरको टक्सारसँग समकालीन मानिन्छ यहाँको टक्सार । यहाँ टक काटेको ढुंगा, तामाको धातुबाट निस्किएको किट र डोली पैसा समेत प्रमाणको रुपमा भेटिएका छन् । तत्कालीन समयमा ओखलढुंगा आसपासमा रहेको तामाखानीबाट निकालिएको तामालाई टक काट्न टक्सार स्थापना गरिएको हो । यहाँ टक काट्दा पाखैभरि फालिएका तामाको किटले यसको थप पुष्टि गरेको छ ।
टक्सारमा नेवार र विश्वकर्मा समुदाय समेत रहेकाले उनीहरुलाई टक काट्नका लागि झिकाइएको स्थानीयको अनुमान छ । खोजबिन नहुँदा गुमनाम हुने अवस्थामा पुगेको टक्सार क्षेत्रलाई सिद्धिचरण नगरपालिकाको अगुवाइमा संरक्षण थालिएको छ । नगरपालिकाले टक्सारका थप प्रमाणहरु जुटाउने र टक काटिएको ठाउँमा स्मारक बनाउने योजना अगाडि सारेको छ । रमणीय र सुन्दर गाउँ टक्सारले मेहनती किसानको गाउँको रुपमा समेत परिचय बनाएको छ । यहाँ ओखलढु्ंगा सदरमुकामबाट विप्लाटे, घुन्सा हुँदै पुग्न सकिन्छ ।
लगलगे भ्यू टावर
चारैतिर घना जंगल अनि घना जंगलकै बीचमा उभिएको छ लगलगे भ्यु टावर । २ हजार ३ सय ७० मिटर उचाईमा रहेको लगलगे डाँडामा आखलढुंगाको सिद्धिचरण नगरपालिकाले भ्युटावर निर्माण गरेको हो । सिद्धिचरण नगरपालिकाका पूर्व नगरप्रमुख मोहनकुमार श्रेष्ठ निर्वाचित हुनेबित्तिकै पहिलोपटक भ्युटावरको शिलान्यास गरेका थिए ।
भ्युटावरको वरपर सिद्धेश्वरी सामुदायिक वन फैलिएको छ । १० मिटर अग्लो भ्यु टावरबाट गौरीशंकर, नुम्बुर, सगरमाथा, ल्होत्से लगायतका दर्जनौं हिमालका टाकुरा र हिमश्रृंखला देख्न सकिन्छ । मौसम खुलेको बेला भ्यू टावरबाट विभिन्न जिल्लाका दर्जनौ भूभाग र तराईका फाँटहरु समेत देखिन्छ । यो ठाउँमा वसन्त ऋतुमा गुराँसले राताम्मे भएर फुल्ने गरेको छ । ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण राजमार्गहुँदै लगलगे गाउँ पुगेर ४५ मिनेटको पैदल यात्रा गरेपछि लगलगे भ्यु टावर पुग्न सकिन्छ ।
रुम्जाटार गुम्बा
गुरुङ समुदायको बाहुल्यता रहेको ओखलढुंगाको रुम्जाटारलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने अभियान स्वरुप रुम्जाटार गुम्बा स्थापना भएको हो । यो गुम्बा निर्माणमा सरकारी र निजी गरी करिब १९ करोड खर्च भइसकेको छ । यहाँका गुरुङ समुदायको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट रकम जुटाएर गुम्बा निर्माण गरिएपछि रुम्जाटारको पर्यटनमा अर्को आकर्षण थपिएको छ । पूर्वका गुरुङहरुको पुख्र्यौली थलो मानिएको रुम्जाटार ऐतिहासिक मात्रै नभएर धार्मिक पर्यटनको गन्तव्य बनेको छ ।
९ रोपनी क्षेत्रमा फैलिएको यहाँको गुम्बामा ११ फिट अग्लो भगवान् बुद्धको मुर्ति राखिएको छ । धार्मिक तथा सांस्कृतिक महत्वका सामग्रीहरु र ऐतिहासिक दस्तावेजलगायतका वस्तु यहाँ राखिएका छन् । गुम्बामा हरेक दिन लामा पढाइ हुने गरेको छ । यहाँ विहान साढे ५ बजेदेखि ७ बजेसम्म तालिम पूजा, ८ बजेदेखि साढे ९ बजेसम्म शील प्रार्थना, ध्यान प्रार्थना, बेलुकी ४ बजेदेखि ५ बजेसम्म धर्मपाला पूजा र साँझ ६ बजेदेखि ७ बजेसम्म सन्ध्याकालीन ध्यान साधाना हुँदै आएको छ ।
रुम्जाटारको आफ्नै परिचय छ । यहाँको भूगोलको आफ्नै सौन्दर्य छ । त्यसमाथि यो बौद्ध गुम्बाले रुम्जाटारलाई थप सुन्दर बनाएको छ । ओखलढुंगा सदरमुकामबाट ११ किलोमिटर पूर्वमा छ रुम्जाटार । रुम्जाटार पुग्नका लागि ओखलढुंगा सदरमुकामबाट वर्णालु– सानीटार हुँदै पक्की सडकमार्गबाट जान सकिन्छ । यस्तै ओखलढुंगा सदरमुकामबाट चित्रे, देउराली सानीटार हुँदै रुम्जाटार पुग्न सकिन्छ ।
चम्पादेवी लगलगे मन्दिर
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ मा रहेको छ चम्पादेवी लगलगे मन्दिर । चिताएको पुग्ने विश्वासले हरेक वर्षको हरिबोधनी एकादशीदेखि पञ्चमीसम्म यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ । यो मन्दिर २०१४ सालमा स्थापना भएको हो ।
यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुने विश्वासले ओखलढुंगा लगायत आसपासका जिल्लाका भक्तजन समेत पूजाआजाका लागि आउने गरेका छन् । चम्पादेवी लगलगे मन्दिरमा भीड बढ्दै जाँदा पानीको छाँगो बढ्दै जाने विश्वास गरिन्छ । यो मन्दिरमा झाँक्री नाच समेत प्रदर्शन गरिँदै आएको छ । यस मन्दिरमा कृषि उपज बढोस् भनेर किसानहरुले विशेष पूजाआजा गर्दै आएका छन् । सन्तान नहुनेहरुले सन्तान प्राप्ति होस् भनेर वर माग्ने गरेका छन् । यहाँको मन्दिरसँगै मेला समेत लाग्ने गरेको छ ।
ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण राजमार्ग हुँदै लगलगे गाउँ पुगेपछि चम्पादेवी लगलगे मन्दिर पुग्न सकिन्छ ।
ओखलढुंगा सदरमुकाम
पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नम्बर ओखलढुंगाको नामले यस जिल्लाको जन्म भएको थियो । वि.सं. २०१८ सालको प्रशासनिक विभाजनपूर्व हालका सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुंगामा रहेका थिए । पूर्व ३ नम्बरको सदरमुकाम ओखलढुंगा बजार हो । अहिलेको ओखलढुंगा बजार ऐतिहासिक बजार भएकाले पर्यटकीय महत्व बोकेको छ ।
झाँक्रीढुंगा गुफा
थामडाँडाको काखमा अवस्थित छ झाँक्रीढुंगा गुफा । झाँक्रीढुंगा सामुदायिक वनमा अवस्थित झाँक्री गुफामा झाँक्री बस्ने स्थानीयको जनविश्वास छ । यहाँ रहेको विशाल ढुंगाको गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै छ । ओखलढुंगा सदरमुकामबाट सडकमार्गबाट कमेरेडाँडा हुँदै झाँक्रीढुंगा गुफा पुग्न सकिन्छ ।
नगरपार्क
नगरपार्क नाममा सिद्धिचरण नगरपालिकाको वडा नं. ११ मा जिल्ला प्रहरी कार्यालय नजिकै नगरपार्क निर्माण भइरहेको छ । १३ रोपनी क्षेत्रफलमा फैलिएको नगरपार्कमा विभिन्न संरचनाहरु निर्माण भएका छन् । नगरपार्क नगरपालिकाभित्रको अर्को ठूलो पार्क हो ।
सहिदस्मृति पार्क
सिद्धिचरण नगरपालिका ११ मा पर्ने शहिदस्मृति पार्क थामडाँडा आफैFमा एउटा पर्यटकीय गन्तव्य हो । सदरमुकामको शीरझैँ उभिएको थामडाँडामा प्रजातन्त्र प्राप्तिका लागि सहादत गर्ने सहिदहरुको स्मृतिमा पार्क निर्माण गर्ने भनेर दुई दशक अघि योजना बनाइएको थियो । कमेरेदेखि थामडाँडा सम्म करिब १ हजार खुड्किलो निर्माण गरिएको छ । यस्तै विप्लाटेबाट पनि हालै खुड्किलो निर्माण भएको छ । पार्कमा अन्य संरचना निर्माण गरिएको छैन । सदरमुकामको भ्यू हेर्नका लागि पनि उपयुक्त ठाउँको रुपमा थामडाँडालाई लिइन्छ ।
यी गन्तव्यहरुका अलवा सिद्धिचरण नगरपालिकामा अन्य दर्जनौँ घुम्नलायक ठाउँहरु रहेका छन् । ओखलढुंगा सदरमुकामसँगै जोडिएको बकुन्दे सामुदायिक वनमा रहेको मञ्चने पार्क र कालिकादेवी स्थान पार्क पनि घुम्नैपर्ने गन्तव्यमा पर्छन् । सिद्धिचरण नगरपालिका ८ को सेतीदेवी मन्दिर, हरेक जनैपूर्णिमामा मेला लाग्ने सिद्धिचरण नगरपालिका ५ को गणेशकुण्ड मन्दिर, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा रहेको चाँगेस्थान मन्दिर, सिद्धिचरण नगरपालिका ११ को जाल्पादेवी मन्दिर, सिद्धिचरण नगरपालिका ९ मा रहेको कान्तादेवी मन्दिर, सिद्धिचरण नगरपालिका ३ मा रहेको सपनावती मन्दिर, सिद्धिचरण नगरपालिका १२ मा रहेको गणेश मन्दिर, कृष्ण मन्दिरलगायतका मन्दिर पनि पर्यटकीय महत्व बोकेका मन्दिरहरु हुन् । ओखलढुंगा सदरमुकाममा रहेको राणाकालीन मालअड्डा भवनले झन् पर्यटकीय महत्व बोकेको छ ।
यसका अलवा सिद्धिचरण नगरपालिका प्राकृतिक तथा सांस्कृति विविधताले भरिपूर्ण छ । सिद्धिचरण नगरपालिकाका हरेक भूगोल नै पर्यटकीय आकर्षणले भरिएका छन् । सांस्कृतिक हिसाबले नगरपालिकाभित्रका नेवारी समुदायको लाखेजात्रा, बाहिङ/बायुङहरुको हङ्सिली (सेग्रो), गुरुङ समुदायको सांस्कृतिक नाच, शेर्पा जातिको स्याब्रु नाच, मगर समुदायको सांस्कृतिक नाच, ब्राह्मण क्षेत्रीको बालन नाच, दलित समुदायको पञ्चेबाजालगायतले पनि पर्यटकीय शोभा बढाउँदै आएका छन् । नगरपालिका क्षेत्रभित्र भएका भाषा र संस्कृतिको प्रबर्द्धनमा समेत सिद्धिचरण नगरपालिकाले भूमिका खेलिरहेको छ ।
यसरी हेर्दा सिद्धिचरण नगरपालिकाले दर्जनौँ पर्यटकीय संरचना निर्माण र क्षेत्र विस्तार गरिसकेको छ । प्राकृति, सांस्कृतिक र ऐतिहासिक सबै हिसाबले सिद्धिचरण नगरपालिका पर्यटनका क्षेत्रमा अब्बल देखिएको छ । तर यस्ता पर्यटकीय गन्तव्यहरु निर्माण भएर मात्रै हुँदैन । यस्ता गन्तव्यहरुमा पर्यटक भित्र्याएर स्थानीयको आयआर्जनमा टेवा पुर्याउन समेत सिद्धिचरण नगरपालिकाले ध्यान दिनुपर्छ ।