ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिकाले १३औँ गाउँसभामा युवा उद्यमशीलता लक्षित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष नवराज केसीले नीति तथा कार्यक्रममा रहेका प्राथमिकताका ८ वटा बुँदामध्ये ३ वटा बुँदामा उद्यमशीलता र रोजगारलाई समेट्नु भएको छ ।
उहाँले गाउँपालिकाभित्रको शिक्षा, स्वास्थ्य, आवास र रोजगारी जस्ता आधारभूत मानवीय आवश्यकता परिपुर्ति गर्ने र त्यस्ता क्षेत्रहरुको विकास र प्रबर्द्धन गर्ने, विभिन्न कारणले आय आर्जन गुमाएकाहरुलाई नयाँ रोजगारीको सिर्जना गर्ने, उच्च र दिगो आर्थिक बृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलस्रोत र साना तथा मझौला उद्योगका क्षेत्रमा पुँजी परिचालन गर्नेलगायतका विषय नीति तथा कार्यक्रममा गाउँसभामा पेश गर्नुभएको हो ।
अध्यक्ष केसीले युवा उद्यमशीलता विकासका कार्यक्रममार्फत युवालाई 'विदेश होइन विजनेश' भन्ने भावना जगाउने खालका स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सिप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि गाउँपालिकाको स्थानीय आर्थिक विकास योजना अन्तरगत समावेश भएका नवप्रवर्तनशील, लगायतका प्रोत्साहनमुखी कार्यक्रमसँग आवद्ध गर्ने, युवा बेरोजगारी न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सीप तथा उद्यमशील क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने, विपन्न, गरिब र सुकुम्वासी परिवारका युवाहरुलाई इलेक्ट्रोनिक्स सामाग्री मर्मत, प्लम्बिङ्ग तथा इलेक्ट्रिसियन, ब्युटि पार्लर, ब्यावसायिक पशु पालन तथा तरकारी खेती जस्ता तालिमहरु प्रदान गरी गरीबी न्यूनिकरण र जिविकोपार्जनमा सहजीकरण गर्नेलगायतका विषय पनि समेटिएको छ ।