ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले श्रम र रोजगारलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको तेह्रो अधिवेशनमा पालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले श्रम र रोजगारलाई प्राथमिकतासाथ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
अध्यक्ष रुम्दालीले राज्यको समाजवाद उन्मुख नीति बमोजिम शिक्षा र स्वास्थ्यलाई सामुदायिककीरकणको प्रयत्न गर्ने, कृषि तथा पर्यटनम जोड दिने, सार्वजनिक सेवा प्रवाहमा मुस्कानसहितको अवधारणा अँगाल्नेलगायतका विषय समेत नीति तथा कार्यक्रममा समेटनुभएको छ । उहाँले गाउँसभामा स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरू मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण गर्ने, स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने, दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि बजार मूल्यभन्दा बढी मूल्यमा दूध सङ्कलन गरी उत्पादनका आधारमा अनुदान दिने नीति लिने, मासु उत्पादक कृषकको बिक्री वितरणलाई सहज बनाउन चिस्यान सामग्री खरिद वा केन्द्र स्थापना गर्दा ५० प्रतिशत अनुदान दिने नीति लिनेलगायतका विषय पनि नीति तथा कार्यक्रममा समेट्नुभएको थियो ।
यस्तै प्रस्तुत नीति तथा कार्यक्रममा कृषकमा आपसी प्रतिस्पर्धा बढाउन कृषि तथा पशु प्रदर्शनी आयोजना गर्ने नीति लिने, कृषकहरूलाई सहज रूपमा बिरुवा उपलब्ध गराउन कृषि नर्सरी स्थापना गरी फलफूल तथा अन्य बिरुवा बिक्री वितरणको वातावरण बनाउने, स्थानीय उपजको प्याकेजिङ, ग्रेडिङ, ब्रान्डिङ तथा बजारीकरण गरी सडक बजारका रूपमा विकास गर्ने कार्यक्रम पनि नीति तथा कार्य्रममा राखिएको छ ।
गाउँपालिकामा एक सामुदायिक क्याम्पस स्थापनाका लागि बजेट विनियोजन गर्ने, सरकारी विद्यालयलाई क्रमशः नमुना विद्यालयको रूपमा विकास गर्ने, मानेभन्ज्याङ स्वास्थ्य चौकीलाई दीर्घरोगी, अति अशक्त, अपाङ्ग स्याहार केन्द्रका रूपमा विकास गर्ने, नागरिकलाई सर्वसुलभ मूल्यमा सहज रूपमा औषधी खरिद गर्न पाउने तावरण सिर्जना गर्न प्रत्येक स्वास्थ्य चौकीमा सामुदायिक औषधी बिक्री वितरण केन्द्र स्थापना गर्ने, गाउँपालिका भित्रका बर्थिङ सेन्टरमा जन्मिएका बालिकालाई बालिका बचत कार्यक्रममा जोडिने नीति लिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
कानून बमोजिम औषधी प्रयोजनका लागि गाउँपालिकाभित्र गर्न सकिने गाजा खेतीको सम्भाव्यता अध्ययन गरी सङ्घीय सरकारलाई सिफारिस गर्ने, रोजगार सेवा केन्द्रलाई आन्तरिकीकरण गर्दै श्रम बैंक तथा रोजगार सूचना केन्द्रको रूपमा विकास गर्ने, गाउँपालिकाभित्र श्रम बजारको माग अनुसारका विधामा दक्ष, क्षमतावान् र प्रतिस्पर्धी जनशक्ति तयार गर्न तथा आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विभिन्न तहका सीपमूलक एवम्रोजगारमूलक तालिम सञ्चालन गर्ने नीति लिने, हरेक महिनाको एक दिन जनप्रतिनिधिहरूले श्रमदान गर्ने नीति लिने, उक्त कार्यमा सहभागिताका लागि सम्पूर्ण कर्मचारी, शिक्षक एवम्आम जनसमुदायलाई अपिल गर्ने विषय अध्यक्ष रुम्दालीले घोषणा गर्नुभएको छ ।
यस्तै परम्परागत खाना पकाउने प्रविधिलाई विस्थापित गर्दै विद्युतीय चुल्होको प्रयोगमा जोड दिने, नेपाल सरकारबाट सञ्चालन हुन गइरहेको दूधकोशी जलाशययुक्त परियोजनाले पर्नेप्रभावलाई मध्यनजर गर्दै तल्लो तटीय दूधकोशी जलाधार क्षेत्रका जनतामा पर्ने असर र अवसरबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक टोल र बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउन वडा कार्यालयको अगुवाइ तथा स्थानीय सरोकारवालाहरूसँगको सहकार्य र समन्वयमा समुदाय परिचालन नीति बनाई लागू गर्ने, बलबहादुर राई ग्रामीण समावेशी सडक निर्माण, मर्मत तथा स्तरोन्नतिलाई निरन्तरता दिने, केत्तुके र मानेभन्ज्याङमा सहरी व्यवस्थापन गर्ने, मुख्य तथा शाखा सडकसँग घर तथा जग्गा जोडिएका धनीले वातावरणीय प्रभाव मूल्याङ्कन नगराई वा गाउँपालिकाको अनुमती नलिई ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न नपाइने नीति लिने, लोकल मदिरालाई स्तरोन्नति गर्दै ब्रान्डिङ गर्ने लिने तथा अनुमती बिना मदिरा बिक्री वितरणमा रोक लगाउने, एक वडा एक उत्पादन उद्योग स्थापना गर्ने नीति लिने, सहरी क्षेत्रका रूपमा विकास भइरहेका मानेभन्ज्याङ, केत्तुके, जयराम, हर्कपुरमा फोहोर व्यवस्थापनमा फोहोरको वर्गीकरण गरी फोहोरलाई मोहोर बनाउने लगायतका नीति समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।